पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको घरजग्गा उनी संस्थापक रहेको इमेज बचत तथा ऋण सहकारी संस्था पीडितले लिलामीको घोषणा गरेका छन् । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी पीडितहरूले नेपालीको स्वामित्वमा रहेका विभिन्न कित्ताका जग्गा र घर बिक्रीको सूचना सार्वजनिक गरेका हुन् ।
संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालीको स्वामित्वमा रहेको ४५ कित्ता घरजग्गामध्ये काठमाडौं, पोखरा र बागलुङ बजार तथा बुर्तिवाङमा रहेको घरजग्गालाई बिक्री गर्न चाहेको भन्दै किन्नेले १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले काठमाडौं महानगरपालिका ४ को घरलाई ७५ करोड, पोखराको घरलाई ४५ करोड, बागलुङ बजारको घरलाई २५ करोड र बुर्तिवाङको ८० करोड मूल्य तोकेर खरिद गर्न चाहनेको खोजी गरेको हो। त्यसका लागि अग्रिम २५ प्रतिशत रकम बुझाउनुपर्ने सर्तसमेत संघर्ष समितिको रहेको छ।
यसरी उठ्ने अग्रिम मूल्यबाट देवकुमार नेपालीले लिएको ऋण तिरेर घरजग्गा समितिको नाउँमा ल्याउने र त्यसपछि मात्र देवकुमार नेपालीलाई झिकाएर जग्गा बेच्ने संघर्ष समितिको योजना छ।
देवकुमारले यसअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसँग ३ अर्बभन्दा बढीको सम्पत्ति भएको र त्यो बेचेर पनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए।

तरलता अभाव भन्दै गएको वैशाख ५ गते सहकारी बन्द गरिएको थियो। जेठ ४ गतेदेखि नै संस्थापक अध्यक्ष रहेका नेपाली फरार भएका थिए। बचतकर्ताको १ अर्ब ५६ करोड रुपैयाँ नेपालीले हिनामिना गरेको आरोप छ।
पीडित भएका १ हजार ५५० जनाले नेपालीविरुद्ध जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दिएका छन्। उनीहरुको १ अर्ब ६० करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख छ। यता पोखरामा ५२४ बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन्। उजुरी दिने बचतकर्ताले ५७ करोड ९४ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन्।
देवकुमारविरुद्ध शुक्रबार रेडकर्नर नोटिस जारी भएको छ। अब जुनसुकै देशमा भएपनि उनलाई पक्राउ गरेर नेपाल ल्याउन सहज हुने छ ।
कोषाध्यक्ष सुनार पक्राउ
इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष पक्राउ परेकी छिन्। गत जेठ पहिलो सातादेखि फरार भएकी कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार ललितपुरबाट पक्राउ परेकी हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले निसीखोला गाउँपालिका–३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट बिहीबार बेलुकी पक्राउ गरेको हो।
सहकारीका अध्यक्ष चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्। उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो।
भण्डारी, बुढा र किसान साउन ५ गतेनै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन्।
