खिमराज चालिसे, चन्डिगढ ।
भारतको पचहत्तरौँ गणतन्त्र दिवसको समारोहमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ ।
जनवरी २६, २०२४ का दिन मूल प्रवाहको रिकाङपिओ नगर समितिले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको हो ।
जनवरी १५ का दिन हिमाचल प्रदेशको जिल्ला लोकसम्पर्क अधिकारी किन्नोरले मूल प्रवाहलाई आधिकारिक पत्र पठाउँदै भारतको पचहत्तरौँ गणतन्त्र दिवस समारोहमा रिकाङपिओमा नेपाली भाषामा सांस्कृतिक कार्यक्रमको लागि निमन्त्रणा गरेको थियो । सोही निवेदनको आधारमा मूल प्रवाह रिकाङपिओले प्रस्तुति दिएको थियो ।
हिमाचल प्रदेशका पञ्चायत राज्यमन्त्री अनिरुध सिंह प्रमुख अतिथि रहेको सो समारोहमा मूल प्रवाहका मिथुन सिंह, तारा चन्द, नरेन्द्र, ओमप्रकाश, रतन सिंह, राम, मन्जु, राधा, सपना, मुगा, पार्वती र सुशीलालगायतका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
