• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मृत्युसंस्कारका सम्बन्धमा का. नन्दराजले अपनाएको बाटो


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • मनोज भट्ट  ##

    Advertisement

    का. नन्दराज भट्टका पिताको ८६ वर्षको उमेरमा यही माघ ७ गते राती देहान्त भएको छ । आफन्तको मृत्यु हँुदा त्यसबाट जो कोहीलाई पनि कति धेरै पीडाबोध हुन्छ, त्यसको अनुमान सहज रूपले गर्न सकिन्छ ।

    बुबाको देहान्तले का. नन्दराज भट्ट तथा उहा घरपरिवारले एउटा मुख्य अभिभावक गुमाएका छन् । त्यसले उहाँलाई र परिवारलाइ सम्तप्त वनाएको छ । शोक अस्थायी भए पनि बुबाको अभावको क्षतीपूर्ति वा भर्पाइ हुन सक्ने छैन । त्यो सधैँ उहाँको परिवारलाई खड्किरहने छ ।

    बुबाको मृत्युपछि हाम्रो समाजमा शताब्दियौँदेखि चलिआएको अन्धविश्वासमाथि आधारित मृत्युसंस्कारको परम्परालाई का. नन्दराज भट्टले तोड्ने आँट गर्नुभएको छ । सामाजिक तथा सांस्कृतिक रूपले पिछडिएको सुदूरपश्चिम जस्तो क्षेत्रमा शताब्दीयौँदेखि चलिआएको परम्परा तोडने आँट गर्ने कुरालाई कुनै चानचुने विषय ठान्नुहुँदैन ।

    उहाँ शोकमा हुनुहुन्छ तर शोकलाई धर्मबाट अलग गरेर व्यवहार गर्नुभएको छ । सेतो लुगा लगाएर, किरियापुत्रीको रूपमा प्रत्येक दिन बाहुनलाई पिण्ड दिने, कोरा बार्नुपर्ने, ढिकुरो फोर्नुपर्ने दसदान, शैयादान र पिण्डदान जस्ता अनेकौँ दान दिनुपर्ने, गरुड पुराण लगाउनुपर्ने, बरखी बार्नुपर्ने धार्मिक संस्कार नगरिएमा मृतकले अर्को नयाँ जुनी प्राप्त गर्दैन वा गरे पनि तल्लो जातमा वा जीवजनावरको रूपमा जन्मिनुपर्ने धर्ममाथि आधारित कार्यबाट आफूलाई अलग राख्नुभएको छ ।

    हिन्दुको जन्मदेखि मृत्युसम्म विभिन्न संस्कार भएको कुरा कसैबाट लुकेको छैन । ती संस्कार हाम्रो जीवनपद्धति र सस्ंकृतिसँग अभिन्न र अकाट्य रूपमा जोडिने गरेका छन् । यदि कसैले योसँग सम्बन्ध तोड्न खोज्यो भने त्यसले समाजबाट विभिन्न प्रकारले प्रताडित पनि हुनुपर्ने चुनौती छ ।

    सुदूरपश्चिममा मृत्युसंस्कारप्रति अपनाइने धार्मिक अन्धविश्वासका विरुद्ध जहाँसम्म मलाई थाहा छ, सबैभन्दा पहिला उभिने व्यक्ति तत्कालीन माओवादी नेता लेखराज भट्ट हो । उहाँले आफ्नो बुबाको मृत्यु हुँदा परम्परागत ढङ्गबाट काजकिरिया गर्नुभएन यद्यपि पछि उहाँ चर्को सामाजिक तथा पारिवारिक दबाबमा पर्नुभयो । विरोधको सामना गर्न नसकेर उहाँ हिन्दुको तीर्थस्थल हरिद्वार गएर धार्मिक तबरबाट श्राद्ध गरेर सामाजिक तथा पारिवारिक विरोधबाट उम्किन खोज्नुभयो ।

    त्यसपछि मैले बुबाको र हाम्रो पार्टीका नेता हरिकृष्ण पाण्डेले आमाको परम्परागत ढङ्गबाट काजकिरिया गरेनौँ । हामीले पनि चर्को पारिवारिक तथा सामाजिक विरोधको सामना गर्नुपरेको थियो । अहिले का. नन्दराज भट्टलाई पनि विरोधको अवस्थाको सामना गर्नु परिरहेको छ ।

    बुबाको निधन हुँदा पनि किरिया गर्न नमान्ने छोरा अधर्मी हुन् । कुलको कलङ्क हुन्लगायत कैयौँ मिथ्या आरोप लाग्न सक्छन् । हाम्रो समाजमा आमाबुबा जीवित हुँदा उनीहरूलाई वृद्धाश्रममा पुर्‍याउने, कुनै रेखदेख वा माया नगर्ने तर आमाबुबाको मृत्युपश्चात् दान गरे बुबाप्रति कर्तव्य पूरा गरेको ढोङ गर्नेको कमी छैन ।

    आफ्नो पिता जीवित हँुदासम्म का. भट्टले उहाँप्रति छोराको हैसियतबाट निभाउनुपर्ने भूमिकामा कुनै कमी गर्नुभएन । बुबाको लालनपालन, रेखदेख, औषधोपचारमा पूरा ध्यान दिनुभयो । बुबा झन्डै पाँच वर्षदेखि गम्भीर रूपले बिरामी हुनुहुन्थ्यो । का. भट्टले झन्डै डेढ वर्षदेखि बुबालाई घरमा नै अक्सिजनमा राखेर उपचार गराउनुभयो । बुबासँग कहिले रिसाउने वा झिजिने गर्नुभएन । बुबाप्रतिको कर्तव्य निभाउने कुरामा कुनै कमी गर्नुभएन ।

    बुबाको भौतिक देहको अन्तपश्चात् स्वर्ग जस्तो काल्पनिक ठाउँमा पुरोहितको सहयोगबाट उहाँ पुग्नुहुने छ । छोराले दिएको पिण्ड भोकाएको वा तृप्त बुबाको आत्माले पाउने छ । त्यसो गरेर नै उहाँको आत्मालाई प्रेतबाट छुटकारा दिलाएर शुद्द गरेर बुबाको पुनर्जन्म हुने छ भन्ने कुरालाई का. नन्दराजले अस्वीकार गर्नुभएको छ ।

    विश्वका विभिन्न धर्म; जस्तै : हिन्दु धर्ममा समेत जन्मदेखि मृत्युसम्मका कैयौँ संस्कार प्रचलित छन् यद्यपि यी संस्कार समय, परिस्थितिअनुसार परिमार्जित वा परिवर्तन हुँदै गइरहेका छन् । मृत्युसंस्कारबाहेकका अरू संस्कार आफ्नो अनुकूलतामा मान्छेले गर्दै आएका छन् तर मृत्युसंस्कार अत्यन्तै बोझिलो, रूढिवादी तथा अन्धविश्वासमाथि आधारित छ ।

    मध्ययुगीन युरोपियन समाजमा तत्कालीन धर्मगुरुको मृत्युपश्चात नर्कमा जाने भय देखाएर वा स्वर्गमा पठाइदिने आश्वासन देखाएर मृतकका आफन्त वा मृत्यु हुनुअगावै सम्बन्धित व्यक्तिलाई स्वर्गमा जाने टिकट (पापमोचनपत्र) समेत बिक्री गरेर अकुत सम्पत्ति कमाउने धर्मको नाममा डरलाग्दो शोषण कायम थियो, जसलाई पुनर्जागरण कालको आन्दोलनले समाप्त पारेको थियो तर एकाइसौँ शताब्दीमा समेत मृत्युसंस्कारमा मृतकका आफन्तलाई विभिन्न प्रकारका डर देखाएर शोषण गर्ने प्रथा हाम्रो समाजमा अहिले पनि कायमै छ । यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ । त्यसमा परिर्वतन वा सुधारका लागि विभिन्न प्रयास पनि भइरहेका पनि छन् ।
    हिन्दुमा जन्मदेखि मृत्युसम्म गर्नुपर्ने १६ ओटा संस्कारको धर्म शास्त्रमा चर्चा गरिएको पाइन्छ, जसलाई षोडस संस्कार पनि भनिन्छ । हिन्दुमा जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारका बारेमा हिन्दुका विभिन्न धर्मशास्त्रमा बेग्लाबेग्लै सङ्ख्या उल्लेख भएको पाइन्छ । गौतमस्मृतिमा ४० ओटा र व्यासस्मृतिमा १६ ओटा संस्कार उल्लेख भएको पाइन्छ ।

    षोडस संस्कारभित्र निम्न संस्कार पर्दछन् : १. गर्भाधान, २. पुंशवन, ३. सीमान्नतोनयन, ४. जातकर्म, ५ नामकरण, ६. निस्क्रमण, ७. अन्नप्राशन, ८. चूडाक्रम, ९. कर्णभेद, १०. ब्रतबन्ध, ११. वेदाराम्भ, १२. समावर्तन, १३. विवाह, १४. आवस्थ्याधान, १५. वानप्रस्थ र १६. अत्येष्टि तर हामीले व्यवहारमा गएर हेरौँ भने यी षोडस संस्कार सबै अहिले प्रचलनमा छैनन् । यसमा व्यापक परिवर्तन आएको छ । अहिले जम्मा नामकरण, भातखुवाइ, व्रतबन्ध, विवाह र किरिया मात्र प्रचलनमा रहेका छन् ।

    उपर्युक्त षोडस संस्कारमध्ये अन्तिम संस्कार मृत्युसंस्कार वा अन्त्येष्टि पर्दछ । मृत्युसंस्कारभित्र अन्त्येष्टि संस्कार पनि पर्दछ । अन्त्येष्टि संस्कारको बारेमा पनि धार्मिक विधिविधानको धर्मशास्त्रमा व्यवस्था गरिएको पाइन्छ, जसमध्ये शवयात्रा, दाहक्रिया र स्नान पनि एक होे । यी क्रियालाई सामाजिक तथा स्वास्थ्यका दृष्टिले अनुचित भन्न मिल्दैन तर यो क्रियामा रहेको पिण्डदानलाई उचित मान्न सकिन्न ।
    यी १६ ओटा संस्कारमध्येका कतिपय संस्कारको अस्तित्व समाज विकासको क्रमसँगै समाप्त प्राय: हुँदै गइरहेको छ । सामन्ती युगमा रहेको ब्राह्मण वर्गको सर्वोच्चता क्रमश: खतम हुँदै जानु तथा पेसेवर पुरोहित वर्गसमेत पुरोहित्याइँ पेसा त्याग्दै गएका कारण पनि विगतमा जस्तै यो संस्कारलाई पूर्णतया धार्मिक रूपमा मनाउने सवालमा केही सुधार हुँदै गइरहेको छ ।

    अहिले हाम्रो समाजमा विद्यमान १३ दिने काजकिरिया १९९८ जेठ महिनाभन्दा अगाडिसम्म १३ महिने प्रचलनमा रहेको थियो । जुद्धसमसेरले त्यो प्रचलनलाई रोकी १३ दिने काजकिरियाको प्रचलन सुरुआत गराएका हुन् । स्वयम् हिन्दु धर्मशास्त्रमा प्रेततत्त्वमा प्राप्त आत्मालाई पितृपङ्क्तिमा मिलाउन एक वर्षको समय लाग्ने कुरा उल्लेख भएता पनि त्यसो गर्नु व्यावहारिक दृष्टिकोणले सम्भव नहुने भएको हुनाले बाह्रौँ दिनमा शवपिण्डीकरण क्रिया गरेर प्रेततत्त्व प्राप्त आत्मालाई पितृगणमा मिलाउने गरी काजकिरिया समयावधिको निर्धारणमा सुधार गरिएको हो ।

    आसौच कति बार्ने ? त्यसको अवधिबारे समेत कुनै प्रकारको एकरूपता छैन । सम्बन्धको निकटता, स्नेह, प्रेमको निकटता र अनेकौँ अवस्थालाई हेरी बेग्लाबेग्लै अवधि निर्धारित भएको पाइन्छ । यो विषयमा विभिन्न जातिको संस्कारमा बेग्लाबेग्लै अवधि पाइन्छ ।
    गुरुङ जातिमा ३ देखि ५ दिनसम्मको काजकिरिया गर्नुपर्ने, आर्थिक कारणले तुरुन्तै काजकिरिया गर्न नसकिने भएपछि पनि आफ्नो अनुकूलतामा पछि गर्न सकिने प्रचलन छ । नेवार समाजभित्रका बौद्धमार्गीमा पहिले ४५ दिनसम्म काजक्रिया गर्ने चलन थियो भने अहिले त्यो १३ दिनमा झरेको छ । हिन्दु धर्ममा समेत १३ दिने काजकिरियालाई घटाएर ७ वा ५ दिनको बनाउनका लागि विभिन्न प्रकारका छलफलसमेत भइरहेका छन । धार्मिक ग्रन्थ श्रीमदभागवदका अनुसार धुन्धुकारीको मृत्युमा ७ दिनको काजकिरिया भएको उल्लेख छ । उपर्युक्त विवरणबाट मृत्युसंस्कारसँग जोडिएको काजक्रियाको अवधिका बारेमा समेत एकरूपता नभएको स्पष्ट हुन्छ ।
    मृत्युसंस्कारसँग जोडिएको आत्मिक अर्थात् धार्मिक पक्षलाई परिवर्तनका लागि समेत समाज र राजनीतिक क्षेत्रका अगुवाले परिवर्तनका लागि प्रयत्न गर्दै आइरहेका छन् । भनिरहनुनपर्ला, हिन्दु धर्ममा विद्यमान मृत्युसंस्कारभित्रको काजकिरियासम्बन्धी प्रचलन कसरी र कहिलेदेखि सुरुआत भयो भन्नेबारेमा समेत हिन्दु धर्मक्षेत्रका विद्वानबिच ठुलो मतभेद र विवाद छ ।

    हिन्दुको प्रमुख तथा सबैभन्दा पुरानो र पहिलो धार्मिक ग्रन्थ वेदमा १३ दिने मृत्यु संस्कारको चर्चा छैन । यो संस्कार गरुड पुराणमार्फत् आएको हो । १६ अध्यायको गरुड पुराणका सबै विषय महर्षिद्वारा निर्मित नभएको र पछि आएर कसैले कल्पना गरेर थपेको र थपिएको विषयलाई वेद वा वेदमूलक स्मृतिशास्त्रले समर्थन नगरेका कारण त्यसलाई मान्यता दिनु आवश्यक नभएको कुरा धार्मिक क्षेत्रका विद्वानबिच सहमति देखिन्छ अर्थात् मान्छे मरेपछि पाँचौँदेखि दसौँं दिनसम्म सुनाइने गरुड पुराणको प्रेतकल्पको सोह्रौँ अध्यायपछि कसैले कल्पना गरेर थपेको मत पनि रहिआएको छ । गरुड पुराणमार्फत् आएको मृत्युसंस्कारलाई स्वयम् धार्मिक कोणबाट समेत त्यसको वैधानिकतालाई अस्वीकार गरिएको छ ।

    अहिले हाम्रो समाजमा विद्यमान क्रियाका दुईओटा पक्ष छन् : एउटा भौतिक र अर्को आत्मिक पक्ष । कुनै व्यक्तिको मृत्युपश्चात् उसको भौतिक शरीरलाई अग्निमा राखेर जलाउने वा गाड्ने कार्य भौतिक पक्षसँग जोडिएको छ भने भौतिक देह समाप्त भएपछि आत्मा जीवित रहन्छ, आत्माले समाप्त भएको शरीरबाट बाहिरिनुपर्दा त्यसले दु:ख, पीडा पाउँछ । त्यस्तो दुखित आत्मालाई प्रेत भनिन्छ । तड्पिएको दुखी र असन्तुष्ट आत्मालाई मृतकका छोराहरूले पिण्ड र जलादीको दान प्रक्रियाबाट बासस्थान बनाउनुपर्ने वैदिक मन्त्रद्वारा प्रेतआत्मालाई बाह्रौँ दिनमा पितृपङ्क्तिमा मिलाउनुपर्ने कार्य तोकेको छ । यो कार्यमा बाहुनलाई जति बढी मात्रामा दान दिन सकियो, त्यति नै बढी मृतकको आत्मा सन्तुष्ट हुने, सबै प्रकारको पापबाट आत्मा मुक्त हुने र त्यस्तो आत्माले स्वर्गमा बास पाउने धार्मिक मान्यतामा आधारित छ ।

    विभिन्न विद्वानले हिन्दु धर्मलाई एउटा धर्मको रूपमा स्वीकार नगरेर एकार्काबाट भिन्न अनेक धर्मको समाविष्ट रूपमा स्वीकार गर्दछन् । त्यसका बाबजुद पनि सम्पूर्ण हिन्दुले तीनओटा साझा धर्म सिद्धान्तलाई अनिवार्य पालना गर्दै आएका छन् । ती तीनओटा धर्म सिद्धान्तमध्ये एउटा कर्मफल र पुनर्जन्ममाथि विश्वास गर्नु पनि हो । भनिरहनुनपर्ला, प्राय: सबै धर्ममा स्वर्गको आशा र नरकको डर देखाइएको भएता पनि मृत्युपश्चात मृतकले पुन: मानव चोला धारण गरी यस लोकमा आउने विश्वास हिन्दु धर्मबाहेक कुनै पनि धर्ममा छैन । इस्लाम, इसाई, मज्दा, यहुदीलगायतका कुनै पनि धर्मले पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरेका छैनन । हिन्दु मात्र यस्तो धर्म हो, जसले पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरेर त्यसलाई कर्मको सिद्धान्तसँग जोडेर मानव समुदायमाथि चरम शोषण लादेको छ । त्यसैले मृतकले पुनर्जन्म प्राप्त गरोस् भन्ने ध्येयले मृत्युसंस्कार गर्दा मृतकका आफन्तले पुर्‍याउनुपर्ने विधि र प्रक्रिया निर्धारण गरिएको छ, जुन अन्त्यत अवैज्ञानिक र शोषणमाथि आधारित हुनुका साथै अहिलेको युगमा कल्पना गर्नै नसकिने अवधारणामाथि आधारित छ ।

    जीवित व्यक्ति मरेर खरानी भइसकेपछि पनि उसले पुनर्जन्म प्राप्त गर्दछ, त्यसरी पुनर्जन्म प्राप्त गर्नका लागि पुरोहित वर्गलाई जति सक्यो, बढीभन्दा बढी दानदक्षिणा दिएर खुसी पार्नुपर्ने, त्यसरी खुसी नपारिएमा मृतकले कथित चौरासी लाख नरकमा भयङ्कर यातना भोग्नुपर्ने विश्वासमाथि आधारित मान्यता आफैमा कति व्यावहारिक विश्वासयोग्य र वैज्ञानिक होला ? सहजै अनुमान गर्न सकिन्छ ।
    सुरुमा हिन्दु धर्मअन्तर्गत शरीरबाट पृथक् आत्माको सिद्धान्त वा पुनर्जन्मको सिद्धान्त हिन्दुका प्रारम्भिक धर्मग्रन्थमा भेटिन्न । वेद हिन्दुको अत्यन्त पुरानो धार्मिक ग्रन्थ मानिन्छ । वेदमा परलोकको सिद्धान्तमाथि कुनै चर्चा गरिएको छैन । त्यसमा मरणोपरान्त प्रतिफलको पनि कुनै चर्चा गरिएको छैन । वैदिक धर्म पूर्णतया इहलोकउन्मुख धर्म हो, परलोकउन्मुख होइन तर पाँचौँ शताब्दी इसापूर्व रचना गरिएको मनुस्मृतिको बाह्रौँ अध्यायमा आएर आत्माको पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरिएको पाइन्छ ।

    जवाहरलाल नेहरूले ‘हिन्दुस्थान की खोज’ नामक आफ्नो पुस्तकमा पनि सुरुमा वैदिक आर्यमा आत्माको पुनर्जन्मको सिद्धान्त नरहेको बताउनुभएको छ । हिन्दुले यो अवधारणा सिन्धु उपत्यकाका स्थानीय जनजाति (द्रविड तथा मुन्डा) मा तत्कालीन अवस्थामा कायम रहेको पुनर्जन्ममाथि विश्वाससम्बन्धी मान्यतालाई अनुकरण गरे र पछि त्यसलाई आफ्नो संस्कृतिको अङ्ग बनाएका हुन् भनेर नेहरूले उल्लेख गरेका छन् । पछि यो अवधारणालाई मनुस्मृतिले शास्त्रसम्मत बनाउने काम गर्‍यो ।

    पुनर्जन्मको सिद्धान्तअनुसार मनुष्यको मृत्युपश्चात् उसको आत्मा नष्ट हुँदैन बरु अन्य कुनै भौतिक पिण्डमा प्रवेश गर्छ । त्यसले कुन रूप लिने हो ? त्यो उसको वर्तमान जीवनमा मनुष्यले गर्ने कर्ममाथि आधारित हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।

    मृतकको राम्रोसँग काजकिरिया गरिएन भने मरेर खरानी भइसकेको लासलाई चोख्याउनका लागि अर्थात् प्रेतबाट मुक्त पार्नका लागि मृतकका आफन्तले किरियापुत्री बस्नुपर्ने, कोरा बार्नुपर्ने, ढिकुरो फोर्नुपर्ने, दसदान, शैयादान र पिण्डदान जस्ता अनेकौँ दान दिनुपर्ने, गरुड पुराण लगाउनुपर्ने, बरखी बार्नुपर्ने धार्मिक संस्कार नगरिएमा मृतकले अर्को नयाँ जुनी प्राप्त गर्दैन वा गरे पनि तल्लो जातमा वा जीवजनावरको रूपमा जन्मिनुपर्ने मान्यता रहेकोे छ ।

    मृत्युको पूर्वसन्ध्यादेखि नै बाहुनहरू मृतकका आफन्तलाई दक्षिणाका लागि निचोर्न थाल्छन् । मृतकले जतिसुकै नराम्रा कर्म गरेको भए पनि यदि मृत्युको पूर्वसन्ध्यामा उसले वा उसका आफन्तले सुन, गाई र पृथ्वी (भूमि) दान गर्दछन् भने (यी वस्तुलाई कथित पवित्र दानको रूपमा लिइएको पाइन्छ) जस्तोसुकै पापीलाई पनि मुक्ति प्राप्त हुने र वैतरणी नदी तर्नका लागि गाईदान दिएमा मृतकले सजिलै वैतरणी नदी पार गर्न सकिने भन्ने मान्यता रहेबाट यो बुझ्नमा कुनै कठिनाइ पर्दैन, मृतकले नयाँ जुनि प्राप्त गर्ने प्रश्न बाहुनलाई दिइने दक्षिणाको प्रकार वा मात्रासँग जोडिन्छ ।

    जसरी सामन्ती युगमा युरोपमा चर्चका पादरीले मृतकबाट पैसा लिएर स्वर्गको टिकट बिक्री गर्ने गर्थे, त्यसरी नै हिन्दु धर्ममा काजकिरियाको आवरणमा मृतकलाई नयाँ जुनी प्राप्त गर्ने प्रलोभन देखाएर आफन्तबाट बाहुनले बढीभन्दा बढी दक्षिणा निचोर्ने गर्दछन् । यसरी धार्मिक डर खडा गरेर धर्मको नाममा शोषण गर्ने काम गरिँदै आएको छ ।

    मृत्युपश्चात् आफन्तले नयाँ जन्म प्राप्त गरोस् भन्ने उद्देश्यले मृत्युसंस्कारलाई अपनाइने गरिन्छ । त्यति मात्र नभएर किरिया बसेको बेलामा गरुड पुराण लगाउने परम्परा रहेको छ । मृत्युपछि जिउको गति र उसको अरू योनीमा हुने जन्म र मोक्षका सम्बन्धमा यसमा वर्णन गरिएको छ । गरुड पुराणको प्रेतकल्प अध्यायमा मृतकलाई कथित नरकमा दिइने कैयौँ प्रकारका चरम यातनाको वर्णन गरिएको छ । त्यसलाई मृतकका आफन्तलाई सुनाएर उनीहरूमा डर पैदा गराउनुका साथै प्रेतकल्पमा पिण्डदानमाथि पनि जोड दिइएको छ ।

    जुन मृतकले पिण्डदान पाउँदैन, त्यसले युगयुगसम्म भौतारिनुपर्ने र प्रेत भएर बस्नुपर्ने डर देखाइएको छ । दस दिनसम्म पिण्डदान नदिने मृतकका आफन्त चोखिन नसक्ने वा पिण्डदान दिएर पनि शुद्ध भएपछि जसले श्राद्धमा पितरका लागि ब्राह्मणलाई दान दिँदैन, त्यस्ताका घरका सदस्य कुनै न कुनै रोगले पीडित भइरहने, अल्पायुमा नै मर्ने र त्यस घरमा वीर सन्तान नजन्मिनेसमेत धर्मशास्त्रमा डर देखाइएको छ । यसरी विभिन्न प्रकारका डर देखाएर पुरोहित वर्गले प्रेतको मुक्तिको लागि दक्षिणा असुल गरेर मृतकका आफन्तलाई धर्मको नाममा शोषण गर्ने गर्दछन् । विभिन्न यातना भोगिसकेपछि प्रेतले पुन: मानव चोला धारण गरी यस लोकमा आउन पाउने काल्पनिक कथा बनाएर मृत्युसंस्कारको नाममा शोषण भइरहेको छ ।

    कुनै व्यक्तिको देहान्तपश्चात उसको शवलाई गाड्ने, जलाउने वा आआफ्नो संस्कारअनुरूप त्यसलाई नष्ट गर्ने कुरा किरियाको भौतिक पक्षसँग जोडिएको छ । त्यसलाई सम्पादन गर्नु नै पर्दछ तर जहाँसम्म आत्मिक पक्षको कुरा छ, कुनै व्यक्तिको भौतिक देह समाप्त भइसकेपछि पनि आत्मा जीवित रहन्छ भन्ने विश्वासका आधारमा आत्माको मुक्तिका लागि गरिने धार्मिक कार्यकुरा कहिँ कतै पनि वैज्ञानिक दृष्टिकोणले मेल खाँदैन । मान्छेको भौतिक देह समाप्त भइसकेपछि पनि आत्मा जीवित नै रहिरहन्छ र त्यो आत्माले प्रेतको रूप लिएर भड्किरहन्छ† तड्पिएको र भड्किरहने आत्माको सुखशान्तिका लागि मलीन षोडसी (दशगात्र) को किरिया गरेर आत्माको उद्धार गर्नुपर्छ भन्ने धार्मिक विचारसँग सहमत हुन सकिँदैन । आत्माको उपभोगका निम्ति पिण्ड, शैया र गौदान गर्नुपर्छ भन्ने धार्मिक मान्यतालाई स्वीकार गर्न सकिँदैन ।

    कुनै व्यक्तिको मृत्युपश्चात उसको भौतिक देह नष्ट वा समाप्त हुन्छ । शरीर नष्ट वा समाप्त भइसकेपछि कथित जीवित रहेको आत्मालाई कसैले देख्न, सुन्न, स्पर्श वा अनुभूति गर्न नसकिने, त्यसको कुनै भौतिक अस्तित्व नभएर अलौकिक वा आत्मिक अस्तित्व हुने कुरालाई अहिलेको वैज्ञानिक युगमा विश्वास गर्न सकिन्न । अहिलेको वैज्ञानिक युगको कुरा मात्र किन गर्ने ? स्वयम हिन्दुको जेठो अर्थात् पुरानो धर्मग्रन्थ वेदमा आत्माको कल्पना गरिएको छैन । त्यस्तो अवस्थामा निराकार आत्मामाथि विश्वास गरेर प्रेतआत्माको सन्तुष्टिका लागि काजकिरिया गर्ने कुरा जायज हुन सक्दैन । समाजमा यो परम्परा हजारौँ वर्षदेखि चलिआएकै कारणले त्यसमाथि विश्वास गर्न सकिँदैन ।

    आफन्तको मृत्युपछि काजकिरिया नगर्नुको तात्पर्य उनीहरूप्रति सम्झना वा श्रद्धा गर्नुहुँदैन भन्ने होइन । आफन्त जीवित छउन्जेल उनीहरूको हेरचाह र सम्मानमा हामीले कुनै पनि प्रकारको कमी आउन दिनुहँुदैन । हामीले पुरातन तथा रूढिवादी विचारलाई परित्याग गरेता पनि आफन्तको मृत्युमा स्वाभाविक रूपले सबैलाई पीडा हुन्छ । सबैको आफन्तप्रति श्रद्धा र सम्मान हुन्छ । त्यो श्रद्धा र सम्मान प्रकट गर्न काजकिरियाको सट्टा उहाँहरूको सम्झनामा अन्य कुनै रचनात्मक कार्य गरेमा त्यो समाज उपयोगी हुने छ ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.