फाइल फोटो
काठमाडौं । लकडाउनको एक साता नवित्दै दुधको मूल्यमा भारी वृद्धि भएको छ । दैनिक उपभोग हुने दुधको मूल्य व्यापारीले प्रतिलिटर एक सय रुपैयाँ लिन थालेका छन् ।
यसअघिसम्म डेरीबाट प्रतिलिटर ९० रुपैयामा पाइने दुधको मूल्य एकाएक बढाएर एक सय रुपैयाँ पुर्याइएको छ । यस्तै, प्याकेटको दुधको मूल्य ८० रुपैयाँ प्रति लिटर पुगेको छ । यसअघि प्याकेटको दुध प्रतिलिटर ७६ रुपैयाँ थियो ।
गत भदौमा दुग्ध विकास संस्थानले दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ तोकेको थियो । डेरीहरुले प्याकेटको दुध तोकिएकै मूल्यमा विक्रि गरे पनि खुला दुध भने ९० रुपैयाँमा बेच्ने गरेका थिए । लकडाउन लगत्तै दुध अभाव भएको भन्दै प्रतिलिटर १० रुपैयाँ बढाइएको हो ।
तर, गाउँका किसान भने दुध बिक्री नभएको भन्दै सडकमा पोख्न थालेका छन् । दुग्ध उत्पादक सहकारी संस्थाहरुले दुध लिन छोडेपछि किसानले दुध नष्ट गर्न थालेका हुन् ।
लकडाउन पछि दुधको खपत ८० प्रतिशत घटेको डेरी एसोसिएसनले जनाएको छ । लकडाउनका कारण देशभर प्रशोधित दूध र दुग्धजन्य पदार्थ (दही, घिउ, पनिर, बटर, चिजलगायत) को खपत ८० प्रतिशतले घटेको बताइन्छ । माग घटेपछि व्यवसायीले उत्पादनमा समेत कटौती गर्दै लगेको डेरी एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अनुसार सामान्य अवस्थामा दैनिक ७ लाख लिटर दूध बिक्री हुने गरेको थियो । त्यसमध्ये साढे ५ लाख लिटर काठमाडौं उपत्यकामा मात्र खपत हुने गथ्र्यो । अहिले खपत घटेर २ लाख लिटरमा झरेको छ ।
लकडाउन पछि देशभर गरी करिब ५० हजार लिटर दुध नष्ट गर्नुपरेको एसोसिएसनको दाबी छ । काठमाडौंमा चितवन, रुपन्देही, नवलपरासी, काभ्रेलगायतका जिल्लाबाट दूध आपूर्ति हुँदै आएको छ ।
सरकारल लकडाउनको अवधिमा कुनै पनि सामानको मूल्य नबढेको भनिरहँदा उपभोक्ताले भने प्रत्येक सामानमा १० देखि १५ प्रतिशत भन्दा बढी मूल्य तिर्न बाध्य छन् ।