काठमाडौँ । घरायसी विवादमा पत्नीको हत्या गरेर फरार एक व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन् ।
प्रहरीका अनुसार दवाडीले २०५९ फागुन २८ गते अंशसम्बन्धी विषयमा झगडा भई आफ्नै पत्नी सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसी रुखमा झुन्ड्याएका थिए । त्यसपछि लासलाई साविक मैदी गाविस–९ स्थित ग्याल्मा र बुढिगण्डकीको दोभानमा लगी जलाई सतगद गरेको प्रहरीको भनाइ छ ।
कर्तव्यज्यानसम्बन्धी मुद्दामा उनलाई धादिङ जिल्ला अदालतको २०६१ जेठ ५ गतेको फैसलाले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पुन: सर्वोच्च अदालतको २०६७ माघ ३ गतेको फैसला पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई धादिङ जिल्ला अदालतको २०६१ जेठ ५ गतेकै फैसलालाई सदर गरेको थियो ।
त्यसयता फरार भई भारतको विभिन्न स्थानमा लुकी छिपी बसेका उनलाई हाल नेपालमा प्रवेश गर्दै छ भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले माघ १ गते रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १, बेलहियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीमाथि थप कारबाहीका लागि जिल्ला अदालत धादिङ बुझाइएको छ ।