भरतपुर । त्रिशूली नदीमा खसेको भारतीय नम्बरप्लेटको जिप भेटिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूलीमा खसेको थियो ।
२०८० माघ २ गते मङ्गलबार बिहान पौने पाँच बजेको समयमा बी.आर.०९ जी.सी. १४३९ नम्बरको जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल बिपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको छ । स्थानीयले जिप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो ।
केहीबेर अघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।