मनोज भट्ट ##
राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित गर्ने रिक्त पदमा का. दुर्गा पौडेलको नाम पार्टीले प्रस्तावित गरेको विषयमा कैयौँ कोणबाट प्रश्न उठेका छन् । सार्वजनिक रूपमा मुख्यतया दुईटा कुराका बारेमा बढी चर्चा भएको पाइन्छ : प्रथम– प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट अस्वीकृतलाई उम्मेदवार बनाइनु गलत भएको, दोस्रो– परिवारवादका कारण का. दुर्गा पौडेलले उम्मेदवारी पाएको ।
परिवारवादका कारण का. दुर्गा पौडेलले उम्मेदवारी पाएको विषयमा लामै चर्चाको आवश्यकता पर्ने भएकाले त्यसबारे लेखमार्फत अन्यत्र चर्चा गर्ने छु । जहाँसम्म प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट अस्वीकृतलाई उम्मेदवार बनाइनु गलत भएको विषय छ, त्यसबारे विगतमा हाम्रो पार्टीको अभ्यासलाई एक चोटी हेर्न आवश्यक छ ।
का. राजेश विश्वकर्मा अहिले राष्ट्रियसभाको सांसद हुनुहुन्छ । उहाँ जुन अवधिमा सांसदमा निर्वाचित हुनुभयो, त्यही अवधि अर्थात् २०७४ सालमा भएको आम निर्वाचनको समानुपातिकतर्फको पनि उम्मेदवार हुनुहुन्थ्यो । उक्त निर्वाचनमा उहाँ विजय हुन सक्नुभएको थिएन तर चुनाव हारेका कारण उहाँलाई उम्मेदवार बनाउनुहँुदैन भनेर पार्टीले नीति बनाएन ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष का. जनकराज शर्मा २०७९ मा भएको आम निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई २०८० सालको वैशाखमा भएको चितवनको उपनिर्वाचनमा प्रत्यक्षतर्फ पार्टीले उम्मेदवार खडा गरेको थियो । यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको थियो । उहाँ पनि २०७९ मा भएको आम निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार हुनुहुन्थ्यो । उक्त निर्वाचनमा उहाँ विजय हुन सक्नु भएको थिएन ।
यी केही उदाहरण मात्र हुन । यस्तो अभ्यास पार्टीले कैयौपटक गर्दै आएको छ । यसबाट प्रष्ट हुन्छ कि कुनै तहको निर्वाचनमा केही कामरेड हारेका कारण त्यही अवधिमा हुने निर्वाचनमा पुन: त्यही कमरेडलाई उम्मेदवार बनाइनु हँुदैन भन्ने हाम्रो न कुनै नीति छ, न त अभ्यास नै । त्यसैले राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित गर्ने रिक्त पदमा का. दुर्गा पौडेलको नाम पार्टीले प्रस्तावित गर्ने कार्य हाम्रा विगतका निर्णय र अभ्यासअनुरूप नै छ ।