ढुण्डिराज शर्मा ##
सुदूर इतिहासको विभिन्न कालखण्डमा हेर्दा पनि सत्ता र शक्ति स्वार्थका लागि ठुल्ठुला युद्ध भएको पाइन्छ । ठुला ठुला ऋषिमुनीहरू पनि विभिन्न स्वार्थ पूरा गर्न पक्षविपक्षमा साथ दिएर युद्ध भड्काउन मलजल गर्ने गर्दथे । स्वयम् द्रोणाचार्य कौरव र पाण्डवका गुरु थिए तर उनले युद्ध रोक्न सकेनन । त्यस्तै, कौरव–पाण्डवहरू व्यास ऋषिका आफन्त अर्थात् अर्को नालतर्फका नाति थिए । उनले पनि त्यो विध्वंसकारी युद्ध रोक्न सकेनन् । उनीहरू शान्तिका गीत त गाउँथे तर व्यवहार त्योअनुरूप गर्दैनथे । महाभारत युद्धमा आफ्नै दाजुभाइ, गुरु, नातागोता विरुद्ध युद्ध गर्न नमानेपछि श्रीकृष्णले यसो भने ।
स्वधर्ममपि चावेक्ष्यन, विकम्पितुमर्हसि।
धर्मयादि युद्धाच्छ्रेयो अन्यत्, क्षत्रियस्यन विद्यते ।।
अर्थात् “क्षत्रीयको युद्ध लड्नु कर्तव्य हो, धर्म पनि हो भन्ने कुरा तिमीले बुझ्नुपर्छ, सङ्कोच मान्नु हुँदैन ।”
यसरी कृष्णले अर्जुनलाई युद्धमा होमेका थिए । समग्रमा त्रेतायुगको इतिहास सत्ता र शक्तिका लागि छलकपट, छक्कापन्जा, मोजमस्ती, भोगविलास, हत्या, हिंसा, अपहरण, वेश्यावृत्ति जस्ता क्रियाले रङ्गिएको छ ।
महाभारतमा हस्तिनापुरका राजा सान्तनु थिए र उनकी प्रथम पत्नी सत्यवती थिइन् । सत्यवतीको विवाह हुनुपूर्व पाराशर ऋषिबाट ब्यास जन्मे । विवाहपश्चात् सत्यवतीवाट चित्राङ्गद र ििबचत्रविर्य र दोस्री पत्नी गङ्गाबाट भीष्म जन्मिएका थिए ।
भीष्मले भीष्मप्रतिज्ञा गरी राजा नबन्ने घोषणा गरेपछि चित्राङ्गद राजा बने । उनी छिट्टै लडाइँमा मरेपछि ििबचत्रविर्य राजा भएका थिए ।
यिनका अम्बिका, अम्बालिका नामका पत्नीहरू थिए । अम्बिकाबाट धृतराष्ट्र जन्मिए भने अम्बालिकाबाट पाण्डु र दासीबाट विदुरको जन्म भयो ।
धृतराष्ट्र जन्मजात दृष्टिविहीन थिए । उनको विवाह गान्धारीसँग भयो । गान्धारीका दुर्योधन, दुशासनलगायत ९९ भाइ र दासीबाट युयुत्सु गरी सय भाइ छोरा थिए भने दुहशाला उनकी एक मात्र छोरी थिइन । सकुनी गान्धारीका भाइ थिए । पहिलो विवाह भइसकेकी गान्धारीको छक्काएर विवाह गराएको निहुँमा दुर्योधनले गान्धारीका सबै माइती परिवारलाई जेल हालेका थिए । सकुनीले त्यसको बदलास्वरूप महाभारत युद्धमा देखाइदिए ।
उता, पाण्डुको कुन्ती र माद्रीसँग विवाह भयो । पाण्डुका पाँच भाइ छोरा युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव थिए । पाण्डुलाई सन्तान नभएपछि सत्यवती र पाण्डुकै सल्लाहमा कुन्तीले सूर्यदेवबाट युधिष्ठिर, वायुदेवबाट भीम, इन्द्रबाट अर्जुन जन्माइन् । माद्रीले दुई आश्विनमार्फत जुम्ल्याहा छोरा नहकुल र सहदेवको जन्माइन् ।
यी पाँच भाइकी एक मात्र पत्नी थिइन, द्रौपदी । अभिमन्यु पाण्डवका छोरा थिए ।
त्यस्तै, मथुरा राज्यका राजा उग्रसेन थिए । उनको छोराको नाम कंश र छोरीको नाम देवकी थियो । देवकीको विवाह वासुदेवसँग भयो । एक दिन कंशलाई आकासवाणी भएछ कि देवकीको आठौँ पुत्रको हातबाट उनको मृत्यु हुने छ । कंशले आफ्नै बहिनी देवकीको सबै परिवारलाई जेल हालिदिए ।
श्रीकृष्णको जन्म कारागारमै भएको थियो । वासुदेवले आफ्नो पुत्र कृष्णलाई गोकुल निवासी यशोदाको पासमा छोडेर मथुरा गए । कंशले वासुदेवका पूरै सन्तान मार्ने षड्यन्त्र गरिरहेको थियो । पछि कृष्णकै हातबाट कंशको मरण भयो । कृष्णका पिता वासुदेवले आफ्नी बहिनी कुन्तीको विवाह पाण्डुसँग गरिदिएका थिए ।
कृष्ण र दुर्योधन सम्धि सम्धि थिए । कृष्णकी बहिनी शुभद्रा अर्जुन पत्नी थिइन् ।
एउटै वंशका कौरव–पाण्डवबिच राज्य बाँडफाँडको विषयमा झैझगडा, वादविवाद भइरहन्थ्यो । दुर्योधनले सकुनीको परिवारलाई कारागारमा राखेकाले सकुनीले उनीहरूबिच युद्ध भड्काएर बदला लिन चाहन्थे । ऊ पासा खेल्न निकै सिपालु थियो । सकुनीले कौरव र पाण्डवको बिचमा जुवा खेलाउने योजना बनायो । जुवा खेल्न बसे । पाण्डवहरू जुवा हार्दै जाँदा द्रौपदीलाई पनि थापे । द्रौपदीलाई नाङ्गेझार पारियो । महाभारत युद्धका लागि यो घटना मुख्य कारक बन्यो ।
कृष्णले पाण्डवको पक्ष लिए । घमासान युद्ध हुँदा युद्धमा सबै कौरवको वंशनाश भयो । गान्धारीले आफ्नो वंशनाश गर्ने प्रमुख पात्र दोषी कृष्णलाई नै किटान गरिन् र यदुवंशको नाश होस् भनी श्राप दिइन् ।
पछि कृष्णको एक शिकारीको वाणको चोट लागी मृत्यु भयो । यस युद्धमा दुवैतर्फका झन्डै चालिस हजार सैनिकको मृत्यु भयो । तीमध्ये दुवैतर्फका गरी जम्मा ११ जना मात्र बाँचेका थिए । यो मूर्खतापूर्ण र आत्मघाती युद्धमा सर्वनाश भयो । भारतवर्षकै वैदिक सभ्यता पनि नष्ट भयो।
रामायण काल पनि सत्तास्वार्थका लागि कैयौँ अवाञ्छित घटनाले भरिपूर्ण रहेको छ ।
आदौ राम तपोवनादिगमनम् हत्वामृगम् काँचनम् ।
वैदेही हरणम् जटायु मरणम् सुग्रीव सम्भाषणम् ।।
वाली निग्रहणमम् समुद्रतरणम् लंकापुरीदाहनम् ।
पश्चाद्रावण कुम्भकर्णहननम् एतद्धि रामायणम् ।।
अयोध्याका राजा दशरथकी कान्छी रानी कैकेयीले आफूबाट जन्मेको पुत्रलाई राजा बनाउने सर्तमा विवाह गर्न राजी गराएकी थिइन् ।
सोही मुताबिक रामलाई बनवास पठाइन्छ । जङ्गलमा सुनौलो मृग देखेर रामले पिछा गर्दै जान्छन् र मारिदिन्छन् । ठिक त्यही बेला लङ्काका राजा रावणले सीताको हरण गर्दछन् । रामलक्ष्मणले तुरुन्तै सीताको खोजी गर्छन् । सबै कुरा थाहा भएपछि योजना बन्छ ।
सुग्रीवसँग मितेरी लगाउन पुग्छन् । बाली मारिन्छन् ।
सीताको खोजीमा हनुमानलाई लङ्का पठाइयो । लङ्का जलाइयो ।
“भाइ फुटे, गवार लुटे” भने झैँ रामले रावणका सबै भेद विभीषणवाट प्राप्त गरे । राम र रावणमाझ घमासान युद्ध भयो । युद्धमा रावण र कुम्भकर्ण सबै मारिए । सीतालाई लङ्काबाट फिर्ता ल्याइयो । विभीषणलाई लङ्काको राजसिंहासनमा राखियो । जयजयकार गरियो । यस्तै छलकपट, जालझेल, अपहरण, मोजमस्ती, हिंसा–प्रतिहिंसा, सत्तास्वार्थ, वनवास, सर्वनाबलाई नै रामराज्य भनियो ।
नेपालको इतिहास पनि सत्ता र शक्तिप्राप्तिको लागि किराँतकालमा होस् वा लिच्छविकाल वा मल्लकाल नै किन नहोस्, कुर्सीका लागि लुछाचुँडी, सत्ताउन्माद, छलकपट, धोकाधडीको इतिहास रहेको छ । शाहीकालमा विशेष गरी पृथ्विनारायण शाहको मृत्युपछि सत्ता र शक्तिका लागि निकै ठुला ठुला दाउपेच, हत्या, हिंसाका घटना भए । कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी दरबार हत्याकाण्ड जस्ता बर्बर दानवीय घटना इतिहासको पानामा कलङ्कित भएर रहेका छन् ।
पृथ्वीनारायण शाहको अकल्पनीय देहान्तपश्चात् १८३१ माघ १ गते परम्पराअनुसार उनका जेठा छोरा प्रतापसिंह शाह राजसिंहासनमा बसे । सोही बेलामा राजकुमार बहादुर शाह र यिनका काकाहरू चौबिसे राजासँग मिलेर सरकारको विरुद्धमा गडबडी गर्दै छन् भन्ने अफवाह फैलाइयो । भर्खरै राजा बनेका प्रतापसिंह शाहले आफ्ना बुबाको तेह्रौँ दिन काजकिरिया आसौचमा रहेको बेला नभनी सैनिक पठाई कान्छा राजकुमार बहादुर शाह र चौतारा दलमर्दन शाहलाई नजरबन्दमा हालिदिए । दलजित शाह बेपत्ता भए । बहादुर शाहले बाबुको काजकिरिया नजरबन्द अवस्थामै गरेका थिए ।
त्यति बेला पनि दुई भाइ र भाइभारदारको बिचमा लामो समयसम्म राजकाजको विषयमा खटपट भइरहन्थ्यो । बहादुर शाहले आफ्ना बुबाको राज्यविस्तार अभियानलाई निरन्तरता दिन चाहान्थे तर महारानी राज्यलक्ष्मी र राजा प्रतापसिंह भने त्यो काम तत्काल गर्न चाँहदैनथे । त्यस्तै त्यस्तै अवस्थामा २६ वर्षको कलिलो उमेरमै राजा प्रतापसिंह शाहको आकस्मिक रूपमा देहान्त भयो । अढाई वर्षका बालक युवराज रणबहादुर शाहलाई नेपाल अधिराज्यको राजसिंहासनमा राखियो ।
राजाको काजकिरियामा तराईतिर नजरबन्दमा रहेका बहादुर शाहलाई दाजुको काजकिरियामा सामेल हुनबाट रोक्न खोजियो तर गुरुपुरोहितको आग्रहमा उनलाई नजरबन्दबाट मुक्त गरिएपछि उनैको हातबाट दाजुको विधिविधानअनुरूप काजकिरि सम्पन्न भयो ।
पछि महारानीको दबावमा धर्मपत्रमा हस्ताक्षर गराउन लगाएपछि मात्र उनलाई छोडियो ।
अरू योग्य मान्छे हुँदाहँुदै राजेन्द्रलक्ष्मीले सर्वजित रानालाई मूलकाजी पदमा नियुक्त गरिन् । यस्तै अनेक राज्य सञ्चालनको विषयमा विवादले गर्दा देवरभाउजूको बिचमा शक्तिसङ्घर्ष भइरहेको थियो । यसै सिलसिलामा प्रिय पात्र भएर रहेका काजी सर्वजित रानाको सहयोगमा राजकुमार बहादुर शाहलाई पुन: कैद गरियो । छिटै थुनामुक्त भएपछि पनि मतभेद चर्किदै गयो । संयोगवश महारानी र काजी सर्वजित रानाको बिचमा चलेका प्रेमप्रसङ्ग बाहिर ल्याइए । नयाँपुराना भाइभारदार उचित मौका पर्खिरहेका थिए । यही मौका छोपेर राजभवनभित्रकै चार जना केटा कमारालाई पोलाहाका रूपमा खडा गराई भूतपूर्व चौतारा दलजित शाहको हातबाट काजी सर्वजित राना दरबारभित्रै एउटा कोठामा काटिए । यस अपराधमा दोषी देखाई १८३५ भदौ १९ गते महारानी राजेन्द्र लक्ष्मीलाई पनि चाँदीको नेल लगाई कठोर नजरबन्दमा राखियो ।
अब राजकुमार बहादुर शाह पुन: राज्यसत्तामा फर्किए । बहादुर शाह राज्य एकीकरणमा लागेको मौका छोपी पूर्व चौतारालगायत भारदार लगाएर महारानीको पक्षमा गतिविधि बढाइयो । महारानी नजरबन्दबाट मुक्त भइन् । चार जना केटा कमारा काटिए । दुर्वाच्य बोलेको आरोपमा काजी श्रीहर्ष पन्तको मुख डामियो भने दलजित शाह देशनिकाला भए । बहादुर शाह पुन: प्रवासतिर पलायन भए ।
समयक्रममा महारानीले राजा छोरा रणबहादुर शाहको ब्रतवन्ध गराउने निर्णय गरिन् । कार्यक्रममा देश तथा विदेशबाट समेत उक्त कार्यक्रममा पाहुनाहरू बोलाइएको थियो । ब्रतवन्धपछि निम्तो मान्न आएका बहादुर शाह पक्षधर भूतपूर्व काजी वंशराज पाण्डेलाई अकल्पित आरोप लगाई दरवारभित्रकै भण्डारखाल बगैँचामा निर्ममतापूर्वक काटिए । यो घटना भण्डारखाल पर्वको रूपमा चर्चित छ ।
लगत्तै पछि बहादुर शाह पनि पक्रिए र फर्पिङमा नजरबन्द गरिए तर परिस्थितिले कोल्टे फेर्यो । दरबारमा फेरि अनपेक्षित घटना घट्यो । महारानी राजेन्द्र लक्ष्मीको टिबी रोगबाट मृत्यु भयो । यस जटिल अवस्थामा गुरुपुरोहित, राजपरिवारलगायत उच्च भारदारको रातारात भएको भारदारीसभाले सबैभन्दा नजिकको बन्धुको हैसियतले महारानीको सपिण्डी श्राद्ध राजकुमार बहादुर शाहको हातबाट गराउने निर्णय गर्दै बाह्रौँ दिनको पुण्यतिथि उम्काउन दुई दिनका लागि वन्धनमुक्त गरियो । काजकिरियापश्चात् गुरुपुरोहित भाइभारदारको सल्लाह, सहमतिअनुसार राजकुमार बहादुर शाहले राजाको प्रमुख मुख्तियार तथा राजप्रतिनिधिको पदभार ग्रहण गरी देशको बागडोर आफ्नो हातमा लिए र राज्यविस्तारमा दृढतापूर्वक लागे ।
राज्यविस्तारको क्रममा बहादुर शाहले पश्चिमी बाइसे/चौबिसे राज्य कब्जा गर्दै गए । लडाइँमा जितहात पार्दै कुमाउँ, गढवालसम्म राज्यविस्तार गर्न सफल भए । यस्ता वीर र बहादुर राजकुमार मुक्तियार बहादुर शाह र राजाको बिचमा सत्ताको खटपट चलिरह्यो ।
यसरी सत्ता र शक्तिको खेल चलिरहेकै बेला विसं १८५४ मा षड्यन्त्रपूर्वक बहादुर शाहको रातको समयमा हत्या गरी कालगतिले मरेको भन्ने गराई रातारात पशुपति आर्यघाटमा लगेर जलाइयो । यसरी वीर राष्ट्रभक्त बहादुर शाहको दुखद अन्त्य भयो ।
सत्ताको खेल अगाडि बढ्दै जाँदा जङ्गबहादुर राणाले कोतपर्व घटाएर राजालाई पिँजडाको सुगा बनाई आफू नेपाल अधिराज्यको प्रमुख भई देशको बागडोर आफ्नो हातमा लिए । राणाकालको १०४ वर्ष पनि सत्ता र शक्तिका लागि आफ्नै दाजुभाइ भारदारबिच काटाकाट, मारामार, हत्या, हिंसा, छलकपट आदि मात्रै गरेनन्, देशको ढुकुटी लुटेर खोक्रो बनाएर गए ।
२०१७ सालपछि शाहीकालमा राष्ट्रघातका काम कमै भए तर देश लुट्ने काममा कमी आएन । २०४७ सालपछिका बहुदलीय सत्ताधारीहरू आफू सत्तामा टिकिराख्नका लागि भद्दा अनि नाङ्गो प्रकारले सत्ताको खेल खेलिरहे । कुर्ची जोगाउने खेलमा विदेशी साम्राज्यवादी शक्तिको दलाली चाकरी गर्ने, देशका अपार प्राकृतिक स्रोत विदेशीलाई सुम्पिने, राष्ट्रघाती जनघाती सन्धिसम्झौता गरेर देशलाई हरिकङ्गाल बनाउने, देश लुट्ने काममा सत्तापक्ष र प्रतिपक्ष एकैमुख हुने तर देश विकासको सवालमा गाँड कोराकोर, सदन वहिष्कार, कुर्सी हानाहान, अनर्थ नाटक मञ्चन गरेर लोभीपापीहरू मुर्दाघाटमा प्रतिष्पर्धा गरिरहेका छन् । लासमाथि राजनीति गरिरहेका छन् ।
आज मातृभूमिको रक्षा गर्न, उनका क्षत्विक्षत् अङ्गप्रत्यङ्गको उपचार गर्न भ्रष्टाचारी, प्रतिक्रियावादी तत्त्वलाई निस्तेज पार्नुपर्ने आवश्यकता छ । त्यसका लागि सच्चा देशभक्त, क्रान्तिकारी कम्युनिस्ट शक्तिहरू एकीकृत होऊँ र दलाल पुँजीवादी साम्राज्यवादी तत्त्व र तिनका भरौटेको राज्यसत्ता ध्वस्त पारौँ । यसको विकल्पमा देश र जनताको मुक्तिका लागि नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न अगाडि बढौँ ।

