दुर्गानाथ खरेल ##
पेरिसनजिकै लेनिनले खोल्नुभएको पार्टीस्कुलले प्रगतिशील मजदुरलाई राजनीतिक शिक्षा प्रदान गर्नमा निकै ठुलो भूमिका खेलेको थियो । लेनिनको वैज्ञानिक र ठोस माक्र्सवादी विश्लेषणका कारणले जार शासनको अन्त गरेर समाजवादी व्यवस्था स्थापना गर्न सम्भव भएको हो । जारशाही जेल तथा निर्वासनबाट भागेर आई प्रवासमा बस्न बाध्य भएका रुसी मजदुरहरू लेनिनले खोलेको स्कुलमा भर्ना हुन्थे । उनीहरूलाई माक्र्सवादी क्रान्तिकारी सिद्धान्त अध्ययन गराइन्थ्यो । त्यहाँ उनीहरूले श्रमिक आन्दोलनको निर्देशनकला सिक्दथे । लेनिनको नेतृतवमा बोल्सेभिकहरू श्रमिक जनताको वास्तविक स्वाधीनता प्राप्त गर्न हुने भावी लडाइ तयारी गर्ने गर्दथे ।
मार्च १९१२ मा लेना नदीको निकटवर्ती क्षेत्रमा रहेका सुनखानीका मजदुरले हडताल सुरु गरे । ४ अप्रिलको दिन तीन हजारभन्दा बढी मजदुर आप्mना माग पेस गर्न सुनखानीको मुख्य अफिसतिर लागेका थिए । मालिकले डाकेका सेनाको गोलीबाट रगतले मुछिएको हिउँमा दुई सय सत्तरीओटा मृत लास र दुई सय पचास जना घाइते लडेका थिए ।
लेना स्वर्ण क्षेत्रमा भएको त्यस हत्याकाण्डको खबरले रुसका सबै इमान्दार मान्छेलाई व्यथित र क्रुद्ध तुल्याएको थियो तर जारशाही मन्त्री मार्कोभले “सधैँ यस्तै हुने गर्दथ्यो र भविष्यमा पनि यस्तै हुने छ” भनेका थिए ।
धेरैजसो सहरमा हड्तालको आयोजना गर्दा हडतालीको सङ्ख्या तीन लाखसम्म पुगेको थियो । सन् १९१२ को मे दिवसको उपलक्ष्यमा लाखौँलाख विरोध प्रदर्शन गरे । बोल्सेभिकद्वारा नेतृत्व गरिएको जनसमूहको एकीकृत क्रियाकलापको अगाडि घोर दमन र क्रान्तिकारीमाथि गरिने सम्पूर्ण अत्याचारको पनि केही लागेन ।
लेनिनले लेख्नुभयो– “अखिल रसियाली सर्वहारा वर्गको भव्य मे हड्ताल र यस हड्तालसँग सम्बन्धित प्रदर्शन, प्रचारबाजी तथा मजदुरसमक्ष गरिएको क्रान्तिकारी भाषणले स्पष्ट रूपमा देखाएका छन्, अब रुसले क्रान्तिकारी उभारको क्षेत्रभित्र प्रवेश गरिसकेको छ ।”
बोल्सेभिक अखबार प्रावदाको पहिलो अङ्क मे ५, १९१२ मा प्रकाशित भएर महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
सन् १९१३ मा रुसभरि एकैपटक बाह्र लाख बहत्तर जना मजदुरले हड्ताल गरे भने सन् १९१०–१४ बिच तेह्र हजारभन्दा बढी किसान आन्दोलन भए ।
अगस्त १, १९१४ मा विश्व साम्राज्यवादी युद्ध सुरु भयो । जारशाही सरकारले मजदुरको क्रान्तिकारी आन्दोलन दबाउन यस मौकाबाट फाइदा उठायो । युद्धरत सरकार र बुर्जुवा पार्टीले यो युद्ध राष्ट्रियता बचाउनका लागि लडिँंदै छ र जनतालाई पितृभूमिको रक्षा गर्न आह्वान गरे । लडाइँको सुरुमा रुसमा ४० लाखजति र युद्धावधि सन् १९१४–१९१८ सम्म डेढ करोड मानिस सेनामा लिइएका थिए ।
१८८९ मार्चमा गठन भएको रसियाली जनवादी मजदुर पार्टीको मिन्समा सम्पन्न पहिलो महाधिवेशनमा नौ जना प्रतिनिधिले भाग लिएका थिए । त्यो नै बोल्सेभिकको सुरु अवस्था थियो ।
युद्धको सुरुदेखि नै बोल्सेभिकले यो युद्ध अन्यायपूर्ण भएको र साम्राज्यवादीले आप्mनो निजी स्वार्थपूर्तिका लागि लडाइँ सुरु गरेका हुन् भन्ने कुरा बुझाउँदै आएका थिए । जारशाही सैनिक अदालतले बोल्सेभिक प्रचारकलाई मृत्युदण्ड दिने गर्दथ्यो । किसान र मजदुरले युद्धबारे थाहा पाउँथे ।
जनताले बोल्सेभिकका “साम्राज्यवादी युद्धलाई गृहयुद्धमा परिणत गर !”, “युद्ध मुर्दावाद !”, “जार मुर्दावाद ” जस्ता नाराको समर्थन गर्न लागे । १९१७ को फेब्रुअरी महिनामा अब राजतन्त्र अरू बढी राख्न असम्भव छ भन्ने बुझेका रुसी बुर्जुवा वर्गका प्रतिनिधिले जार निकोलाई द्वितीयलाई गद्दी त्याग्न अनुरोध गर्न थाले । नयाँ गठन भएको सरकारमा चुनाव नभएसम्म अस्थायी रूपमा जमिन्दार तथा मिलमालिक सम्मिलित थिए । युगौँदेखि जनताको शोषण गर्दै आएको तानाशाही शासन ढलेको थियो । लेनिनले अस्थायी सरकारमाथि विश्वास नगर्न र सङ्घर्ष जारी राख्न आह्वान गर्नुभयो ।
बोल्सेभिक पार्टीको इतिहासमा अवसरवाद विरुद्धको सङ्घर्षले ठुलो महत्त्व राख्दछ । अप्रिल ३, १९१७ का दिन लेनिन पेट्रोग्राड आइपुग्नुभयो । आफ्नो पहिलो भाषणमा पुँजीपति र जमिनदारको सत्ताको ठाउँमा श्रमिक जनताको सत्ता कायम हुनुपर्छ; अन्तमा “समाजवादी क्रान्ति जिन्दावाद !” भनेर भाषण टुङ्ग्याउनुभएको थियो ।
अप्रिल ४ का दिन बोल्सेभिकको बैठकमा लेनिनले पार्टीको भावी कार्यक्रमको योजना प्रस्तुत गर्नुभयो ।
त्यसमा यी माग सामेल थिए : १. जनताका अगाडि अस्थायी सरकारका कबुलको कपटी चरित्र स्पष्ट पार्नुपर्छ । २. सोभियतमा मेन्सेभिक र ऐसेरको गद्दारीको भण्डाफोर गरिनुपर्छ । ३. सोभियतलाई बोल्सेभिकको पक्षमा ल्याउनुपर्छ । ४. मजदुर र सैनिक डेपुटीका सोभियतले किसानलाई जमिन दिने र कलकारखानामा मजदुर नियन्त्रण कायम राख्दै रुसलाई युद्धबाट उम्काउनुपर्छ । ५. जनताको समर्थनसहित सोभियतले देशको सम्पूर्ण सत्ता आफ्नो हातमा केन्द्रित गर्नुपर्छ । सोभियतले यो काम गर्न सक्छन् । “सम्पूर्ण सत्ता सोभियतलाई” ।
मजदुर, किसान र सैनिकबिच बोल्सेभिकको प्रभाव तीव्र गतिले बढ्न थाल्यो । प्रजातन्त्रसम्बन्धी सबै कुरा पन्छाएर अस्थायी सरकारले श्रमिक जनतामाथि प्रहार गर्न र बोल्सेभिकमाथि धरपकड गर्न सुरु गर्यो । लेनिनले गुप्तबासबाट निर्देशन गर्न सुरु गर्नुभयो ।
अगस्त १९१७ मा बसेको छैटौँ पार्टी काङ्ग्रेसले सशस्त्र विद्रोहका लागि तयारी गर्ने प्रस्ताव पारित गर्यो । हर प्रकारको दमन हुँदाहुँदै पनि बोल्सेभिक पार्टी निरन्तर अघि बढिरह्यो । अप्रिल १९१७ मा असी हजार पार्टीसदस्य थिए भने जुलाईमा सङ्ख्या बढेर दुई लाख चालिस हजार पुगिसकेको थियो । अक्टोबर ७, १९१७ मा लेनिन भूमिगत रूपमा पेट्रोग्राड पुगेर दुई दिनपछिको केन्द्रीय समिति बैठकले छिटोभन्दा छिटो सशस्त्र विद्रोहको लागि तयार गर्ने निर्णय गर्यो । विद्रोहको नेतृत्व गर्न पेट्रोग्राद सोभियतअन्तर्गत सामरिक क्रान्तिकारी कमिटी गठन गरियो । बोल्सेभिक पार्टीका सक्रिय क्रान्तिकारी कार्यकर्ता निकोलाई पदभोइस्की अध्यक्ष मनोनित भए । सबै कलकारखाना तथा पेट्रोग्राडका सबै सैनिक टुकडीमा सामरिक क्रान्तिकारी कमिटीले आफ्ना प्रतिनिधि पठाए । लेनिनकै प्रस्तावअनुसार अक्टोबर २४ का दिन विद्रोह सुरु भयो ।
लेनिनको नेतृत्वमा गठित विद्रोही हेडक्वाटर स्मोल्नी इन्स्टिच्युटमा राखिएको थियो । पेट्रोगादका सडकमा जताततै स्मोल्नी इस्न्टिच्युटतिर जान थालेका श्रमिकका सैनिक टुकडी देखिन्थे । स्मोल्नी इस्न्टिच्युट सैनिक शिविरमा परिणत भइसकेको थियो ।
स्मोल्नी इस्न्टिच्युटका सबै प्रवेशमार्गमा पहरा लागेको थियो । काँटी कसिएका घोडा तयार थिए । ताप पनि ल्याइपुर्याइए । लालगार्ड टुकडीले युन्केरको कडा प्रतिरोधको सामना गर्दै छ भन्ने खबर आइपुग्दा उनीहरूलाई मदत गर्न बाल्टिक नौसैनिकको एक टुकडी छिटोभन्दा छिटो गरेर त्यहाँ पुर्याइयो । कुनै पनि हालतमा थामिनुहुन्न, अगाडि बढ्दै जानुपर्छ भन्ने सन्देश पनि सँगसँगै पठाइयो ।
अक्टोबर २५ का दिन स्मोल्नीमा एकपछि अर्को खुसीका खबर आउन थाले । सहरको धेरैजसो भाग विद्रोही जनताको हातमा आइसकेको थियो । क्रान्तिको विजयका लागि शिशिर प्रसादमाथि कब्जा गर्न आवश्यक थियो । त्यसका लागि अस्थायी सरकारलाई गिरफ्तार गर्नुपर्ने थियो ।
अस्थायी सरकारका मन्त्रीहरू शिशिर प्रसादको टेलिफोन काटिइसकेको तारसञ्चार सबै बन्द भएको एउटा कोठामा सम्पूर्ण राष्ट्रबाट अलग्गिएर बसेका थिए । शिशिर प्रसादको वरिपरि तत्काल लगाइएको बेरिकेडपछाडि करिब सात सय पचास जना अफिसर तथा युन्केर लुकेर बसेका थिए । उनीहरूका बन्दुक तथा मेसिनगन शिशिर प्रसादअगाडिको चोकतर्फ तेर्साएर राखिएको थियो । त्यो त्यही चोक थियो, जहाँ जनवरी ९, १९०५ मा मजदुरको शान्तिपूर्ण जुलुसमाथि गोली चलाइएको थियो । त्यस बेला जारसँग मजदुरहरू दयामायाको भिक माग्न गएका थिए भने अहिले जबर्जस्ती शक्ति आफ्नो हातमा लिएर कारबाही गर्ने बेला आएको थियो ।
विद्रोहीले अस्थायी सरकारलाई आत्मसमर्पण गर्न अल्टिमेटम पठाएर कुनै जवाफ नआएपछि ढोका खोलेर भित्र खोजी गर्दा भेट्टिए ।
त्यसपछि बोल्सेभिक क्रान्तिकारी विद्रोहको नेतृत्व गरिरहेका आन्तोनभ ओभोयन्कोले पेट्रोग्राद सोभियतका सैनिक क्रान्तिकारी समितिको तर्फबाट घोषणा गरे कि अस्थायी सरकार भङ्ग गरिसकिएको र उहाँहरू गिरफ्तारीमा पर्नुभएको छ ।
अक्टोबर २५ को साँझपख शिशिर प्रसादमाथि हमला चल्दै गर्दा सोभियतको दोस्रो अखिल रसियाली महाधिवेशन सुरु भयो ।
देशभरिका मजदुर सैनिक र किसानलाई तारद्वारा पठाइएको अपिलमा लेनिनले लेख्नुभयो– “मजदुर, सैनिक तथा किसानको व्यापक बहुमतसहित पेट्रोग्रादमा सम्पन्न मजदुर तथा नगररक्षक सेनाको विजयी विद्रोहको समर्थनसहित यस महाधिवेशनले आफ्नो हातमा सत्ता लिएको छ । अक्टोबर क्रान्तिले सर्वहारा वर्गलाई उत्पादनका साधनमाथि सामूहिक स्वामित्व कायम गर्ने र अधिकार स्थापित गर्ने गरेको थियो । महाधिवेशनको निर्णयअनुसार, इलाकामा सम्पूर्ण सत्ता मजदुर, सैनिक र किसान डेपुटीका सोभियतको हातमा आएको छ ।
यिनै सोभियतले वास्तवमा क्रान्तिकारी व्यवस्था सुनिश्चित गर्ने अभिभारा आफ्नो हातमा लिने छन् ।”
सोभियत सत्ताको लागि श्रमिक जनताको सुखसुविधाभन्दा बढी महत्त्वपूर्ण अरू कुनै उद्देश्य थिएन । जमिनमाथि जमिन्दारको स्वामित्व समाप्त पारियो । किसानले आफ्नो उपयोगका लागि पन्ध्र करोड हेक्टरभन्दा बढी जमिन नि:शुल्क पाए । जमिन्दारलाई बर्सेनि तिर्दै जानुपर्ने ७० करोड स्वर्ण रुबलको लगानीबाट पनि मुक्ति पाए । सम्पूर्ण जमिन, जङ्गल र जलस्रोतको राष्ट्रियकरण गरियो ।
जनसङ्ख्याका बहुमत किसानले जमिन र स्वतन्त्रता पाए । सोभियतको महाधिवेशनले विश्वमा पहिलो श्रमिक सरकार सोभियत जनकमिसार परिषद् गठन गर्यो । भ्लादिमिर इल्यिच लेनिन सर्वसम्मतिले नयाँ सरकारको अध्यक्ष निर्वाचित हुनभयो ।
समाजवादी व्यवस्था स्थापना गर्नुभन्दा त्यसलाई टिकाइराख्न झनै कठिन हुन्छ ।
अक्टोबर २५ का दिन उद्घाटन भएको सोभियतको महाधिवेशनमा ६५० जना प्रतिनिधिमध्ये ४०० जना मात्र बोल्सेभिक थिए ।
समाजवादको विकास मूल रूपमा उत्पादनमा लगाइने श्रमको किसिम, उत्पादन गर्ने प्राविधिक स्तर, उत्पादनका औजार र उत्पादित वस्तु वितरणको तरिका आदिमा भर पर्दछ ।
यदि अक्टोबर क्रान्तिले रुसका मजदुर जस्तो नेता जनताको विश्वास प्राप्त गरिसकेका कार्यकर्ता र मजदुर–किसानबिच एकता भएको अवस्था हुने थिएन भने अक्टोबर क्रान्तिको विजय सम्भव हुने थिएन । अक्टोबर क्रान्तिले साम्राज्यवादीलाई उनीहरूको पुँजीबाट र रुसलाई दास बनाएर उसको भूभाग विभाजन गर्ने सबै योजना समेत विफल तुल्याइदियो । विश्वभरिका पुँजीपतिलाई रुसमा फैलिएको क्रान्तिको ज्वाला उनीहरूको देशमा पनि फैलिन सक्ने डर थियो । क्रान्ति अन्य देशमा पनि विस्तार हुन सक्ने कारण साम्राज्यवादीको थिचोमिचोबाट ती देशका श्रमजीवी वर्ग पिल्सिएर रहेका थिए । अक्टोबर क्रान्तिको सफलताले उनीहरूको आत्मबल बढाइदिएको थियो ।
अक्टोबर क्रान्तिले साम्राज्यवादको अखण्ड प्रभुत्व खतम पारिदियो । विश्वको छ खण्डको एक खण्ड भूभागमा समाजवाद निर्माण सुरु भयो । विश्व मरणासन्न पुँजीवाद र विकासोन्मुख समाजवाद दुई विरोधी शिविरमा विभाजित भयो । विश्वभरिका श्रमिक जनताका लागि अक्टोबर क्रान्ति सङ्घर्षको एक महान् दृष्टान्त बन्न गयो । श्रमजीवी जनताले स्वतन्त्र भई सुखमा जीवनको निर्माण गर्ने र मान्छेले मान्छेलाई शोषण गर्न नपाउने बाटो अक्टोबर क्रान्तिले देखाउँदै थियो । लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले रुसी श्रमिक जनताको सङ्घर्षको नेतृत्व गरेका कारणले क्रान्तिको विजय भएको थियो ।