भद्रपुर । बैदेसिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ ।
उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो ।
‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’ विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो– ‘अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दै छ, केही अत्तोपत्तो छैन ।’
उहाँ मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा हुनुहुन्थ्यो ।
विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमाबुबाको हेरचाह गरेर बस्नुभएको छ भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा हुनुहुन्छ । दुई जना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ ।
विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै हुनुहुन्छ ।
‘१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन’ उहाँले भन्नुभयो ।
सुकमायाले रु ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत् काठमाडौँको म्यानपावरबाट मलेसिया पठाएको बताउनुभयो ।
उहाँले मलेसिया गएपछि विनोदले रु ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप रु २० हजार पठाएको जानकारी दिनुभयो ।
आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताउनुभयो । त्यस बेला विनोदले पेनागस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताउनुभयो ।
मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उहाँहरूको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताउनुभयो । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्कनुभयो । विनोद कुन म्यानपावर कम्पनीमार्फत् मलेसिया जानुभएको थियो भन्ने बारेमा उहाँका बुबा र आमाले बताउन सक्नुभएन तर म्यानपावर कम्पनीसम्म पुर्याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ । (रासस)