तमघासबजार । गुल्मीमा नवविवाहित एक दम्पतीले विवाहमा हुने फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेका छन् ।
रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँका सञ्चारकर्मीसमेत रहनुभएका मोहन बस्नेतलले विवाहको भोजमा हुने फजुल खर्चबाट गाउँमा गरिब तथा विपन्न नागरिकका लागि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको हो ।
पछिल्लो समयमा विवाहमा फजुल खर्च गर्ने परम्परा बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न भोजभतेरमा गर्ने खर्च सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरूले त्यस्तो योजना बनाएको उहाँले बताउनुभयो ।
बस्नेतले आफ्नो जन्मभूमिमा थोरै भए पनि सेवा गर्नुपर्छ भन्ने सोचले विवाहमा तडक भडक गर्नाको साटो जोगाएर गाउँमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ, छाती तथा मुटुरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञद्वारा नि:शुल्क परीक्षण गराइएको थियो । शिविरमा इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको प्रबन्ध गर्नाका साथै स्वास्थ्य परीक्षणका अतिरिक्त नि:शुल्क औषधिसमेत वितरण गरिएको थियो ।
विवाहकोे भोजमा हुने फजुल खर्च बचाएर समाजमा गरिने यस्ता प्रकारका कामबाट गरिब तथा विपन्न वर्गलाई ठुलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताउनुभयो ।
उहाँले यस्ता सामाजिक कार्यले आउँदो दिन अरूलाई पनि थप प्रेरणा मिल्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह हुने उल्लेख गर्नुभयो । आफ्नै घरदैलोमा आएर विशेषज्ञसहितको सेवा पाउँदा आफूहरू निकै खुसी भएको स्थानीयवासी पम्फा विश्वकर्माले बताउनुभयो ।
शिविरमा चार सयभन्दा बढी बिरामी सहभागी थिए । सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायलाई सहयोग गर्दै आउनु भएको थियो ।
त्यसैगरी, रेसुङ्गा नगरपालिका–११ राङबासका गुणाखर पाण्डेले विवाहमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्नुभएको छ ।
उहाँले स्थानीय भगवती मावि र राङ्बास माविलाई रु ५०/५० हजारको अक्षयकोष स्थापनाका लागि सहयोग उपलब्ध गराउनुभएको हो । (रासस)