मुसिकोट । गत कात्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
जिल्लाका छओटै स्थायीय तहमा गरेर हालसम्म १९ हजार सात सय १७ लाभग्राहीले पहिलो किस्ताबापत्को रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।
जिल्ला बिपत् व्यवस्थापन कोषबाट २३ हजार छ सय आठ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइए पनि स्थायीय बिपत् न्यूनीकरण कोषबाट १९ हजार सात सय १७ लाभग्राहीले रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा सात हजार लाभग्राहीले रकम प्राप्त गर्दा बाँफीकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन् ।
त्यस्तै, चौरजहारी नगरपालिकामा पाँच हजार नौ सय ३८, मुसिकोट नगरपालिकामा दुई सय ११, सानीभेरी गाउँपालिकामा चार हजार चार सय ९९ र त्रिवेणी गाउँपालिकाका दुई हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापत्को रु २५ हजारका दरले रु ४९ करोड २९ लाख २५ हजार पाप्त गरेका छन् ।
जिल्ला बिपत् व्यवस्थापन कोषबाट भने रु ५९ करोड दुई लाख रकम स्थानीय बिपत् जोखिम न्यूनीकरण कोषमा पठाइएको छ ।
जिल्ला बिपत् व्यस्थापन कोषबाट पठाइएको पहिलो किस्ताबापत्को रकम अझै तीन हजार ९१ लाभग्राहीले पाउन बाँकी छ ।
जिल्लाभर हालसम्म २६ हजार आठ सय पाँच लाभग्राहीको प्रहरी लगत सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।