दुबई । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यमनका युद्धरत पक्षले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि राष्ट्र सङ्घको नेतृत्वमा शान्तिप्रक्रियामा संलग्न हुन सहमत भएको शनिबार बताएका छन् ।
यमनका लागि राष्ट्रसङ्घीय विशेषदूत हान्स ग्रुन्डबर्गले गरेको यो घोषणा नौ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने पछिल्लो कदम हो ।
साउदी अरब र ओमानमा ग्रुन्डबर्गले यमनसमर्थित राष्ट्रपति परिषद्का प्रमुख रशाद अलअलिमी र इरान समर्थित हुथी विद्रोहीका प्रमुख वार्ताकार मोहम्मद अब्दुल सलामसँग हालै गरेको भेटवार्तापछि यो निर्णय भएको जानकारी दिइएको छ ।
कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार ग्रुन्डबर्गले राष्ट्रव्यापी युद्धविराम लागु गर्ने र समावेशी राजनीतिक प्रक्रियाको पुन: सुरु गर्ने तयारीमा संलग्न हुन द्वन्द्वरत दुबै पक्षले देखाएको इच्छाको स्वागत गर्नुभएको छ ।
“राजदूतले अब संयुक्त राष्ट्र सङ्घको आयोजनामा यी प्रतिबद्धता समावेश गर्ने र तिनको कार्यान्वयनलाई सहयोग गर्ने रोडम्याप बनाउन द्वन्द्वरत पक्षसँग संलग्न हुनुहुने छ” विज्ञप्तिमा भनिएको छ ।
सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी सानालाई नियन्त्रणमा लिएपछि यमन द्वन्द्वको चपेटामा परेको छ । (रासस/एएफपी)