किएभ । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विस्तारित कोष सुविधा (इएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र मार्सल कानुनअन्तर्गत समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मदत गर्ने छ’ युक्रेनी वित्तमन्त्री सेर्गी मार्चेन्कोले भने ।
‘इएफएफ कार्यक्रमले युरोपेली सङ्घमा पूर्ण एकीकरणको बाटोमा युक्रेनी सरकारको आर्थिक कार्यक्रमको विकासको लागि एक ठोस आधार बनाउने छ’ मार्चेन्कोको थप भनाइ थियो ।
गत मार्चमा आइएमएफले युक्रेनको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउन युक्रेनका लागि करिब १५ अर्ब ६० करोड डलर बराबरको ४८ महिनाको इएफएफ व्यवस्था स्वीकृत गरेको थियो । यस कार्यक्रमअन्तर्गत पूर्वी युरोपेली यस मुलुकले यसअघि नै विश्व ऋणदाताबाट ४.५ अर्ब डलर लिइसकेको छ । (रासस/सिन्ह्वा)