पेरिस । फ्रान्सकाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा बिहीबार राति फ्रान्सको सामुद्रिक च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
डुङ्गामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकप्टरबाट क्यालिसस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको फ्रान्सका अधिकारीले बताएका छन् ।
एक आप्रवासी डुङ्गा तटबाट आठ किलोमिटर (पाँच माइल) भन्दा कम दुरीमा कठिनाइमा रहेको जानकारी फ्रान्सेली समुद्री उद्धारकर्मीलाई रातको समयमा जानकारी दिएपछि तत्काल उद्धार प्रयास थालिएको थियो ।
स्थानीय समयअनुसार मध्यरातमा करिब ३० मिनेटको समयमा एउटा उद्धार जहाज त्यस क्षेत्रमा आइपुगेको सामुद्रिक अधिकारीले बताएका छन् ।
चालक दलले आप्रवासी डुङ्गा तैरिन मदत गर्ने ट्युबमध्ये एकमा समस्या आएको बताएपछि मानिसहरू एक्कासि ‘पानीमा’ हाम फालेका थिए भने टोलीले घटना भएको केही मिनेटमा नै स्थितिलाई नियन्त्रणमा ल्याएका थिए ।
फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन् । (रासस/एएफपी)