पेरिस । पछिल्लो दुई महिनामा गाजामा पत्रकारको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ) ले बिहीबार बताएको छ ।
आरएसएफको वार्षिक प्रतिवेदनअनुसार सन् २०२३ को पहिलो ११ महिनामा कामका क्रममा ४५ पत्रकार मारिएका छन् । यो आँकडा गत वर्ष ६१ थियो । ल्याटिन अमेरिकामा आएको ठुलो गिरावटका कारण सन् २००२ मा ३३ पत्रकारको मृत्युपछि यो वर्ष सबैभन्दा कम पत्रकार मारिएका छन् ।
अक्टोबर ७ मा इजराइल र इस्लामिक लडाकु समूह हमासबिच युद्ध सुरु भएपछि मध्यपूर्वमा करिब ६३ पत्रकार मारिएका छन् तर तीमध्ये १७ जना मात्रै आरएसएफको परिभाषामा परेका छन् ।
आरएसएफका महासचिव क्रिस्टोफर डेलोयरले भन्नुभयो– ‘यसले गाजा क्षेत्रको त्रासदीबाट टाढा राख्दैन तर हामीले नियमित रूपमा गिरावट देखिरहेका छौँ । सिरिया र इराकमा युद्धका कारण सन् २०१२ मा र फेरि सन् २०१३ मा मारिएका एक सय ४० पत्रकारको तुलनामा यो धेरै टाढा छ ।’
उहाँका अनुसार यो गिरावट अन्तरसरकारी सङ्गठन र गैरसरकारी सङ्गठनले दण्डहीनता विरुद्ध लड्ने प्रयासका साथै स्वयम् पत्रकारले पुर्याएको अधिक ‘विवेकशीलता’ का कारण भएको हो ।
आरएसएफका अनुसार अक्टोबर ७ पछि मध्यपूर्वमा आफ्नो पेसा निर्वाह गर्ने क्रममा मारिएका १७ पत्रकारमध्ये १३ गाजामा इजराइली हमलामा मारिएका छन् भने तीन लेबनानमा र एक जना हमासद्वारा इजराइलमा मारिएका छन् । आरएसएफले यी मृत्युलाई लिएर ‘युद्ध अपराध’ का लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी दायर गरिएको नोभेम्बरमा बताएको थियो ।
अक्टोबर १३ मा रोयटर्सका क्यामेरामेन इस्साम अब्दुल्लाहको हत्या गर्न र एएफपीका फोटोग्राफर क्रिस्टिना एसीसहित अन्य छ जनालाई घाइते बनाउन इजराइली ट्याङ्कको हमला जिम्मेवार रहेको आफ्नो अनुसन्धानबाट थाहा भएको एएफपीले गत साता बताएको थियो ।
पत्रकारहरू दक्षिणी लेबनानमा ‘सक्रिय युद्ध क्षेत्र’ मा रहेको इजराइली सेनाका एक पत्रकारले बताएका छन् तर महासचिव डेलोयरले प्रवक्ताको जवाफ ‘सन्तोषजनक’ नभएको बताउनुभयो ।
युक्रेनमा युद्धका कारण सन् २०२३ मा दुई पत्रकारको ज्यान गएको छ । आरएसएफले भनेको छ– ‘मारिनेमा एक एएफपीका रिपोर्टर अरमान सोल्डिन थिए । उनी आफ्नै देशबाहिर ज्यान गुमाउने एक मात्र रिपोर्टर हुन् ।’
सन् २०२२ मा द्वन्द्व सुरु भएपछि युक्रेन युद्धमा कूल ११ पत्रकार मारिएका छन् ।
ल्याटिन अमेरिकामा गिरावट
ल्याटिन अमेरिकामा मारिने पत्रकारको सङ्ख्यामा तीव्र कमी आएको छ । त्यहाँ छ पत्रकारको हत्या भएको छ । सन् २०२२ मा २६ पत्रकार मारिएका थिए ।
मेक्सिकोमा मात्र यो सङ्ख्या गत वर्षको ११ बाट घटेर चारमा आएको छ । लगातार अपहरण र हमला भएको भन्दै आरएसएफले मेक्सिको पत्रकारका लागि खतरनाक बनेको चेतावनी दिएको थियो । विश्वभरमा बेपत्ता भएका ८४ पत्रकारमा करिब एकतिहाइ मेक्सिकाली रहेका छन् ।
सन् २०२२ मा कारागारमा रहेका पत्रकारको सङ्ख्या पाँच सय ६९ बाट घटेर पाँच सय २१ भएको छ । चीन र म्यान्मारपछि बेलारुस ‘विश्वका तीन सबैभन्दा ठुला कारागारमध्ये एक’ का रूपमा सामेल भएको छ ।
टर्की र इरानले बारम्बार पत्रकारलाई कारागारमा हाल्ने गरेको प्रतिवेदनमा उल्लेख छ । इरानले कुल ५४ पत्रकारलाई बन्धक बनाएको छ । यो सङ्ख्या सन् २०२२ मा ६५ थियो । (रासस/एएफपी)