काठमाडौं । भारतको जोगवनीमा एक नेपाली युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।
Advertisement
विराटनगर महानगरपालिका–८ मधुमाराका करिब २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा गोली प्रहार भएको हो।
बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए।
संग्रौलाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
दैनिक उपभोग्य खाद्यवस्तु खरिदका लागि जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन्।
गोली लागेर घाइते भएका संग्रौलालाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी कोशी अस्पताल ल्याएको हो।
घटना भारतीय भूमिमा भएकाले घटनाको अनुसन्धान पनि भारतीय प्रहरीले नै गर्ने डीएसपी दाहालले बताए।