काठमाडौं । अमेरिकाको दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर नेपाल आएकी छन्।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा दुई दिने भ्रमणका लागि उनी नेपाल आएकी हुन् ।
एयर इन्डियाको उडानबाट बुधबार बिहान काठमाडौँ आइपुगेकी उनले दुई दिन नेपालमा रहँदा उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ ।
उनको भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने छ।
वरिष्ठ निर्देशक लाउबाचरले यसअघि फागुनको दोस्रो सातामा नै नेपाल भ्रमण गर्ने तयारी थियो । तर त्यसबेला नेपाल सरकारले अमेरिकी जासुसी संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) का निर्देशक (प्रमुख) विलियम्स जोसेफ बर्न्सको भ्रमण रोकिएपछि लाउबाचरको भ्रमण पनि स्थगित भएको थियो ।
लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा काम गरेकी छन् । साथै, उनले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन् ।
लाउबाचर दक्षिण एसिया क्षेत्रलाई हेर्ने अमेरिकी अधिकारी हुन् । उनको पद रियर एडमिरल नेपालको उपरथीसरहको हो ।