काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो । बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानून बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अुनकुल खरिदबिक्री नभएको बताए ।
उनले सेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निस्कर्ष निस्किएको बताए ।
उनले भने, ‘एनसेलको सेयर खरिद बिक्री बारेमा जे जति कोणबाट प्रश्नहरु उठेका छन्, यी गम्भीर र जायज छन् । यसका बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सुक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्छ र यो विषयलाई देश र जनताको हीतमा कानून बमोजिम गर्नुपर्छ भन्ने निस्कर्ष भएको छ । मन्त्रिपरिषद्ले पनि यसमा आवश्यक निर्णय गर्छ । सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ ।’