धनगढी । कैलाली कञ्चनपुर क्षेत्रमा नेपाल–भारत सीमास्तम्भ मर्मत सुरु गरिएको छ । सशस्त्र प्रहरी बल र भारतीय अर्धसैनिक एसएसबीले सीमास्तम्भ मर्मत सुरु गरेका हुन् ।
सोमबार कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा एक कार्यक्रमकाबीच नेपाल र भारत दुवैतर्फका अधिकारीहरुले संयुक्त रुपमा सीमास्तम्भ मर्मत सम्भार तथा रङ्गरोगन गर्ने कार्य सुरु गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले सशस्त्र प्रहरीले जिम्मेवारी पाएसँगै पहिलो पटक अन्तर्राष्ट्रिय सीमास्तम्भको मर्मत सम्भार गर्ने कार्य भइरहेको बताए ।
उनका अनुसार बिजोर सीमास्तम्भ नेपाल र जोर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले मर्मत गर्नेछ । कैलालीमा १०३ र कञ्चनपुरमा ६६ स्तम्भ मर्मत गरिने छन् ।
सन् २०१४ मा निर्माण भएका स्तम्भ मात्रै मर्मत गरिने सशस्त्र प्रहरीले जनाएको छ। कञ्चनपुरमा ३०९ सीमास्तम्भ छन्। जसमा मुख्य सीमास्तम्भ ६४, सहायक सीमास्तम्भ २२२ र सानो सीमास्तम्भ १०४ छन्।
कञ्चनपुरमा रंगरोगन गर्नु पर्ने स्तम्भ ३०, सामान्य मर्मत गर्नु पर्ने १६, मध्यमस्तरको मर्मत गर्नु पर्ने १७ र पूर्ण रुपमा मर्मत गर्नु पर्ने ३ रहेका छन्।
मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते सीमास्तम्भको निर्माण, मर्मत सम्भार र पुनर्स्थापना गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ।
