काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी थुनामै रहने भएका छन्। उच्च अदालत पाटनले शुक्रबार यस्तो आदेश गरेको हो।
सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्ने विषयामा २ न्यायाधीशबीच राय बाझिएको छ।
अब तेस्रो न्यायाधीशसमक्ष यो विवाद प्रस्तुत गरिनेछ।
पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा छाड्ने आदेश गरेका छन् भने त्यसमा न्यायाधीश प्रकाश खरेलले
असहमति जनाउँदै थुनामै राख्नुपर्ने आदेश गरेका छन् । अर्को आदेश नभएसम्म खाँण पनि थुनामै रहनेछन्।
यो प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, आङटावा शेर्पा पनि थुनामै राख्न उच्च अदालतले भनेको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन्।
रायमाझीका छोरा सन्दीपसँग भने ३० लाख धरौटी माग भएको छ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख धरौटी मागिएको छ। टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन्।
रामशरण केसीसँग १५ लाख धरौटी माग भएको छ।