काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगबाट स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ। राजनीतिक दल दर्ता भए पश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरिनेछ भने पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ।
यस्तै, पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ। पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।
माघ ११ गते विहान ९:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म मतदानको कार्य सञ्चालन हुनेछ।
६ वर्षे अवधि पूरा गरेका २० सिट आगामी फागुन २० देखि रिक्त हुँदैछन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सबैभन्दा बढी ८, कांग्रेस ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ र एक जना स्वतन्त्र र अर्का एक जना राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल समाप्त हुँदैछ।