काठमाडौं । नेकपा (मसाल) ले इजरायलमा विद्रोही हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे जनतालाई अवगत गराउन सरकारसँग माग गरेको छ ।
अन्य देशका बन्दी रिहाई भइसकेको र युद्धविराम भएको लामो समयसम्म पनि विपिनको रिहाइ नभएकोबारे मसालले प्रश्न उठाएको हो ।
प्रवक्ता रामप्रकाश पुरीले बुधबार प्रेशित गर्नुभएको वक्तव्यमा आफ्ना नागरिकको रिहाइका लागि परिणाममुखी प्रयत्न गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।
वक्तव्य मा भनिएको छ :
“इजरायल र प्यालेस्टाइनले अहिले भएको युद्ध विरामको अवधिमा एकअर्काको कब्जामा रहेका आफ्ना र विभिन्न देशका नागरिकहरुलाई मुक्त गर्ने सन्दर्भमा युद्धको सुरूवातबाट नै हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई अहिलेसम्म मुक्त गरिएको छैन । विभिन्न देशका नागरिक मुक्त भइरहेको सन्दर्भमा विपिन जोशी मुक्त नहुनु धेरै र गम्भीर चिन्ताको विषय हो ।
उनको अवस्था के–कस्तो छ र उनको रिहाइको लागि के–कस्ता प्रयत्न भइरहेका छन् ? उनको रिहाइ किन हुन सकिरहेको छैन भन्ने बारे सरकारले नेपाली जनतालाई अवगत गराउनु पर्दछ । नेपाल सरकारले आफ्नो नागरिक (विपिन जोशी)को रिहाइको लागि उच्च पहलकदमी गर्नुपर्ने आवश्यकता देखिन्छ र त्यस विषयमा ठोस र परिणाममुखी कदम उठाउनका लागि हामीले सरकारको गम्भीर ध्यान आकर्षित गर्दछौँ ।’
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन सम्पर्कविहीन भएका थिए ।”