• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगमनका झिल्का : लोकतान्त्रिक शक्ति एक हौँ !


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    यो साता जनआन्दोलन र जनताको बलिदानबाट प्राप्त उपलब्धिमाथि ठाडो चुनौतीी दिँदै प्रतिगमनका झिल्का सडकमा उछिट्टिएर आए । काठमाडौँमा दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि प्रदर्शन गरिरहेका छन् । ९ गते झापामा एउटा कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिकको अनावरण गर्ने बहानामा पूर्वराजा ज्ञानेन्द्र शाह आफैले प्रदर्शनी देखाए । सुदूरपश्चिममा सहिद भीमदत्त पन्तको शालिक तोडफोड गर्ने काम राजावादीले गरे । यसरी सत्ताहीन राजावादी र रजौटाको प्रतिगमनका झिल्का गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध लक्षित भएर सडकमा उछिट्टिएका छन् । यदि उनीहरू २०५९ सालको अवस्थामा हुने थिए भने उनीहरूले यति बेलासम्म गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरिसकेका हुने थिए वा संविधानलाई कुल्चिसकेका हुने थिए ।

    २०१७ र २०५९ राजाहरूले संविधान कुल्चिएका इतिहासका विषाक्त कालखण्ड हुन् । राजाहरूको शक्तिको अतिक्रमण गरेर राणाशासक शक्तिशाली भएका थिए । त्यसका बलमा उनीहरूले जनतालाई अधिकारविहीन बनाउने योग्यता राख्दथे तर राणाशासकको चपेटामा परेर सुकेनास पर्न गएका शाही राजाहरू भने जनताको बलिदानको भरमा फक्रिन पाएका थिए । त्यसपछि ती राजाहरूले जनताको बलिदानको बारम्बार सिकार गर्ने योग्यता देखाएका थिए । त्यसरी राजनीतिमा शाही राजा र राणाको बिचको मौलिक अन्तर सत्ता र शक्ति अतिक्रमणसित सम्बन्धित छ । राणाहरूले राजाहरूको सत्ता र शक्तिको व्यापक अतिक्रमण गरेका थिए भने शाही राजाहरूले जनताको बलिदानबाट स्थापित प्रजातन्त्र वा लोकतन्त्र नै समाप्त गरेका थिए । यसरी प्रजातन्त्र वा लोकतन्त्रको लागि शाही राजाहरू नै सधैँ खतरा बनिरहे ।

    इतिहासको समय फर्केर आउँदैन तर घटना पुनरावृत्ति भएर आउँछन् । पूर्वीय सभ्यतामा पौराणिक कालदेखि नै यस प्रकार विचार गरिँदै आएको छ । महाभारतमा इतिहास फर्केर आउँदैन तर घटना पुनरावृत्ति भएर आउँछन् भनेर गहन विचार गरिएको छ । महाभारत कालीन समाजपछि पनि त्यो विषयप्रति गम्भीर चिन्तन र विचार हुँदै आएको छ । नेपालमा २०१७ सालको घटनाको पुनरावृत्ति भएर २०५९ सालमा प्रतिगमनको रूपमा प्रस्तुत भएको थियो । यसरी घटना दोहोरिएर आउँछन् भन्ने कुराको हेक्का नेपाली राजनीतिले गहनतापूर्वक राख्नुपर्दछ ।

    नेपालमा लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास हुन सकेको छैन । विभिन्न प्रतिक्रियावादी शक्तिले चलखेल गरेर लोकतन्त्र वा गणतन्त्रको संस्थागत विकासमा बाधा पुर्‍याउँदै आएका छन् । खास गरेर लोकतन्त्र वा गणतन्त्रमा शासन सञ्चालन गर्ने पक्षले प्रतिगामी तत्त्वलाई त्यस प्रकारको अवसर प्रदान गरेका छन् ।

    लोकतन्त्र प्राप्तपछि जनआन्दोलनका जघन्य अपराधीलाई कारबाही गर्नू भनी सिफारिस भएका तत्त्वलाई छुट दिनु प्रतिगामी तत्त्वका लागि उत्साहपूर्ण कुरा हो । उनीहरूले लोकतन्त्रको यस प्रकारको कमजोरीमाथि टेकेर प्रतिगामी गतिविधि गर्ने अवसर पाएका छन् । प्रतिगामी तत्त्वलाई टाउको उठाउन दिने अवसर लोकतन्त्रका शासकवर्गले दिँदै आएका छन् । जनताले चाहेजतिको परिवर्तन र विकास तत्कालका लागि सम्भव नभए पनि क्रमश: परिवर्तन र विकासको आधार भने निर्माण गर्न सकिने अवस्था छ । देशमा भएको साधनस्रोत र जनशक्तिमाथि निर्भर रहेर निर्भयका साथ देशमा परिवर्तन र विकास गर्न सकिन्छ । लोकतन्त्र अनुकूलका संरचना निर्भर गरेर सामाजिक विकासलाई विकसित पुँजीवादी मुलुकको दाँजोमा पुर्‍याउन सकिन्छ तर ती कार्य लोकतन्त्रमा बनेका कुनै पनि सरकारले अगाडि बढाउन सकेनन् ।

    अहिले राजावादीले जुन शक्ति प्रदर्शन गर्न खोजेका छन्, त्यसबाट उनीहरूले जनताको त्याग, सङ्घर्ष र बलिदानप्रति कति धेरै पूर्वाग्रह राख्दछन् भन्ने कुराको सहज अनुमान गर्न सकिन्छ । सरकार वा शासकले गर्ने गल्ती वा कमजोरीलाई उनीहरूले पूरै जनताको बलिदानद्वारा भएको परिवर्तनलाई नै गलत बताएर प्रतिगमन ल्याउन चाहन्छन् । प्रतिगमन वा प्रतिक्रान्तिका परिणाम तिनै पुनरावृत्तिसित सम्बन्धित हुन्छन् ।

    नेपालमा प्रतिगमनको कुरा हुँदा नेकपा (मसाल) ले २०४६ सालको जनआन्दोलनद्वारा स्थापना भएको बहुदलीय व्यवस्थापछि लगत्तै देशमा प्रतिगमनको खतरा रहेको कुरा स्पष्ट गरेको थियो । सामान्य राजनीतिक दृष्टिकोणबाट त्यो कुरा एउटा कल्पना जस्तो थियो र पत्याउन मुस्किल थियो तर दूरगामी राजनीतिक दृष्टिकोणबाट त्यो उच्च र वास्तविक तथ्यमाथि आधारित राजनीतिक विश्लेषण थियो । त्यो कुरा पुष्टि हुनका लागि करिब १४ वर्ष लाग्यो अर्थात् २०५९ मा राजाले प्रतिगमन गरे र बहुदलीय व्यवस्था सङ्कटमा पर्न गयो । त्यसरी प्रतिगमन भइसकेपछि त्यसलाई परास्त गर्नको लागि देशमा ठुलो बलिदानी भयो । त्यो बलिदानीको जगमा देशमा अढाइ सय वर्षदेखि कायम रहेको राजतन्त्रको अन्त्य भयो र लोकतान्त्रिक गणतन्त्र युगको सुरुआत भयो । त्यसरी जनतको सङ्घर्षले राजतन्त्रको अन्त्य भएको थियो तर अढाइ सय वर्षदेखि देशमा जरा गाडेर बसेको राजतन्त्रको सामन्ती जरा सजिलै सुक्न सम्भव थिएन । त्यो विभिन्न तरिकाले पल्लवित हुन अवश्य पनि प्रयत्नशील थियो र छ । यत्ति कुरा बुझ्न नेपाली राजनीतिक जगत् समर्थ नहुनु लोकतन्त्र वा गणतन्त्रको लागि विडम्बना हो । त्यही बिडम्बनाको जगमा टेकेर प्रतिगामी वा राजावादीले प्रतिगमनका लागि प्रयत्न गरिरहेका छन् ।

    राजावादीले पहिले देशको अग्रगमनका लागि कहिल्यै कुनै योगदान दिएका छैनन् । उनीहरूको मुख्य सन्तुष्टि भनेको राजसंस्था हो । राजालाई स्थापना गरिसकेपछि उनीहरूका सम्पूर्ण लक्ष्य पूरा हुन्छन् । उनीहरूले जनतालाई मौलिक अधिकारबाट बञ्चित तुल्याएर आफ्नो दुनो सोझ्याउने उनीहरूको त्यो सरल उपाय वर्षौंदेखि कायम थियो । राजसंस्थाको वरिपरि रहेको एउटा ठुलो जुकावर्ग—जसमा अधिराजकुमार, शाहज्यादा, बडागुरु, गुरु, राजसभा, राज्यका उच्चपदस्थ व्यक्ति, जो राजपरिवारभित्रका हुन्थे—ले देशका लागि योगदान वा बिनाभूमिका नै राज्यढुकुटीको दोहन गर्दथे । संविधानमा नै राजा, राजपरिवार र राजसंस्थाको विषयमा कहिँ कतै प्रश्न उठाउन नमिल्ने भएपछि शान्तपूर्वक खान पल्केको जुकावर्गले जनताको शक्ति स्थापित नहोस् भनेर कामना गर्नु स्वभाविक छ । त्यसका साथै त्यो जुकावर्गको छत्रछायामा पोषित राजावादी वर्गलाई पनि विभिन्न सुविस्ता मिल्ने गरेकाले उनीहरूले पनि राजसंस्थाको अपरिहार्यताको कामना गरिरहन्थे तर त्यो कामनालाई २०६२–६३ सालको जनआन्दोलनले धेरै हदसम्म समाप्त गरिदियो ।

    एउटा सानो वर्ग, जो वास्तविक रूपमा जनविरोधी थियो र शाहीभक्त भएर जनताको बिचमा विचरण गर्दथ्यो । जनताको लामो सङ्घर्ष र बलिदानबाट त्यो सानो वर्गको रजगजमा पूर्णविराम लाग्न पुग्यो । त्यसरी शाही कत्थाले मुख रातो बनाउन पल्केका राजतन्त्रवादी निहत्था र शक्तिहीन भएर सडकमा पछारिन पुगेपछि नयाँ परिवर्तनप्रति उनीहरूको सर्वदा कुदृष्टि रहनु स्वाभाविक छ । त्यसैले उनीहरू जहाँ प्रवेश गरे पनि जनताले ल्याएको परिवर्तनलाई दूषित बनाउनका लागि नै उद्यत रहँदै आएका छन् । उनीहरू लोकतान्त्रिक वा कतिपय अवस्थामा वामपन्थी शक्तिभित्र प्रवेश गरेर पनि लोकतन्त्रलाई नै सिध्याउने ध्याउन्नमा रहँदै आएका छन् । त्यसैले आज लोकतान्त्रिक शक्तिको प्रजातान्त्रिक आवाज धारिलो नहुनुमा पनि प्रतिगामी घुसपैठको कारण हो ।

    त्यही सानो वर्ग आज देशमा प्रतिगामी नृत्यको लागि रङ्गमञ्चमा उक्लिएको छ । त्यो नृत्यका प्रत्येक बान्कीमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोध प्रकट भइरहेको छ । यसलाई चिन्न र बुझ्न धेरैलाई सम्भव भएको छैन । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको गम्भीर अर्थलाई नबुझ्दा र आफ्ना तात्कालिक आवश्यकता र स्वार्थ पूरा गर्ने मनोरोगको वशमा पर्दा देशमा निरङ्कुश शक्तिले टाउको उठाउन थाल्छन् । आज देशमा त्यही भइरहेको छ । देशमा परिवर्तन ल्याउनका लागि अहोरात्र खटिएका लोकतान्त्रिक तथा वामपन्थी शक्तिमा आएको विचलन र नैतिक ह्रासले गर्दा राजावादीले ज्योतिषशास्त्रको प्रयोग गर्न थालेका छन् ।

    पछिल्लो समयमा देशको राजनीतिको ताल्चा कुनै न कुनै अवस्थामा लोकतान्त्रिक वा वामपन्थी शक्तिको हातमा नै रहेको छ । उनीहरूले नै सरकार र सत्ता सञ्चालन गर्दै आएका छन् । देशमा विकास र समृद्ध हुन्थ्यो भने त्यसको जस पनि तिनीहरूले नै पाउन सक्दथे तर देश भड्खालोतिर लागेकाले त्यसको अपजस पाउने पनि तिनीहरू नै हुने छन् । जसअपजसको समय भनेको सम्पूर्ण शक्ति आफैमा छ भन्ने कुराको अर्थ खुल्नु हो अर्थात् अहिले देशको सार्वभौमसत्ताको सञ्चालन लोकतान्त्रिक र वामपन्थी शक्तिले गर्दछन् । उनीहरूले जस वा अपजसमध्ये कुन प्राप्त गर्ने हुन् ? त्यो उनीहरूको कार्यशैलीमा निर्भर हुन्छ । अहिले अपजसको समय मात्र नभएर प्रतिगमनको समेत खतरा रहेकाले त्यस प्रकारको अवस्थामा स्थितिलाई सुधार गरेर लैजान कठिनाइ पर्दछ तर पनि धैर्यता र अग्रगामी सामथ्र्यबाट प्रतिगामी प्रयत्नलाई असफल पार्न सम्भव हुन्छ र देशलाई अग्रगामी दिशामा लैजान सकिन्छ । त्यो गर्न सकिन्छ तर त्यसो गर्नका लागि अहिले सत्ता वा सरकारमा रहेका वा लोकतान्त्रिक मूल्यलाई स्वीकार गर्ने प्रतिपक्षमा रहेका शक्तिसमेतमा देशलाई अग्रगामी दिशामा लैजाने चेतना जागृत हुनुपर्दछ ।

    प्रतिगामीहरू देशको राजनीतिमा कति बेला हाबी हुन्छन् भन्ने कुरालाई हामीले २०१७ सालको घटनाप्रति सामान्य दृष्टि लगाउन सक्यौँ भने पनि सजिलै बुझ्न सक्दछौँ । वास्तवमा २०१७ सालको अवधि शाह र राणाबाट शताब्दीयौँ लुटिएको माटोमा जनताका अतृप्त चाहनालाई तृप्त पार्ने तृप्तवृक्ष चाहिने आवश्यकताको अवधि थियो । जनताबाट निर्वाचित सरकारका लागि हुने चुनौती भनेको नै जनताका अतृप्त चाहनालाई तुरुन्त तृप्त पार्ने हो । तत्कालै जनताका अतृप्त चाहनालाई तृप्त पार्न कुनै पनि सरकार वा व्यवस्थाका लागि सम्भव हुँदैन । सोभियत सङ्घमा पनि त्यस्तै भएको थियो । एकातिर, क्रान्ति धूलिधुस भएर विजयमा टुङ्गिएको थियो; पुनर्निर्माणको भारी कार्य बाँकी नै थियो; देशलाई उठाउन कैयौँ वर्ष लाग्नेवाला थियो; अर्कोतिर, क्रान्ति र कम्युनिस्टले जनताका आवश्यकता ठाउँका ठाउँमै सम्बोधन गर्दछन् वा समाधान गरिदिन्छन् भन्ने मनोविज्ञानले काम गरेको थियो तर तत्कालका लागि त्यो सम्भव थिएन । त्यसबाट जनता निराश भएका थिए भने काल्पनिक समाजवादी त झन् पलायन नै भएका थिए ।

    नेपालको २०१७ सालको अवधि पनि त्यसरी गुज्रिरहेको थियो । राजा आफूमा शक्तिकेन्द्रित गर्नका लागि षड्यन्त्र र प्रपञ्च रचिरहेका थिए । सत्ता गुमाएका राणाहरू पनि जनताको शक्तिभन्दा राजाको नै शक्ति बलियो भएमा आफ्नो फाइदा हुन्छ भन्ने कुरा बुझ्दथे । सत्तामा नयाँ भएर आएको काङ्ग्रेसको लागि धेरै कुरा दुर्गम बन्न गएका थिए । त्यसले गर्दा काङ्ग्रेसले सत्ता पनि राम्रोसँग सञ्चालन गर्न सकेको थिएन । स्वयम् काङ्ग्रेसभित्रका स्वार्थीहरू नै देश डुबाउने अभियानमा लम्पट भएका थिए । देशका विभिन्न भागमा शान्तिसुरक्षामा पनि समस्या देखा परेको थियो । विदेशीसित गरिने सन्धिसम्झौतामा पनि नेपालको हात तल परिरहेको थियो । त्यो अवस्थामा राजाले देशको भ्रमण गरे । त्यो भ्रमण आफ्नो सरकारलाई सुदृढ तुल्याउनका लागि थिएन, त्यो सरकारप्रति जनतामा घृणा उत्पन्न गराएर प्रजातान्त्रिक व्यवस्थालाई समाप्त पार्ने र आफ्नो निरङ्कुश विरासत कायम गराउने उद्देश्य थियो । राजा त्यो उद्देश्यमा पूरा सफल भए र अन्तमा २०१७ पुस १ गते ‘कू’ गरेर शक्ति आफ्नो हातमा लिए । यसरी राजाले पहिले राजनीतिक दललाई बदनाम गराएर आफूमा शक्ति केन्द्रित गरिसकेपछि जनतालाई कहिल्यै पनि प्रजातन्त्र दिएनन् र अन्य अधिकार पनि जनताले पाएनन् । पञ्चायतका ३० वर्षको अनुभवबाट पनि राजा को थिए र २०५९ सालमा उनी पुन: कुन रूपमा प्रकट भएका थिए भन्ने प्रश्नको उत्तर खोज्दा पनि प्रतिगामीको हावी हुने अवस्था पत्ता लाग्दछ ।

    अहिले देशमा जुन प्रकारले शासनसत्ता चलेको छ, त्यसलाई कुशासन नै भन्न सकिने अवस्था छ । भ्रष्टाचारले सीमा नाघेको अवस्था छ । सहकारीका नाममा सहकारी माफियाले ठुलो ठगिधन्दा गरेका छन् भन्ने कुरा केही सहकारी संस्थाको नमुनाबाट पुष्टि भइसकेको छ । हजार, लाख, करोड होइन, उनीहरूले अरबौँ ठगी गरेका कुरा सार्वजनिक भएका छन् । प्रशासनिक भ्रष्टाचार पनि धेरै नै मौलाएको छ । स्वास्थ्य क्षेत्र माफियाले कब्जा गरेका छन् र त्यहाँ अस्पतालका नाममा ठुलो लुट भइरहेको छ । शैक्षिक क्षेत्रमा शैक्षिक माफियाले कब्जा गरेका छन् र उनीहरूले राज्यको शैक्षिक क्षेत्रलाई निकम्मा बनाइदिएका छन् र एकलौटी रूपमा जनतालाई ठुलो मात्रमा लुट गरिरहेका छन् । सम्पूर्ण देश माफियाबाट सञ्चालित भइरहेको आभास हुन्छ । राजनीतिक कार्यकर्ता नैतिक आचरण गुमाएर माफियासँग मिलेर ठगी वा भ्रष्टाचार गरिरहेका छन् । विकासका निम्ति छुट्याइएको बजेट भ्रष्टाचारीको मुख टाल्दाटाल्दै समाप्त हुने गरेका छन् ।

    देशमा बेरोजगारी छ । देशको श्रमशक्ति विदेशमा पलायन भइरहेको छ । राज्यका विश्वविद्यालय बन्द हुँदै वा मर्ज हुँदै गइरहेका छन् । राज्यका नाममा कुनै पनि उद्योग छैन । राज्यले नागरिकलाई सहुलियतमा उपचार गराउने अस्पतालको स्थापना गर्न सकेको छैन । माफियालाई मनपरी गर्ने अधिकार रहेको छ । नाफाखोर र ब्याजखोरले जनतालाई लुटिरहेका छन् । त्यो अवस्थामा निहत्था जनतामा असन्तोष पैदा हुनु स्वाभाविक हुन्छ । अहिले जनतामा त्यही प्रकारको असन्तोष र वितृष्णा पैदा भएको छ । राज्य वा सरकारप्रति जनताले भरोसा गुमाएको अवस्था छ । त्यसैले जनतामा नैराश्यता वा नकारात्मकताले बढी स्थान लिएको छ । यही अवस्थाको अवसर अहिले राजावादी वा प्रतिगामीले लिन खोजेका छन् ।

    आफ्नो हातमा सत्ता आएपछि यिनीहरूले गर्ने काम पनि त्यही नै हो; जस्तो कि उनीहरूले सम्पूर्ण विगत अर्थात् करिब अढाइ सय वर्षदेखि जनताको शोषण गर्दै आएका थिए र जनतालाई अधिकारविहीन तुल्याएका थिए तर त्यसको नकारात्मक र सोझो असर जनताका आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि पर्न गएको छ जसका कारणले प्रतिगामी हाबी हुने र जनआन्दोलनका उपलब्धि गुम्ने खतरा पैदा भएको छ ।

    निश्चय पनि गणतन्त्र लागु भइसकेपछि त्यसअन्तर्गतका शासक दल वा वर्गबाट देशका लागि सन्तोषजनक काम हुन सकेको छैन । कतिपय अवस्थामा आफ्नो दलीय वा व्यक्तिगत स्वार्थको लागि संविधानका सर्वोच्च महत्त्वका विषयलाई तिलाञ्जली दिने गरी कदम उठाउने कामसमेत भएका छन् । केपी ओलीले त्यस प्रकारको कार्य गरेका थिए । उनले प्रतिगमनतर्फ उचालेको कदमले आज देशको स्थितिलाई धेरै गम्भीर अवस्थामा पुर्‍याएको छ । उनको त्यो कार्यशैलीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रतिगामीलाई नै मदत पुगेको छ । उनले कतिपय अवस्थामा प्रतिगामीसित साँठगाँठ पनि गर्ने गरेका छन् र विद्यमान गणतन्त्र र धर्मनिरपेक्षता पक्षधरसित इबी साँध्ने गरेका छन् । वर्तमान सरकार पनि समस्याको समाधान गर्नेतर्फ सन्तोषजनक प्रकारले अग्रसर भएको देखिँदैन । शासक दल वा वर्गबाट भएका त्यस प्रकारका गम्भीर गल्ती वा कमजोरीका कारण जनतामा असन्तोष पैदा भएको छ । जनतामा राजनीतिक क्षमताको स्तर धेरै न्यून भएकाले त्यसको फाइदा प्रतिगामीले लिन सक्ने सम्भावना रहेको छ । त्यसैगरी कतिपय वामपन्थी सङ्गठनले पनि वर्तमान गणतन्त्र र धर्मनिरपेक्षताको प्रगतिशील महत्त्वलाई कम आँक्ने गरेको पाइन्छ । उनीहरूले पनि वर्तमान गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गरेर प्रतिगामीको अभियानलाई मदत पुग्ने गरेको छ ।

    माथिका सबै खराब पक्षको अवस्थामा पनि, सरकार वा सरकार सञ्चालन गर्ने दल वा विभिन्न राजनीतिक दल जतिसुकै भ्रष्ट भए पनि त्यो अवस्थामा राम्रो र सुशासन दिने सरकार अगाडि आउन सक्दछ । कुनै राजनीतिक दल विघटन भई समाप्त हुन सक्दछ र नयाँ राजनीतिक सङ्गठनले ठाउँ लिन सक्दछन् र उनीहरूले लोकतन्त्र र गणतन्त्रको अनुकूल देशमा सुधार वा विकास ल्याउन सक्दछन् । त्यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न र यदि त्यस्तो हुन्छ भने पनि त्यो लोकतन्त्र वा गणतन्त्रअनुकूल नै हुन्छ तर लोकतन्त्र र गणतन्त्रको विकल्पमा कहिल्यै पनि प्रतिगमन हुन सक्दैन । त्यसैले प्रतिगमनलाई पूर्ण रूपले असफल पारिनुपर्दछ र पार्नु पनि पर्दछ । त्यसका लागि सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रका शक्तिबिच ऐक्यबद्धता कायम हुन जरुरी छ ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.