रामप्रकाश पुरी ##
यो साता जनआन्दोलन र जनताको बलिदानबाट प्राप्त उपलब्धिमाथि ठाडो चुनौतीी दिँदै प्रतिगमनका झिल्का सडकमा उछिट्टिएर आए । काठमाडौँमा दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि प्रदर्शन गरिरहेका छन् । ९ गते झापामा एउटा कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिकको अनावरण गर्ने बहानामा पूर्वराजा ज्ञानेन्द्र शाह आफैले प्रदर्शनी देखाए । सुदूरपश्चिममा सहिद भीमदत्त पन्तको शालिक तोडफोड गर्ने काम राजावादीले गरे । यसरी सत्ताहीन राजावादी र रजौटाको प्रतिगमनका झिल्का गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध लक्षित भएर सडकमा उछिट्टिएका छन् । यदि उनीहरू २०५९ सालको अवस्थामा हुने थिए भने उनीहरूले यति बेलासम्म गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरिसकेका हुने थिए वा संविधानलाई कुल्चिसकेका हुने थिए ।
२०१७ र २०५९ राजाहरूले संविधान कुल्चिएका इतिहासका विषाक्त कालखण्ड हुन् । राजाहरूको शक्तिको अतिक्रमण गरेर राणाशासक शक्तिशाली भएका थिए । त्यसका बलमा उनीहरूले जनतालाई अधिकारविहीन बनाउने योग्यता राख्दथे तर राणाशासकको चपेटामा परेर सुकेनास पर्न गएका शाही राजाहरू भने जनताको बलिदानको भरमा फक्रिन पाएका थिए । त्यसपछि ती राजाहरूले जनताको बलिदानको बारम्बार सिकार गर्ने योग्यता देखाएका थिए । त्यसरी राजनीतिमा शाही राजा र राणाको बिचको मौलिक अन्तर सत्ता र शक्ति अतिक्रमणसित सम्बन्धित छ । राणाहरूले राजाहरूको सत्ता र शक्तिको व्यापक अतिक्रमण गरेका थिए भने शाही राजाहरूले जनताको बलिदानबाट स्थापित प्रजातन्त्र वा लोकतन्त्र नै समाप्त गरेका थिए । यसरी प्रजातन्त्र वा लोकतन्त्रको लागि शाही राजाहरू नै सधैँ खतरा बनिरहे ।
इतिहासको समय फर्केर आउँदैन तर घटना पुनरावृत्ति भएर आउँछन् । पूर्वीय सभ्यतामा पौराणिक कालदेखि नै यस प्रकार विचार गरिँदै आएको छ । महाभारतमा इतिहास फर्केर आउँदैन तर घटना पुनरावृत्ति भएर आउँछन् भनेर गहन विचार गरिएको छ । महाभारत कालीन समाजपछि पनि त्यो विषयप्रति गम्भीर चिन्तन र विचार हुँदै आएको छ । नेपालमा २०१७ सालको घटनाको पुनरावृत्ति भएर २०५९ सालमा प्रतिगमनको रूपमा प्रस्तुत भएको थियो । यसरी घटना दोहोरिएर आउँछन् भन्ने कुराको हेक्का नेपाली राजनीतिले गहनतापूर्वक राख्नुपर्दछ ।
नेपालमा लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास हुन सकेको छैन । विभिन्न प्रतिक्रियावादी शक्तिले चलखेल गरेर लोकतन्त्र वा गणतन्त्रको संस्थागत विकासमा बाधा पुर्याउँदै आएका छन् । खास गरेर लोकतन्त्र वा गणतन्त्रमा शासन सञ्चालन गर्ने पक्षले प्रतिगामी तत्त्वलाई त्यस प्रकारको अवसर प्रदान गरेका छन् ।
लोकतन्त्र प्राप्तपछि जनआन्दोलनका जघन्य अपराधीलाई कारबाही गर्नू भनी सिफारिस भएका तत्त्वलाई छुट दिनु प्रतिगामी तत्त्वका लागि उत्साहपूर्ण कुरा हो । उनीहरूले लोकतन्त्रको यस प्रकारको कमजोरीमाथि टेकेर प्रतिगामी गतिविधि गर्ने अवसर पाएका छन् । प्रतिगामी तत्त्वलाई टाउको उठाउन दिने अवसर लोकतन्त्रका शासकवर्गले दिँदै आएका छन् । जनताले चाहेजतिको परिवर्तन र विकास तत्कालका लागि सम्भव नभए पनि क्रमश: परिवर्तन र विकासको आधार भने निर्माण गर्न सकिने अवस्था छ । देशमा भएको साधनस्रोत र जनशक्तिमाथि निर्भर रहेर निर्भयका साथ देशमा परिवर्तन र विकास गर्न सकिन्छ । लोकतन्त्र अनुकूलका संरचना निर्भर गरेर सामाजिक विकासलाई विकसित पुँजीवादी मुलुकको दाँजोमा पुर्याउन सकिन्छ तर ती कार्य लोकतन्त्रमा बनेका कुनै पनि सरकारले अगाडि बढाउन सकेनन् ।
अहिले राजावादीले जुन शक्ति प्रदर्शन गर्न खोजेका छन्, त्यसबाट उनीहरूले जनताको त्याग, सङ्घर्ष र बलिदानप्रति कति धेरै पूर्वाग्रह राख्दछन् भन्ने कुराको सहज अनुमान गर्न सकिन्छ । सरकार वा शासकले गर्ने गल्ती वा कमजोरीलाई उनीहरूले पूरै जनताको बलिदानद्वारा भएको परिवर्तनलाई नै गलत बताएर प्रतिगमन ल्याउन चाहन्छन् । प्रतिगमन वा प्रतिक्रान्तिका परिणाम तिनै पुनरावृत्तिसित सम्बन्धित हुन्छन् ।
नेपालमा प्रतिगमनको कुरा हुँदा नेकपा (मसाल) ले २०४६ सालको जनआन्दोलनद्वारा स्थापना भएको बहुदलीय व्यवस्थापछि लगत्तै देशमा प्रतिगमनको खतरा रहेको कुरा स्पष्ट गरेको थियो । सामान्य राजनीतिक दृष्टिकोणबाट त्यो कुरा एउटा कल्पना जस्तो थियो र पत्याउन मुस्किल थियो तर दूरगामी राजनीतिक दृष्टिकोणबाट त्यो उच्च र वास्तविक तथ्यमाथि आधारित राजनीतिक विश्लेषण थियो । त्यो कुरा पुष्टि हुनका लागि करिब १४ वर्ष लाग्यो अर्थात् २०५९ मा राजाले प्रतिगमन गरे र बहुदलीय व्यवस्था सङ्कटमा पर्न गयो । त्यसरी प्रतिगमन भइसकेपछि त्यसलाई परास्त गर्नको लागि देशमा ठुलो बलिदानी भयो । त्यो बलिदानीको जगमा देशमा अढाइ सय वर्षदेखि कायम रहेको राजतन्त्रको अन्त्य भयो र लोकतान्त्रिक गणतन्त्र युगको सुरुआत भयो । त्यसरी जनतको सङ्घर्षले राजतन्त्रको अन्त्य भएको थियो तर अढाइ सय वर्षदेखि देशमा जरा गाडेर बसेको राजतन्त्रको सामन्ती जरा सजिलै सुक्न सम्भव थिएन । त्यो विभिन्न तरिकाले पल्लवित हुन अवश्य पनि प्रयत्नशील थियो र छ । यत्ति कुरा बुझ्न नेपाली राजनीतिक जगत् समर्थ नहुनु लोकतन्त्र वा गणतन्त्रको लागि विडम्बना हो । त्यही बिडम्बनाको जगमा टेकेर प्रतिगामी वा राजावादीले प्रतिगमनका लागि प्रयत्न गरिरहेका छन् ।
राजावादीले पहिले देशको अग्रगमनका लागि कहिल्यै कुनै योगदान दिएका छैनन् । उनीहरूको मुख्य सन्तुष्टि भनेको राजसंस्था हो । राजालाई स्थापना गरिसकेपछि उनीहरूका सम्पूर्ण लक्ष्य पूरा हुन्छन् । उनीहरूले जनतालाई मौलिक अधिकारबाट बञ्चित तुल्याएर आफ्नो दुनो सोझ्याउने उनीहरूको त्यो सरल उपाय वर्षौंदेखि कायम थियो । राजसंस्थाको वरिपरि रहेको एउटा ठुलो जुकावर्ग—जसमा अधिराजकुमार, शाहज्यादा, बडागुरु, गुरु, राजसभा, राज्यका उच्चपदस्थ व्यक्ति, जो राजपरिवारभित्रका हुन्थे—ले देशका लागि योगदान वा बिनाभूमिका नै राज्यढुकुटीको दोहन गर्दथे । संविधानमा नै राजा, राजपरिवार र राजसंस्थाको विषयमा कहिँ कतै प्रश्न उठाउन नमिल्ने भएपछि शान्तपूर्वक खान पल्केको जुकावर्गले जनताको शक्ति स्थापित नहोस् भनेर कामना गर्नु स्वभाविक छ । त्यसका साथै त्यो जुकावर्गको छत्रछायामा पोषित राजावादी वर्गलाई पनि विभिन्न सुविस्ता मिल्ने गरेकाले उनीहरूले पनि राजसंस्थाको अपरिहार्यताको कामना गरिरहन्थे तर त्यो कामनालाई २०६२–६३ सालको जनआन्दोलनले धेरै हदसम्म समाप्त गरिदियो ।
एउटा सानो वर्ग, जो वास्तविक रूपमा जनविरोधी थियो र शाहीभक्त भएर जनताको बिचमा विचरण गर्दथ्यो । जनताको लामो सङ्घर्ष र बलिदानबाट त्यो सानो वर्गको रजगजमा पूर्णविराम लाग्न पुग्यो । त्यसरी शाही कत्थाले मुख रातो बनाउन पल्केका राजतन्त्रवादी निहत्था र शक्तिहीन भएर सडकमा पछारिन पुगेपछि नयाँ परिवर्तनप्रति उनीहरूको सर्वदा कुदृष्टि रहनु स्वाभाविक छ । त्यसैले उनीहरू जहाँ प्रवेश गरे पनि जनताले ल्याएको परिवर्तनलाई दूषित बनाउनका लागि नै उद्यत रहँदै आएका छन् । उनीहरू लोकतान्त्रिक वा कतिपय अवस्थामा वामपन्थी शक्तिभित्र प्रवेश गरेर पनि लोकतन्त्रलाई नै सिध्याउने ध्याउन्नमा रहँदै आएका छन् । त्यसैले आज लोकतान्त्रिक शक्तिको प्रजातान्त्रिक आवाज धारिलो नहुनुमा पनि प्रतिगामी घुसपैठको कारण हो ।
त्यही सानो वर्ग आज देशमा प्रतिगामी नृत्यको लागि रङ्गमञ्चमा उक्लिएको छ । त्यो नृत्यका प्रत्येक बान्कीमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोध प्रकट भइरहेको छ । यसलाई चिन्न र बुझ्न धेरैलाई सम्भव भएको छैन । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको गम्भीर अर्थलाई नबुझ्दा र आफ्ना तात्कालिक आवश्यकता र स्वार्थ पूरा गर्ने मनोरोगको वशमा पर्दा देशमा निरङ्कुश शक्तिले टाउको उठाउन थाल्छन् । आज देशमा त्यही भइरहेको छ । देशमा परिवर्तन ल्याउनका लागि अहोरात्र खटिएका लोकतान्त्रिक तथा वामपन्थी शक्तिमा आएको विचलन र नैतिक ह्रासले गर्दा राजावादीले ज्योतिषशास्त्रको प्रयोग गर्न थालेका छन् ।
पछिल्लो समयमा देशको राजनीतिको ताल्चा कुनै न कुनै अवस्थामा लोकतान्त्रिक वा वामपन्थी शक्तिको हातमा नै रहेको छ । उनीहरूले नै सरकार र सत्ता सञ्चालन गर्दै आएका छन् । देशमा विकास र समृद्ध हुन्थ्यो भने त्यसको जस पनि तिनीहरूले नै पाउन सक्दथे तर देश भड्खालोतिर लागेकाले त्यसको अपजस पाउने पनि तिनीहरू नै हुने छन् । जसअपजसको समय भनेको सम्पूर्ण शक्ति आफैमा छ भन्ने कुराको अर्थ खुल्नु हो अर्थात् अहिले देशको सार्वभौमसत्ताको सञ्चालन लोकतान्त्रिक र वामपन्थी शक्तिले गर्दछन् । उनीहरूले जस वा अपजसमध्ये कुन प्राप्त गर्ने हुन् ? त्यो उनीहरूको कार्यशैलीमा निर्भर हुन्छ । अहिले अपजसको समय मात्र नभएर प्रतिगमनको समेत खतरा रहेकाले त्यस प्रकारको अवस्थामा स्थितिलाई सुधार गरेर लैजान कठिनाइ पर्दछ तर पनि धैर्यता र अग्रगामी सामथ्र्यबाट प्रतिगामी प्रयत्नलाई असफल पार्न सम्भव हुन्छ र देशलाई अग्रगामी दिशामा लैजान सकिन्छ । त्यो गर्न सकिन्छ तर त्यसो गर्नका लागि अहिले सत्ता वा सरकारमा रहेका वा लोकतान्त्रिक मूल्यलाई स्वीकार गर्ने प्रतिपक्षमा रहेका शक्तिसमेतमा देशलाई अग्रगामी दिशामा लैजाने चेतना जागृत हुनुपर्दछ ।
प्रतिगामीहरू देशको राजनीतिमा कति बेला हाबी हुन्छन् भन्ने कुरालाई हामीले २०१७ सालको घटनाप्रति सामान्य दृष्टि लगाउन सक्यौँ भने पनि सजिलै बुझ्न सक्दछौँ । वास्तवमा २०१७ सालको अवधि शाह र राणाबाट शताब्दीयौँ लुटिएको माटोमा जनताका अतृप्त चाहनालाई तृप्त पार्ने तृप्तवृक्ष चाहिने आवश्यकताको अवधि थियो । जनताबाट निर्वाचित सरकारका लागि हुने चुनौती भनेको नै जनताका अतृप्त चाहनालाई तुरुन्त तृप्त पार्ने हो । तत्कालै जनताका अतृप्त चाहनालाई तृप्त पार्न कुनै पनि सरकार वा व्यवस्थाका लागि सम्भव हुँदैन । सोभियत सङ्घमा पनि त्यस्तै भएको थियो । एकातिर, क्रान्ति धूलिधुस भएर विजयमा टुङ्गिएको थियो; पुनर्निर्माणको भारी कार्य बाँकी नै थियो; देशलाई उठाउन कैयौँ वर्ष लाग्नेवाला थियो; अर्कोतिर, क्रान्ति र कम्युनिस्टले जनताका आवश्यकता ठाउँका ठाउँमै सम्बोधन गर्दछन् वा समाधान गरिदिन्छन् भन्ने मनोविज्ञानले काम गरेको थियो तर तत्कालका लागि त्यो सम्भव थिएन । त्यसबाट जनता निराश भएका थिए भने काल्पनिक समाजवादी त झन् पलायन नै भएका थिए ।
नेपालको २०१७ सालको अवधि पनि त्यसरी गुज्रिरहेको थियो । राजा आफूमा शक्तिकेन्द्रित गर्नका लागि षड्यन्त्र र प्रपञ्च रचिरहेका थिए । सत्ता गुमाएका राणाहरू पनि जनताको शक्तिभन्दा राजाको नै शक्ति बलियो भएमा आफ्नो फाइदा हुन्छ भन्ने कुरा बुझ्दथे । सत्तामा नयाँ भएर आएको काङ्ग्रेसको लागि धेरै कुरा दुर्गम बन्न गएका थिए । त्यसले गर्दा काङ्ग्रेसले सत्ता पनि राम्रोसँग सञ्चालन गर्न सकेको थिएन । स्वयम् काङ्ग्रेसभित्रका स्वार्थीहरू नै देश डुबाउने अभियानमा लम्पट भएका थिए । देशका विभिन्न भागमा शान्तिसुरक्षामा पनि समस्या देखा परेको थियो । विदेशीसित गरिने सन्धिसम्झौतामा पनि नेपालको हात तल परिरहेको थियो । त्यो अवस्थामा राजाले देशको भ्रमण गरे । त्यो भ्रमण आफ्नो सरकारलाई सुदृढ तुल्याउनका लागि थिएन, त्यो सरकारप्रति जनतामा घृणा उत्पन्न गराएर प्रजातान्त्रिक व्यवस्थालाई समाप्त पार्ने र आफ्नो निरङ्कुश विरासत कायम गराउने उद्देश्य थियो । राजा त्यो उद्देश्यमा पूरा सफल भए र अन्तमा २०१७ पुस १ गते ‘कू’ गरेर शक्ति आफ्नो हातमा लिए । यसरी राजाले पहिले राजनीतिक दललाई बदनाम गराएर आफूमा शक्ति केन्द्रित गरिसकेपछि जनतालाई कहिल्यै पनि प्रजातन्त्र दिएनन् र अन्य अधिकार पनि जनताले पाएनन् । पञ्चायतका ३० वर्षको अनुभवबाट पनि राजा को थिए र २०५९ सालमा उनी पुन: कुन रूपमा प्रकट भएका थिए भन्ने प्रश्नको उत्तर खोज्दा पनि प्रतिगामीको हावी हुने अवस्था पत्ता लाग्दछ ।
अहिले देशमा जुन प्रकारले शासनसत्ता चलेको छ, त्यसलाई कुशासन नै भन्न सकिने अवस्था छ । भ्रष्टाचारले सीमा नाघेको अवस्था छ । सहकारीका नाममा सहकारी माफियाले ठुलो ठगिधन्दा गरेका छन् भन्ने कुरा केही सहकारी संस्थाको नमुनाबाट पुष्टि भइसकेको छ । हजार, लाख, करोड होइन, उनीहरूले अरबौँ ठगी गरेका कुरा सार्वजनिक भएका छन् । प्रशासनिक भ्रष्टाचार पनि धेरै नै मौलाएको छ । स्वास्थ्य क्षेत्र माफियाले कब्जा गरेका छन् र त्यहाँ अस्पतालका नाममा ठुलो लुट भइरहेको छ । शैक्षिक क्षेत्रमा शैक्षिक माफियाले कब्जा गरेका छन् र उनीहरूले राज्यको शैक्षिक क्षेत्रलाई निकम्मा बनाइदिएका छन् र एकलौटी रूपमा जनतालाई ठुलो मात्रमा लुट गरिरहेका छन् । सम्पूर्ण देश माफियाबाट सञ्चालित भइरहेको आभास हुन्छ । राजनीतिक कार्यकर्ता नैतिक आचरण गुमाएर माफियासँग मिलेर ठगी वा भ्रष्टाचार गरिरहेका छन् । विकासका निम्ति छुट्याइएको बजेट भ्रष्टाचारीको मुख टाल्दाटाल्दै समाप्त हुने गरेका छन् ।
देशमा बेरोजगारी छ । देशको श्रमशक्ति विदेशमा पलायन भइरहेको छ । राज्यका विश्वविद्यालय बन्द हुँदै वा मर्ज हुँदै गइरहेका छन् । राज्यका नाममा कुनै पनि उद्योग छैन । राज्यले नागरिकलाई सहुलियतमा उपचार गराउने अस्पतालको स्थापना गर्न सकेको छैन । माफियालाई मनपरी गर्ने अधिकार रहेको छ । नाफाखोर र ब्याजखोरले जनतालाई लुटिरहेका छन् । त्यो अवस्थामा निहत्था जनतामा असन्तोष पैदा हुनु स्वाभाविक हुन्छ । अहिले जनतामा त्यही प्रकारको असन्तोष र वितृष्णा पैदा भएको छ । राज्य वा सरकारप्रति जनताले भरोसा गुमाएको अवस्था छ । त्यसैले जनतामा नैराश्यता वा नकारात्मकताले बढी स्थान लिएको छ । यही अवस्थाको अवसर अहिले राजावादी वा प्रतिगामीले लिन खोजेका छन् ।
आफ्नो हातमा सत्ता आएपछि यिनीहरूले गर्ने काम पनि त्यही नै हो; जस्तो कि उनीहरूले सम्पूर्ण विगत अर्थात् करिब अढाइ सय वर्षदेखि जनताको शोषण गर्दै आएका थिए र जनतालाई अधिकारविहीन तुल्याएका थिए तर त्यसको नकारात्मक र सोझो असर जनताका आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि पर्न गएको छ जसका कारणले प्रतिगामी हाबी हुने र जनआन्दोलनका उपलब्धि गुम्ने खतरा पैदा भएको छ ।
निश्चय पनि गणतन्त्र लागु भइसकेपछि त्यसअन्तर्गतका शासक दल वा वर्गबाट देशका लागि सन्तोषजनक काम हुन सकेको छैन । कतिपय अवस्थामा आफ्नो दलीय वा व्यक्तिगत स्वार्थको लागि संविधानका सर्वोच्च महत्त्वका विषयलाई तिलाञ्जली दिने गरी कदम उठाउने कामसमेत भएका छन् । केपी ओलीले त्यस प्रकारको कार्य गरेका थिए । उनले प्रतिगमनतर्फ उचालेको कदमले आज देशको स्थितिलाई धेरै गम्भीर अवस्थामा पुर्याएको छ । उनको त्यो कार्यशैलीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रतिगामीलाई नै मदत पुगेको छ । उनले कतिपय अवस्थामा प्रतिगामीसित साँठगाँठ पनि गर्ने गरेका छन् र विद्यमान गणतन्त्र र धर्मनिरपेक्षता पक्षधरसित इबी साँध्ने गरेका छन् । वर्तमान सरकार पनि समस्याको समाधान गर्नेतर्फ सन्तोषजनक प्रकारले अग्रसर भएको देखिँदैन । शासक दल वा वर्गबाट भएका त्यस प्रकारका गम्भीर गल्ती वा कमजोरीका कारण जनतामा असन्तोष पैदा भएको छ । जनतामा राजनीतिक क्षमताको स्तर धेरै न्यून भएकाले त्यसको फाइदा प्रतिगामीले लिन सक्ने सम्भावना रहेको छ । त्यसैगरी कतिपय वामपन्थी सङ्गठनले पनि वर्तमान गणतन्त्र र धर्मनिरपेक्षताको प्रगतिशील महत्त्वलाई कम आँक्ने गरेको पाइन्छ । उनीहरूले पनि वर्तमान गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गरेर प्रतिगामीको अभियानलाई मदत पुग्ने गरेको छ ।
माथिका सबै खराब पक्षको अवस्थामा पनि, सरकार वा सरकार सञ्चालन गर्ने दल वा विभिन्न राजनीतिक दल जतिसुकै भ्रष्ट भए पनि त्यो अवस्थामा राम्रो र सुशासन दिने सरकार अगाडि आउन सक्दछ । कुनै राजनीतिक दल विघटन भई समाप्त हुन सक्दछ र नयाँ राजनीतिक सङ्गठनले ठाउँ लिन सक्दछन् र उनीहरूले लोकतन्त्र र गणतन्त्रको अनुकूल देशमा सुधार वा विकास ल्याउन सक्दछन् । त्यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न र यदि त्यस्तो हुन्छ भने पनि त्यो लोकतन्त्र वा गणतन्त्रअनुकूल नै हुन्छ तर लोकतन्त्र र गणतन्त्रको विकल्पमा कहिल्यै पनि प्रतिगमन हुन सक्दैन । त्यसैले प्रतिगमनलाई पूर्ण रूपले असफल पारिनुपर्दछ र पार्नु पनि पर्दछ । त्यसका लागि सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रका शक्तिबिच ऐक्यबद्धता कायम हुन जरुरी छ ।