काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आ.व. २०७९/८० को लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) सार्वजनिक गरेको छ ।
लेखापरीक्षक प्रतिवेदन निर्वाचन आयोगमा बुझाइएको एक हप्ताभित्र सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानअनुसार केन्द्रीय कार्यालयले २०८० मङ्सिर १० गते आइतबार सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
रजिस्टर्ड अडिटर गिरिन्द्रराज एन्ड एसोसियट्सले राजमोको आयव्ययको लेखापरीक्षण गरेको छ ।
२०७९ साउन १ गतेदेखि २०८० असार ३१ सम्मको उक्त प्रतिवेदनमा राजमोले कुल ४५ लाख १७ हजार एक सय ५३ रुपियाँ आम्दानी गरेको छ भने यस अवधिमा ५० लाख ३२ हजार छ सय ४७ रुपियाँ खर्च भएको छ । यसरी यस अवधिमा राजमोले पाँच लाख २६ हजार चार सय ६७ रुपियाँ घाटा व्यहोरेको छ ।
प्रतिवेदनमा राजमोले सदस्यता, लेबी र नवीकरण शुल्कबापत् १३ लाख ६३ हजार नौ सय ८५ रुपियाँ, चन्दा तथा सहयोगबापत् २७ लाख ४० हजार आठ रुपियाँ, प्रकाशन विक्रीबापत् ३९ हजार आठ सय रुपियाँ ७० र विविध आयबापत् तीन लाख ७३ हजार दुई सय ९० रुपियाँ आम्दानी गरेको छ ।
त्यस्तै, खर्चतर्फ प्रशिक्षण खर्च एक लाख ४६ हजार चार सय पाँच रुपियाँ, निर्वाचन खर्च ३२ लाख ३३ हजार चार सय १२ रुपियाँ, कार्यालय सञ्चालन खर्च १५ लाख ९१ हजार तीन सय ३० रुपियाँ र प्रकाशन खर्च ६१ हजार पाँच सय रुपियाँ रहेको छ ।
प्रतिवेदनमा राजमो आर्थिक अनुशासनभित्रै रहेको लेखापरीक्षक संस्थाले उल्लेख गरेको छ ।
“राष्ट्रिय जनमोर्चाको स्थायी समिति वा कुनै पदाधिकारी, केन्द्रीय सदस्य वा राष्ट्रिय जनमोर्चा कार्यालयको कुनै कर्मचारीले ऐनकानुन विरुद्ध लेखासम्बन्धी कुनै काम गरेको वा राष्ट्रिय जनमोर्चालाई कुनै हानिनोक्सानी वा बेहिसाब गरेको पाएनौँ” लेखापरीक्षकको प्रतिवेदनमा लेखिएको छ ।
