काठमाडौं । लुम्बिनी भारतमा पर्छ भन्दै विश्वब्यापी भ्रम फैलाएको भारतले पशुपतिनाथबारे अर्को भ्रम फैलाउन सुरु गरेको छ । भारत र नेपालकै पनि केही सञ्चारमाध्यमले पशुपतिनाथको मन्दिर अब उत्तराखण्डमा बन्न लागेको भन्दै भ्रम छरेका हुन् ।
‘भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको’ ती सञ्चारमाध्यमको दाबी छ ।
तर, पशुपति क्षेत्र विकास कोषले भने पशुपतिनाथ मन्दिर उत्तराखण्डमा बनाउन स्वीकृति दिइएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।
उनले भने, ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ ।’
कोषले आज प्रेस विज्ञप्ति प्रकाशित गरी भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्तिसमेत जनाएको छ ।
‘समग्र हिन्दूहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
भ्रामक समाचारका कारण हिन्दू धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिकजनप्रति पारिएको आघात पुगेको भन्दै कोषले भारतको उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै स्वीकृति, सहमति, निर्णय नभएको कोषको भनाइ छ । रासस