शकरप्रसाद पोख्रेल, गुल्मी ।
कोरोना भाइरस अर्थात कोभिड–१९ फैलिएर बिश्वनै संकटको घडिमा गुजरिरहेको बेला धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुमा रहेका कालिका बोर्डिङ स्कुल र छल्दी युवा क्लबले संयुक्त रुपमा सचेतना कार्यक्रमको आयोजना सम्पन्न गरेका छन । धुर्कोट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य नरहरी भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी बस्तु स्वास्थ्य चौकीका इन्चार्ज डिल्लीराज पराजुलीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम कालिका बोर्डिङका प्रधानाध्यापक नारायण पाण्डेले कोरोनाका बिरुद्ध समाजलाई उभ्याउनकालागि कालिका बोर्डिङ स्कुलले हरकदम प्रयास गर्ने बताउनुभएको थियो ।
धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्यामपसका क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले कोरोना भाईरसले अन्य देशमा पारेको संकटको पूर्वतयारीमा नेपाल जुटिरहेको र यस्तो समयमा सचेतना फैलाउन जागरुक कालिका बोर्डिङ र छल्दी युवाक्लबलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथी रहनुभएको बस्तु स्वास्थ्य चौकीका इन्चार्ज डिल्लीराज पराजुलीले कोरोनाको निस्चित उपचार नभएको हुँदा आफ्नो सरसफाईमा सबैले ध्यान दिनपर्ने जरुरी रहेको बताउनुभएको थियो । उहांले अन्य स्थानबाट गाउँ आउने सर्वसाधारणको घुइचो लागेको कारण आफू आफै सचेत हुनजरुरी रहेको बताउनुभएको थियो।
उहाँले अत्यावश्यक कामकाज बाहेक घरबाट बाहिर ननिस्किने , एक ठाउँ बाट अर्को ठाउमा अनावश्यक काममा नजाने , आदर सत्कार गर्न बाहिर नजाने , विभिन्न चोकचोकमा हुने जमघटलाई कम गर्ने , रुवाखोकी लाग्यो भने ३ दिन सम्म घरायसी उपचारलाई प्राथमिकता दिने , उच्च ज्वरो आउँदा सचेत हुनुका साथै नजिकको स्वास्थ्य संस्था जाने र सबैल्स अनुशासनको पालना गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी वडा सदस्य नरहरी भण्डारीले स्थानीय तहबाट कोरोना देखि बच्नका लागि आईसोसेलेसन कक्ष बनाउने तयारीमा रहेको बताउनुभएको थियो । कार्यक्रममा स्थानीय ऋषिराम पाण्डे , जितेन्द्र भण्डारी , केशबराज भण्डारी लगायतको उपस्थित रहेको थियो । छल्दी युवा क्लबका अध्यक्ष सुबास पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन छल्दी युवा क्लबका कोषाध्यक्ष सुरज पाण्डेले गर्नुभएको थियो ।

