धनगढी । कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाव्यापी रुपमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज (सोमबार) दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहनेछ । कोभिड–१९ को सम्भावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलन दिन निषेधाज्ञा जारी गरिएको प्रशासनले सोमबार सूचना प्रकासित गरी स्पष्ट पारेको छ ।
‘अत्यावश्यक सेवाहरु जस्तै भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल वा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, हवाई मार्ग यात्री वा मालसामान ओसार पसार गर्ने यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी र वितरण, फोहोर मैला संकलन तथा ढुवानी, विद्युत् सेवा आदी जस्ता सेवाहरु बाहेक अन्य सबै सेवा स्थलहरु अर्को आदेश जारी नभएसम्म’ सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ । यसअघि कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले पनि गए राति १२ बजेदेखि जिल्लामा ‘लक डाउन’ घोषणा गरेको छ ।

