नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ ।
‘यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ’ विकासशील राष्ट्रलाई उल्लेख गर्दै उहाँले भन्नुभयो ।
गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो ।
सेप्टेम्बरको बैठकमा नयाँदिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो ।
आफूलाई ग्लोबल साउथको नेताका रूपमा हेर्ने भारतले यी मुलुकका लागि विश्वले महत्त्वपूर्ण मुद्दामा प्रगति गर्नुपर्ने बताएको छ ।
‘हामी एक सयभन्दा बढी मुलुक भए पनि प्राथमिकता उस्तै छ’ संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील मुलुकका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले भन्नुभयो– ‘भ्वाइस अफ ग्लोबल साउथ एक्काइसौँ शताब्दीको सबैभन्दा अनौठो प्लेटफर्ममध्येको एक हो । भौगोलिक दृष्टिकोणले विश्वव्यापी दक्षिण सधैँ अस्तित्वमा छ तर यसले पहिलोपटक आफ्नै आवाज प्राप्त गरेको छ ।’
जलवायु वित्त, विकासशील मुलुकको कर्जा बोझ र दिगो विकासका लागि किफायती र समावेशी ऊर्जा परिवर्तन शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।
प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा इजराइल–हमास युद्धमा सर्वसाधारणको भएको मृत्युको भत्र्सना गर्दै युद्धबाट नयाँ चुनौती आएको बताउनुभयो ।
‘अक्टोबर ७ मा इजराइलमा भएको आतङ्कवादी हमलाको भारत निन्दा गर्दछ । हामीले पनि संयमता अपनाएका छौँ । संवाद र कूटनीतिमा जोड दिएका छौँ । हामी इजराइल र हमासबिचको सङ्घर्षमा सर्वसाधारणको भएको मृत्युको पनि घोर भत्र्सना गर्दछौँ’ उहाँले भन्नुभयो । (रासस/एपी)