बागलुङबजार । भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदै छ ।
पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा काम भइरहेकाले निर्माणले तीव्रता पाएको हो ।
छ तलाभन्दा बढीको पूर्ण अपाङ्गमैत्री भवनमा अहिले चौथो तलाको काम भइरहेको छ ।
अदालतको भवन २०७२ सालको भूकम्पले छियाछिया बनाएकाले पहिलोपटक दुईओटा विद्युतीय भर्याङसहित नमुना भवन निर्माण भइरहेको हो । हालसम्म भवनको ४० प्रतिशत काम सम्पन्न भइसकेको र सोही भवनसँगै जोडिएको मुख्य आवासगृहको पहिलो तला पनि ढलान भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
मुख्य भवनको मात्रै निर्माणको काम ६० प्रतिशत भए पनि भवन तथा तीनओटा आवासगृह निर्माणका हिसाबले पूरै योजनाको ४० प्रतिशत सम्पन्न भएको हो । सम्झौता भएको ११ महिनामा चौथो तलाको ढलान भइरहेकाले सम्झौताअघि नै भवन सकेर बुझाइने निर्माण कम्पनीले जनाएको छ ।
उक्त भवन ३० महिनामै सक्ने गरी २०७९ मङ्सिर १६ गते श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु ५७ करोडमा ठेक्का पाएको थियो । भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गर्नाका साथै दिन र रातमा समेत दुई चरणमा निर्माणको काम भइरहेको ठेकेदार कम्पनीका व्यवस्थापक ओम गुरुङले जानकारी दिनुभयो ।
‘पुरानो भवन भत्काउनेदेखि नयाँ भवनको भुइँतलाको लागि माटो व्यवस्थापनमा समय लाग्यो । अहिले दिनरात गरी दुई चरणमा काम भइरहेको छ । यति ठुलो भवन ३० महिनामै सक्नु चुनौतीपूर्ण हो तर हामीसँग प्रविधि र जनशक्ति दुवै छ‘ उहाँले भन्नुभयो– ‘रु ५७ करोड लागतको भवन दिनमा मात्रै काम गरे पाँच वर्ष लाग्छ । दिनरात काम गरेर ३० महिनाअगावै सक्नु आवश्यक छ ।’
भवन निर्माणका लागि आवश्यक कच्चा सामग्री रेडिमिक्सको सहायताबाट तयार पारी प्राविधिक जाँच गरेपछि मात्रै प्रयोगमा ल्याइने गरिएको छ । श्रमिकलाई समेत आवसीय सुविधासहित भवन निर्माणस्थलमै राखिएको छ ।
बागलुङ इजालसका सूचना अधिकारी शिवप्रसाद गौतमका अनुसार भवन निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको अन्य निर्माणमा जस्तो निर्माण व्यवसायीले यो भवन निर्माणमा ढिलासुस्ती नगरेकाले समयअगावै सकिने बताउनुभयो ।
अहिले उक्त इजलासको काम यहाँस्थित जिल्ला अदालतको भवनबाटै भइरहेकाले हामीलाई छिटोभन्दा छिटो भवन निर्माणको काम सकेर सेवा दिन आवश्यक छ’ उहाँले भन्नुभयो ।
अन्डरग्राउन्डसहित साढे छ तलाको उक्त भवनसँगै अतिथिगृह र कर्मचारी आवाससमेत तीन ब्लकमा हुने छ । सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै साविक धौलागिरी अञ्चलका चार जिल्लामध्ये सबैभन्दा ठुलो र आधुनिक हुने सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।
सो भवनमा छओटा अत्याधुनिक इजलासकक्ष रहने छन् । (रासस)