बागलुङबजार । बागलुङमा तिहारको अवसरमा सञ्चालन भइरहेको देउसीभैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच सामेल गरिएको छ ।
पछिल्लो समय पश्चिमा संस्कृति भित्रिएसँगै देउसीभैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेका बेला बागलुङमा यस्तो स्थिति देखा परेको हो ।
त्यसै क्रममा बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले नेपालका जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाउन थालेको छ । विपन्न विद्यार्थीलाई कापी, कलम र खाजाको जोहो गर्नका लागि विद्यार्थी कल्याण कोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको देउसीभैलो कार्यक्रममा सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएका नाचगान प्रस्तुत गरिएको छ ।
देउसीभैलोमा तामाङ सेलो, थारू नाच, नेवारी नाच र साकेला नाचदेखि यानिमाया र सालैजो उनीहरूकै वेशभूषामा सजिएर नृत्य देखाउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनुभयो ।
‘कला संस्कृतिको संरक्षण र विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र खाजा खर्च जुटाउन कार्यक्रम आयोजना गरेका हौँ’ उहाँले भन्नुभयो– ‘पहाडको तामाङ संस्कृति, तराईको थारू र पहाडको आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसीभैलोमा देखाउन थालिएको छ ।’
वि.सं. १९९७ मा स्थापना गरिएको धवलागिरिकै जेठो विद्यालय विद्यामन्दिरमा अध्ययनरत गरिब, मजदुर तथा श्रमिकका बालबालिकालाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र विद्यालयलाई शैक्षिक हब बनाउन देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक छविरमण शर्माले जानकारी दिनुभयो ।
विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । (रासस)