टोकियो । जासुसी गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको छ ।
टोकियोका वरिष्ष्ठ सरकारी प्रवक्ताले सोमबार यस्तो आग्रह गर्नुभएको हो ।
‘हामीलाई थाहा छ, चीनको हुनान प्रान्तको उच्च अदालतमा नोभेम्बर ३ मा ५० वर्षीय एक जापानीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ ।
उनलाई २०१९ जुलाईमा हिरासतमा लिइएको थियो । उनको पुनरावेदन खारेज गरिएको थियो’ हिरोकाजु मात्सुनोले भन्नुभयो– ‘जापानी नागरिकको सुरक्षाको दृष्टिकोणले जापान सरकारले सक्दो सहयोगलाई जारी राख्नेछ ।’
जापानको विदेश मन्त्रालयका अनुसार सन् २०१५ मा चीनको संशोधित जासुसी विरोध कानुन लागु भएपछि कम्तीमा १७ जापानीलाई चिनियाँ अधिकारीले हिरासतमा राखेका छन् ।
जापानी औषधी कम्पनी एस्टेलसका एक जापानी कर्मचारीलाई पक्राउ गरिएको गत महिना चीनस्थित जापानी राजदूतावासले पुष्टि गरेको थियो । जासुसीको आरोपमा उनलाई महिनौँदेखि हिरासतमा राखिएको बेइजिङले बताएको थियो ।
हालैका वर्षमा बेइजिङले आफ्नो छिमेकी मुलुक जापानका लागि जासुसी गरेको आरोपमा जापानी र चिनियाँ दुवै नागरिकलाई हिरासतमा लिएको छ । (रासस/एएफपी)