काबुल । तालिबान अधिकारीले पप्पी (अफिम) माथि प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको खेती र अफिमको उत्पादनमा ९५ प्रतिशतले कमी आएको आइतबार प्रकाशित संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका थिए र २०२२ अप्रिलमा अफिम र हेरोइन बनाइने पप्पी बोटको खेतीमा प्रतिबन्ध लगाएका थिए ।
सन् २०२२ को अन्त्यमा दुई लाख ३३ हजार हेक्टरबाट घटेर सन् २०२३ मा १० हजार आठ सय हेक्टरमा पप्पीको खेतीमा करिब ९५ प्रतिशत कमी आएको राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) को प्रतिवेदनमा उल्लेख छ ।
यस अवधिमा अफिमको उत्पादन पनि सन् २०२३ मा छ हजार दुई सय टनबाट घटेर तीन सय ३३ टन भएको छ । यो वर्ष २४ टनदेखि ३८ टन हेरोइनको निर्यात हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष तीन सय ५० टनदेखि पाँच सय ८० टन हेरोइन निर्यात भएको थियो ।
अफगानिस्तानको अफिम अर्थतन्त्रमा अचानक कमीका कारण सम्भावित धेरै कमजोर ग्रामीण समुदायका लागि मानवीय नतिजाको चेतावनी दिँदै युएनओडिसीले यसको उत्पादनमा प्रतिबन्ध लगाइँदा उत्पादकले अत्यन्त कम आकर्षक वैकल्पिक बालीतिर फर्कनुपरेको जनाएको छ ।
युएनओडिसीका अनुसार सन् २०२२ मा किसानको आम्दानी एक अर्ब ३६ करोड अमेरिकी डलर हुने अनुमान छ । यो यस वर्ष ९२ प्रतिशतले घटेर ११ करोड डलर भएको छ । यो घाटाले अफगानिस्तानको पहिला नै सङ्घर्षरत अर्थतन्त्रमा अत्यधिक असर पर्ने आशङ्का गरिएको छ । गत वर्ष विश्वको अग्रणी उत्पादक अफगानिस्तानमा कुल कृषि उत्पादनको मूल्यमा पप्पी बालीको योगदान करिब एकतिहाइ थियो ।
“आज अफगानिस्तानका मानिसलाई गुमेको आम्दानीको आघातको सामना गर्न र जीवन बचाउन तत्काल मानवीय सहयोगको आवश्यकता छ” युएनओडिसीका कार्यकारी निर्देशक घाडा वेलीले एक विज्ञप्तिमा भन्नुभयो– “अन्य सबै उत्पादन कपास, गहुँका लागि धेरै पानी चाहिन्छ तर अफगानिस्तानले लगातार तीन वर्षदेखि खडेरीको सामना गरिरहेको छ ।”
अफगानिस्तानको आन्तरिक मन्त्रालयको लागुऔषध विभागले युएनओडिसीको प्रतिवेदनमा पप्पीको उत्पादनको अनुमानमा केही हदसम्म सहमत भएको जनाएको छ । (रासस/एएफपी)