मनिला । फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारको लामो सूचीमा यो नयाँ घटना हो ।
मिसामिस अक्सिडेन्टल प्रान्तमा कलाम्बा नगरपालिकाका प्रहरी प्रमुख क्याप्टेन डेओर रगिनियोका अनुसार दक्षिणी टापु मिन्डानाओस्थित आफ्नो घरमा रहेको रेडियो स्टेसनमा बन्दुकधारीले ५७ वर्षीय जुआन जुमालोनको टाउकोमा गोली चलाएका थिए ।
शङ्कास्पद बन्दुकधारी अनएयर घोषणा गर्ने बहाना बनाएर स्टुडियोमा प्रवेश गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली हानेपछि अपराधी भागेको र जुमालोनलाई स्थानीय अस्पतालमा मृत घोषणा गरिएको थियो ।
२०२२ जुनमा राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले पदभार सम्हालेपछि हत्या भएका पत्रकारमा जुमालोन चौथो व्यक्ति भएको नेसनल युनियन अफ जर्नालिस्ट्सले बताएको छ ।
पत्रकारका लागि फिलिपिन्स विश्वमा सबैभन्दा खतरनाक स्थान मानिएको छ र यहाँ पत्रकारका हत्यारा प्राय: सजायबाट बच्ने गरेका छन् । राजधानीबाहिर प्राय: रेडियो प्रसारक निशानामा पर्ने गरेका छन् ।
जुमालोनले आफ्नो सेबुआनो–भाषा ९४.७ गोल्ड एफएम कलाम्बा स्टेसनमा डिजे जोनी वाकर नाम प्रयोग गरेका थिए ।
प्रहरी प्रमुख रगिनियोले प्रहरीले हत्याको उद्देश्यको अनुसन्धान गरिरहेको बताउनुभयो । आफूलाई जुमालोनको जीवन खतरामा रहेको पछिल्लो अवस्थाबारे थाहा नभएको बताउनुभयो ।
‘उहाँ धेरैजसो समसामयिक घटनालाई प्राथमिकता दिनुहुन्थ्यो र आफ्नो प्रसारणमा उहाँले कसैलाई आलोचना गरेको थाहा थिएन’ रगिनियोले भन्नुभयो । (रासस/एएफपी)