ढाका । बङ्गलादेशको राजधानी ढाकामा मजदुरको ज्याला तीन गुणा बढाउन माग गर्दै सुरु भएको विरोध प्रदर्शनको अवज्ञा गर्दै कारखानाहरू पुन: सञ्चालनमा आएपछि शनिबार राजधानी ढाकानजिकै हडतालरत गार्मेन्ट मजदुर र प्रहरीमाझ झडप भएको छ ।
हडतालका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा एक सातादेखि बन्द रहेका करिब ६०० व्यवसाय पुन: सञ्चालनमा आएको प्रहरीले जनाएको छ तर राजधानी ढाकाको पश्चिममा रहेको औद्योगिक सहर आसुलियामा करिब १० हजार कामदारले आफ्ना सहकर्मीलाई सिफ्टमा फर्कनबाट रोक्ने प्रयास गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।
आसुलियाका प्रहरी प्रमुख मोहम्मद सरोवर आलमले भन्नुभयो– ‘उनीहरूले अधिकारी र कारखानामाथि ढुङ्गा र इँटा प्रहार गरे र सडक अवरुद्ध गर्ने प्रयास गरे ।’
‘हामीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरबितर पारेका छौँ’ उहाँले भन्नुभयो– ‘त्यहाँ र नजिकैको सावरमा एक हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ ।’
स्थानीय प्रहरी प्रमुख सरवर आलमले ढाकाको उत्तरी क्षेत्रमा रहेको औद्योगिक क्षेत्र गाजीपुरमा एक सातासम्म चलेको हिंसात्मक प्रदर्शनपछि कामदारहरू आफ्नो सिफ्टमा फर्किएको बताउनुभयो । अहिले अवस्था शान्तिपूर्ण बनेको छ ।
बङ्गलादेश गार्मेन्ट एन्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनका अध्यक्ष कल्पोना अक्टेरले साताव्यापी विरोध प्रदर्शनका कारण ग्याप, वालमार्ट, एच एन्ड एम, जारा, इन्डिटेक्स, बेस्टसेलर, लेभिज, माक्र्स एन्ड स्पेन्सर, प्रिमार्क र एल्डी जस्ता विश्वका केही शीर्ष फेसन ब्रान्डको उत्पादन प्रभावित भएको बताउनुभयो ।
प्रिमार्कका प्रवक्ताले डब्लिनस्थित फास्ट–फेसन रिटेलरले आपूर्ति शृङ्खलामा कुनै व्यवधानको अनुभव नगरेको बताउनुभयो ।
‘हामी हाम्रा आपूर्तिकर्तासँग सम्पर्कमा छौँ जसमध्ये केहीले अस्थायी रूपमा आफ्नो कारखाना बन्द गरेका छन्’ प्रवक्ताले भने ।
बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् । बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्रान्डमा विश्वभर तयारी पोसाक आपूर्ति गर्दछ तर यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ । न्यून आय भएका कामदारमध्ये अधिकांश महिला छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ । (रासस/एएफपी)





