काठमाडौँ । नेकपा (मसाल) ले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते राती गएको भूकम्पबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० कात्तिक १८ गते शनिबार वक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जलीसँगै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
प्रेसवक्तव्यमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा उनीहरूको उपचारको व्यवस्था मिलाउन सरकारसित आग्रह गरिएको छ ।
भूकम्पपीडितको उद्धारका लागि शीघ्र कदम उठाउन माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“गए राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर रुकुम पश्चिमलाई समेत प्रभावित हुने गरी गएको भूकम्पबाट भएको ठुलो जनधनको क्षतिप्रति हामी गम्भीर दु:ख व्यक्त गर्दछौँ । भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
मृतकहरूको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको उपचारका लागि व्यवस्था मिलाउन हामी सरकारको ध्यान आकर्षण गराउँछौँ । भूकम्पपीडितको उद्धारका लागि शीघ्र कदम उठाउन तथा भौतिक संरचनाको निर्माण गर्न पनि हामीले सरकारसँग माग गर्दछौँ ।”