काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई निष्काशन तथा अनधिकृत सरुवा गरेपछि त्यसको विरुद्ध नेपाल पत्रकार महासङ्घले घोषणा गरेको आन्दोलनप्रति प्रगतिशील पत्रकार सङ्घ, नेपालले ऐक्यबद्धता प्रकट गरेको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८० कात्तिक १८ गते शनिबार जारी प्रेसविज्ञप्तिमार्फत प्रगतिशीलले यस्तो जानकारी दिएको हो ।
प्रेसवक्तव्यमार्फत प्रगतिशीलले कान्तिपुरले निष्काशित सबै पत्रकारलाई अविलम्ब पुनर्बहाली गर्नुपर्ने, अनधिकृत सरुवा बदर गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै, प्रगतिशीलले नेपाल पत्रकार महासङ्घको आन्दोलनमा भौतिक रूपमा नै उपस्थिति जनाउने पनि बताएको छ ।
यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :
“कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारहरूलाई गरेको निष्काशन र अनधिकृत सरुवा तथा त्यसको विरुद्धमा नेपाल पत्रकार महासङ्घद्वारा घोषणा गरिएको चरणबद्ध आन्दोलनप्रति हाम्रो सङ्गठन प्रगतिशील पत्रकार सङ्घ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
कान्तिपुरद्वारा पत्रकारको निष्काशन तथा अनधिकृत सरुवा श्रमजीवी पत्रकारको विरुद्ध भएको प्रष्टै छ । यस्तो कार्यले श्रमजीवी पत्रकारको जनजीविकाकामाथि नै गम्भीर सङ्कट उत्पन्न भएको छ । त्यति मात्रै होइन, यसरी ठुलो सङ्ख्यामा पत्रकारहरूको निष्काशनबाट नेपालको संविधानमा लिपिबद्ध पूर्ण प्रेस स्वतन्त्रताको कार्यान्वयनसमेत कुण्ठित हुने छ । त्यसैले हाम्रो सङ्गठन कान्तिपुर मिडिया गु्रपद्वारा निष्काशन गरिएका पत्रकारको तत्काल पुनर्बहाली गर्न तथा अनधिकृत सरुवालाई खारेज गर्न माग गर्दछ ।
श्रमजीवी पत्रकार विरुद्ध कान्तिपुरको उक्त कदमका विरुद्ध नेपाल पत्रकार महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आइरहेको छ । त्यस क्रममा यही २०८० कात्तिक १८ देखि मङ्सिर १० गतेसम्म दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ । हाम्रो सङ्गठन महासङ्घद्वारा घोषणा गरिएको उक्त आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दछ ।
हाम्रो सङ्गठन सधैँ प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । हामीले लगातार श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको पक्षमा आवाज उठाउँदै आइरहेका छौँ । त्यस क्रममा हामी यतिखेर कान्तिपुर मिडिया गु्रपबाट निष्काशित पत्रकारको पक्षमा छौँ । प्रगतिशील पत्रकार सङ्घ निष्काशित पत्रकारहरूको पक्षमा उभिँदै पत्रकार महासङ्घद्वारा घोषित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सङ्घर्षका उक्त कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउने जानकारीसमेत दिन चाहान्छौँ ।”