बुटवल । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्वशान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।
नेपाल पर्वतारोहण सङ्घले विश्वशान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्तिदीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले २०८० कात्तिक १७ गते शुक्रबार लुम्बिनीस्थित शान्तिदीपमा प्रज्ज्वलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न हस्तान्तरण गर्नुभयो ।
उपाध्यक्ष डा लामाले पूजा गरेको शान्तिदीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पिड), नेपाल पर्वतारोहण सङ्घका पूर्वसचिव एवम् केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटालाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो ।
लुम्बिनीबाट लगिने उक्त दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौँ हुँदै सगरमाथा आधार शिविर कालापत्थर पुर्याइने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । नेपालको राष्ट्रिय झन्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत उक्त स्थानमा प्रज्ज्वलन गरिने छ ।
कात्तिक २५ दिन एक समारोहका बिच कालापत्थरमा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने पोख्रेलले बताउनुभयो । (रासस)