वेलिङ्टन । शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीनदलीय गठबन्धन सरकार बनाउने बताउनुभएको छ ।
लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कुल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उहाँलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ ।
एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिनुभयो ।
‘अन्तिम स्पष्टता हुनु राम्रो हो, अब हामी तीव्रता प्राप्त गर्न सक्छौँ’ गठबन्धन सम्झौतामा समयसीमा तोक्न अस्वीकार गर्दै वेलिङ्टनस्थित संसद्मा पत्रकारसँग लक्सनले भन्नुभयो– ‘हामी दुवै पार्टीसँग रचनात्मक रूपमा काम गर्ने छौँ । हामी एकसाथ आउने छौँ र एउटा बलियो र स्थिर सरकार बनाउने छौँ ।’
नोभेम्बरमा सान फ्रान्सिस्कोमा एसिया–प्रसान्त क्षेत्रका प्रमुख नेताको शिखर सम्मेलन सुरु हुनुअघि न्युजिल्यान्डमा सरकार बन्न सक्छ वा सक्दैन भन्ने स्पष्ट छैन ।
सरकार गठन गरेको पहिलो एक सय दिनमा नेसनल पार्टीले स्कुलमा सेलफोनमाथि प्रतिबन्ध, अपराध नियन्त्रण र योजनाबद्ध इन्धनमा कर वृद्धि खारेज जस्ता परिवर्तन गर्ने वाचा गरेको छ ।
न्युजिल्यान्डका मतदाताले अक्टोबर १४ मा भएको निर्वाचनमा लेबर सरकारको छ वर्षको शासनलाई अन्त्य गरेका छन् । जनवरीमा जसिन्डा अर्डर्नको स्थानमा प्रधानमन्त्री बन्नुभएका क्रिस हिपकिन्सले मतदान सकिएको केही घन्टापछि पराजय स्वीकार गर्नुभएको छ । (रासस/एएफपी)