नयाँदिल्ली । भारतको साइबर सुरक्षा एकाइले एप्पल आइफोनमा ‘राज्यप्रायोजित आाक्रमणकारी’ को चेतावनी प्राप्त गरेपछि फोन ट्यापिङको प्रयास भएको भन्ने विपक्षी नेताहरूको आरोपको अनुसन्धान गरिरहेको सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।
भारतको कम्पयुटर इमरजेन्सी रेस्पोन्स टिम (सिआइआरटी–इन) ले उजुरीको अनुसन्धान सुरु गरेको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ ।
‘एप्पलले अनुसन्धानमा सहयोग गर्ने छ’ इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयका सचिव एस कृष्णनको भनाइ उद्धृत गर्दै पिटिआईले भनेको छ ।
सूचना तथा प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार सरकार उजुरीबाट चिन्तित भएको बताउनुभयो ।
‘भारत सरकार सबै नागरिकको गोपनीयता र सुरक्षाको रक्षा गर्ने आफ्नो भूमिकालाई अत्यन्त गम्भीरताका साथ लिन्छ र यी सूचनाको जरैसम्म अनुसन्धान गर्ने छ’ सामाजिक सञ्जालमा उहाँले भन्नुभयो ।
विपक्षी काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीले आफ्नो कर्मचारीका साथै शशि थरुर, महुआ मोइत्रा र प्रियङ्का चतुर्वेदीसहित विपक्षी सांसदलाई पनि आइफोनबाट चेतावनी सन्देश प्राप्त भएको बताउनुभयो ।
‘सरकारले चाहे जतिसुकै फोनट्यापिङ गरोस्, मलाई कुनै फरक पर्दैन । उसले मेरो फोन लिन सक्छ । मलाई कुनै डर छैन’ गान्धीले मङ्गलबार भन्नुभयो ।
भारत सरकारमाथि सन् २०२१ मा राजनीतिक विरोधी, कार्यकर्ता र पत्रकारमाथि निगरानी राख्नका लागि विवादास्पद पेगासस स्पाइवेयर प्रविधिको प्रयोग गरेको आरोप लगाइएको थियो यद्यपि सरकारले उक्त आरोपलाई अस्वीकार गरेको छ ।
एप्पलले उक्त मामिलामा कुनै टिप्पणी गरेको छैन यद्यपि उसको वेबसाइटमा धम्कीपूर्ण सूचना ‘राज्यप्रायोजित आक्रमणकारीबाट लक्षित हुन सक्ने प्रयोगकर्तालाई सूचित गर्न र सहयोग गर्न डिजाइन गरिएको’ भनी व्याख्या गरिएको छ । (रासस/एएफपी)