हेमन्त केसी, खलङ्गा ।
कर्णालीमा आपराधिक घटनामा वृद्धि हुँदै गएको छ । टाढाटाढाका बस्ती भएका कारण प्रहरीको पहुँच नहुँदा र पर्याप्त निगरानी नहुँदा आपराधिक घटना वृद्धि भएको हो ।
एक गाउँबाट अर्को गाउँमा जान दिनभर हिँड्नुपर्ने भएकाले आपराधिक घटनाका लागि बल पुगेको छ । ठुलो भूभाग तर छरिएर रहेका बस्तीका कारण पर्याप्त मात्रामा सुरक्षाको पहुँच पुग्न नसकेको प्रहरी नै स्वीकार गर्छन् । अन्य समयमा घरबाहिर हुने तर चाडपर्वमा घरमा फर्केने युवायुवतीले आफन्तको गुनासो सुनेर रिस साँध्ने गरेकोसमेत खुलेको छ ।
सामाजिक सञ्जालमा जथाभावी रिस पोखेर लेख्दा त्यसको उपयुक्त समयमा प्रतिकार हुने अर्को समस्या हुँदै आएको छ ।
यसरी दसैँ अवधिभर कर्णालीमा थुप्रै हिंसात्मक घटना भएका छन् । सुर्खेतस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार यस वर्षको बडादसैँभर ५८ ओटा अपराधका घटना दर्ता भएका छन् । त्यसमध्ये ३४ ओटा कुटपिट तथा झैझगडाका घटना छन् । त्यस्ता घटनामा छ जनाको ज्यान गएको छ भने ३१ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
चाडपर्वको समयमा मात्रै होइन, पछिल्ला वर्षमा पनि आपराधिक घटना बढ्दै गएका छन् । कार्यालयका अनुसार कर्णालीमा प्रत्येक वर्ष आपराधिक घटनाको सङ्ख्या बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा एक हजार ६ सय ३७, आव २०७८/७९ मा एक हजार पाँच सय ५५ र आव २०७९/८० मा एक हजार सात सय २९ अपराधका मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षको यो अवधिसम्म चार सय ८० अपराधका मुद्दा दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७८/७९ को दसैँ अवधिभर ४४ ओटा र आव २०७९/८० को दसैँभर २५ अपराधका घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
आपराधिक घटना वृद्धि भइरहँदा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको उक्त कार्यालयका प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो । अदालतबाट दोषी ठहर भई फरार रहेका दोषीलाई पक्राउ गर्नाका साथै चोरी, बहुविवाह, कर्तव्यज्यान र सार्वजनिक मुद्दामा अदालतले दोषी ठहराएपछि कैदसजाय र जरिवानाको फैसला सुनाइएका कसुरदार धमाधम समातिन थालेको उहाँको भनाइ थियो।
अनुसन्धानलाई प्रभावकारी र अदालतको फैसला कार्यान्वयन, पीडितलाई न्यायको अनुभूति तथा दोषीलाई कानुनी दायरामा ल्याउन घटनालगत्तै संलग्न व्यक्ति पक्राउ गर्ने रणनीति लिइएको प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो ।
‘प्रहरी युनिट, स्थानीय तह, सरकारी कार्यालय र अन्य संयन्त्र परिचालन गरी अन्य फरार कसुरदारको पनि खोजी भइरहेको छ’ उहाँले भन्नुभयो । (रासस)