स्याङजाबजार । स्याङजाको चापाकोटका एक व्यक्तिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन् ।
चापाकोट नगरपालिका–७ खासा बस्ने करिब ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया पत्नी पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।
पतिले पत्नीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफू पनि घरनजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने घटनाको प्रकृतिले देखाएको उहाँले बताउनुभयो ।
साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमाबुबा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घरनजिकैको रुखमा बुबा झुन्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ थियो ।
यसअघि पनि बेलाबखत् पत्नीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको र हिजो साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उहाँले बताउनुभयो ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोस्टमार्टमसँगै घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले बताउनुभयो । (रासस)