बुटवल । नेपाल भ्रमणका क्रममा २०८० कात्तिक १४ गते मङ्गलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभएको छ ।
उहाँले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गर्नुभएको हो ।
मङ्गलबार बिहान पोखराबाट विशेष विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुग्नुभएका गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो– ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।’
बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उहाँले खुसी व्यक्त गर्दै उहाँले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गर्नुभयो । उहाँले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गर्नुभयो ।
‘शान्ति र मानवता अपरिहार्य विषय हुन् । मानवीयता मर्न दिनुहुन्न’ उहाँले भन्नुभयो– ‘बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्र सङ्घको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ ।’
त्यस्तै, महासचिव गुटेरेसले शान्तिदीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नुभएको थियो । यसअघि उहाँले शान्तिदीपमा दीप बाल्नुभएको थियो । शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उहाँ पैदल जानुभएको थियो । उहाँले वृक्षरोपणसमेत गर्नुभएको थियो ।
महासचिव गुटेरेस लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी हुनुभयो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।
त्यसैगरी, महासचिव गुटेरेसले विकास कोषमा राखिएको अतिथि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ । महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धधनमा मदत पुग्ने अपेक्षा गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपटक भ्रमणमा आउनुभएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालसँगै संस्कृति, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामालगायतले स्वागत गर्नुभएको थियो ।
महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन्, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्त्विक महत्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराइएको थियो ।
गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्र सङ्घका छैटौँ महासचिव हुनुहुन्छ । राष्ट्र सङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्र सङ्घको महासचिवको रूपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुनुहुन्छ । राष्ट्र सङ्घका महासचिवका रूपमा थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको योजनाबद्ध विकासको सुरुआत भएको मानिन्छ । (रासस)