खलङ्गा । किसान आन्दोलनको उर्वरभूमि प्युठानको नारिकोटमा पुराना पुस्ताका समाजसेवी तथा नेकपा (मसाल) का नेता लालबहादुर पुरीको ७२ वर्षको उमेरमा भएको आकस्मिक निधनको तेह्रौँ दिन २०८० कात्तिक १० गते शुक्रबार शोकसभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा गौमुखी पालिका समितिको आयोजनामा सम्पन्न शोकसभाको अध्यक्षता राजमो पालिका अध्यक्ष जनक केसीले र सञ्चालन उपाध्यक्ष वीरबहादुर केसीले गर्नुभएको थियो ।
एक मिनेट मौनधारणपछि स्मृतिशेष पुरीको सामाजिक पृष्ठभूमिबारे उहाँका भाइ तथा पूर्व वडाध्यक्ष श्यालाल पुरीले भनाइ राख्नुभएको थियोे ।
उहाँका अनुसार २०३६ सालबाट पार्टीमा आबद्ध रहनुभएको पुरी जीवनभर पार्टीमा क्रियाशील रहनुभएको थियोे । २०५४ को स्थानीय निर्वाचनमा राजमोबाट साविक नारिकोट गाविस वडा नं. ९ को वडाध्यक्ष निर्वाचित पुरी विभिन्न सामाजिक कार्यको समेत नेतृत्व गर्दै आउनुभएको थियोे ।
पुरीको मृत्युुले समाजले अति महŒवपूर्ण व्यक्तित्व गुमाउनुपरेको भन्दै वक्ताहरूले उहाँका अधुरा सपना पूरा गर्न परिवारका सदस्य र सम्पूर्ण न्यायप्रेमी जनतालाई उहाँले देखाएको बाटोमा अघि बढ्न अनुरोध गर्नुभयो ।
यसरी शोकमन्तव्य राख्नेहरूमा राजमो केन्द्रीय सदस्य नारायण जिसी, राजमो प्युठान जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव तारा जिसी, राजमो नारिकोटका अध्यक्ष हुकुमबहादुर थापा र वडाध्यक्ष कमल पुरी हुनुहुन्थ्यो ।
कार्यक्रममा राजमो जिल्ला सदस्यहरू भरत केसी, कृष्णप्रसाद जैसी र सावित्रा टोमटा, गौमुखी वडा नं. ५ का वडाध्यक्ष तथा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य वरुणध्वज मल्ल, महिला सङ्घकी केन्द्रीय पार्षद तारा पुरी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला उपाध्यक्ष बेगम कुँवर, वडा नं. ५ की महिला जनप्रतिनिधि तथा महिला सङ्घ गौमुखीकी सदस्य कल्पना कुँवरलगायत विभिन्न पार्टी प्रतिनिधि र पारिवारिक सदस्यको आतिथ्य रहेको थियोे ।
स्मृतिशेष पुरीको प्युठान अस्पताल बिजुवारमा गत असोज २७ गते निधन भएको थियोे । उहाँ दम रोगले पीडित हुनुहुन्थ्यो । सोही दिन विशाल जनसमुदायको उपस्थितिमा उहाँको अन्तिम संस्कार गरिएको थियोे ।
उहाँको पार्थिव शरीरमा राजमो केन्द्रीय सदस्य नारायण जिसीले पार्टीको झन्डा ओढाएर सम्मान गर्नुभएको थियोे । राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले पुरीले पार्टी र समाजको लागि गरेका योगदानको चर्चा गर्नुभएको थियोे ।
राजमो वडाध्यक्ष हुकुमबहादुर थापाले सञ्चालन गर्नुभएको दाहसंस्कार कार्यक्रममा राजमोसम्बद्घ सयौँ नेताकार्यकर्ता र अन्य समुदायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियोे ।
स्मृतिशेष पुरीको परिवारमा पत्नी चुमाकुमारी पुरी, चार छोराबुहारी, दुई छोरीज्वाइँ, नातिनातिनासहित हुनुहुन्छ ।
