वासिङटन । बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीले बताएका छन् । स्थानीय अस्पताल गोली लागेका घाइतेले भरिएका छन् ।
समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरूको उपचारका लागि सेन्ट्रल माइन वरपरबाट उद्धार सवारी साधन पुगेका थिए र दुई लेविस्टन अस्पतालले उनीहरूको उपचारका लागि बिदामा बसेका सबै कर्मचारीलाई बोलाएको छ ।
स्थानीय प्रहरीले बलिङ एल्लीभित्र अर्धस्वचालित हतियार लैजाँदै गरेका एक बन्दुकधारीको फोटो फेसबुकमा पोस्ट गरेको छ ।
पछि प्रहरीले ४० वर्षीय रोबर्ट कार्डका लागि एउटा बुलेटिन जारी गर्दै सामूहिक गोलीबारीका संदिग्धलाई ‘सशस्त्र र खतरनाक मान्नुपर्छ’ भनेको छ ।
प्रहरीले एउटा सेतो एसयुभीको तस्बिर पनि जारी गरेको छ । प्रहरीले गाडीको अगाडिको बम्पर कालो रङको हुन सक्ने भन्दै गाडीको पहिचानका लागि सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ ।
‘कानुन प्रशासनले दुई सक्रिय बन्दुकधारी घटनाको अनुसन्धान गरिरहेको छ’ एन्ड्रोस्कोगिन काउन्टी सेरिफ विभागले फेसबुकमा लेखेको छ– ‘अनुसन्धान गर्ने क्रममा हामी सबै व्यवसायलाई बन्द गर्न वा बन्द गर्न प्रोत्साहित गरिरहेका छौँ, संदिग्ध अझै फरार छ ।’
माइनका गभर्नर जेनेट मिल्सले लेविस्टनमा सक्रिय बन्दुकधारीको स्थितिबारे आफू अवगत भएको र यसको जानकारी आफूलाई दिइएको बताउनुभयो ।
कानुन प्रशासनलाई उद्धृत गर्दै सिएनएनले घटनामा कम्तीमा ५० देखि ६० मानिस घाइते भएको तर गोलीबारीबाट कति मानिस घाइते भएका हुन् भन्नेबारे स्पष्ट नभएको बताएको छ ।
लेविस्टन माइनको दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो । यो माइनको सबैभन्दा ठुलो सहर पोर्टल्यान्डबाट करिब ५० किलोमिटर उत्तरमा पर्छ । (रासस/एएफपी)