बैतडीबजार । बैतडीमा २०८० कात्तिक ७ गते मङ्गलबार छुट्टाछुट्टै र्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मृत भेटिएका छन् ।
चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत भेटिएका हुन् ।
सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । चन्दको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
त्यस्तै, भिरबाट लडेर पाटन नगरपालिका वडा नम्बर ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका वडा नम्बर २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए ।
भिरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।