काठमाडौँमा । काठमाडौँलगायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ ।
२०८० कात्तिक ५ गते आइतबार बिहान ७ बजेर ४० मिनटमा भूकम्पको झट्का महसुस गरिएको हो ।
भूकम्पको कम्पन लगभग १५ सेकण्डभन्दा लामो समयसम्म महसुस गरिएको थियो ।
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् ।
साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट हामफाल्दा घाइते भएकी हुन् ।
उनको ढाड र बायाँ खुट्टामा चोट लागेको छ । गोरखा अस्पतालमा सामान्य उपचारपश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ
भूकम्पका कारण भीमसेन थापा गाउँपालिकाको बोर्लाङका केही घरमा सामान्य क्षति भएको गोरखा प्रहरीले जनाएको छ ।
यता, धादिङको ज्वालमुखी गाउँपालिका–५ कुमालटारीमा २० ओटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो ।
पटक पटक चार रिक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्प गएका कारण मानिसहरू घरबाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो ।