काठमाडौँ । विश्व खाद्य दिवस (अक्टोबर १६) को अवसरमा राष्ट्रिय किसान सञ्जालले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
२०८० कात्तिक १ गते बुधबार किसान सञ्जाल नेताहरूको उपस्थितिमा माइतिघर मण्डलादेखि बबरमहलसम्म उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
बबरमहलमा पुगी कोणसभामा परिणत भएको सो कार्यक्रमलाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले सम्बोधन गुर्नभएको थियो ।
सो अवसरमा उहाँले देशका राजनीतिक परिवर्तन भए पनि खाद्य सम्प्रभुताको ग्यारेन्टी गर्ने गरी कानुन लागु नभएको बताउनुभयो ।
उहाँले यो प्रभातफेरी कार्यक्रम किसान सञ्जालको ६५ सूत्रीय भाग पूरा गराउन सरकार विरुद्ध साङ्केतिक आन्दोलनको एउटा रूप भएको दाबीसमेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटाले खाद्य सम्प्रभुता मानवअधिकार मात्रै नभएर सार्वभौम अधिकारको विषय भएको बताउनुभयो ।
कार्यक्रममा ‘खाद्य सम्प्रभुता कायम गर’, ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली जारी गर’, ‘भोकमरी अन्त्य गर’, ‘पुँजीवाद अस्ताउँछ, समाजवाद उदाउँछ’ लगायतका नारा लगाइएको थियो ।

