दुर्गानाथ खरेल ##
२०८० साउन १० गते सियारी शुद्धोधन एरियामा तीन दिनको कार्यक्रम सञ्चालन गर्न भनेर फर्साटिकरका साथीको घरमा करिब ८–१० जना साथीहरूको बैठक बस्ने कार्यक्रम निश्चित भएको रहेछ तर बैठकमा तीन जना मात्र उपस्थित भएकाले आवश्यक न्यूनतम उपस्थिति नपुगेको हुनाले अरू साथीहरूसमेतलाई सहभागी बनाएर एक घण्टा प्रशिक्षण सञ्चालन गरियो । प्रशिक्षणकै क्रममा केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले भोलि बेलुकी गुल्मीको ठुलोलुम्पेक पुग्ने तयारी गर्नुहोस्, बाँकी आवश्यक कुरा बुटवलको कार्यालयबाट लिनुहोस् भन्ने फोन आयो । प्रशिक्षण पूरा गरेर एक जना मोटरसाइकलवाला साथीले घर ल्याएर छाड्नुभयो ।
मैले भोलि बिहान डाइरेक्ट ठुलोलुम्पेक जाने जिपको बारेमा बसपार्क गएर सोधपुछ गरेँ । लुम्बिनी प्रदेशको प्रादेसिक कार्यालयमा गएर आवश्यक फोन नम्बर लिएर फोन सम्पर्क गरेँ । जिप ड्राइभरको फोन र एक नम्बर सिटमा राखेर लैजाने सल्लाहअनुसार बिहान ८:३० बजे बसपार्क गएँ । जिपमा बसेर ठुलोलुम्पेक पुगियो ।
बेलुकी बजारमा नै साथीको दुकान घरमा बसेर बिहान प्रशिक्षण स्थान गयौँ । पहाडको उकालो, ओरालो, ठाडो कच्ची बाटोमा मोटरसाइकलमा राखेर एक जनाले ओरालो र अर्को जनाले उकालो गर्दै करिब डेड घन्टाको मोटरसाइकलको पछाडिको सिटमा बसेर यात्रा गरी प्रशिक्षण स्थलमा पुगियो । सबै सहभागीसँगै खाना खाएर दुई पिरियड पहिलो दिन र दुई पिरियड दोस्रो दिन पढाए ।
दोस्रो दिन अपराह्न एक जना छिमेकीको श्रद्धाञ्जली कार्यक्रम पनि सम्पन्न गरेर फर्कने तयारी गर्यौँ । ओरालोमा हिँड्ने र बाटो छुट्टै नभएको अवस्थामा मोटरसाइकलमा बसेर ठुलोलुम्पेक र त्यहाँबाट रुद्रबेनी र त्यहाँबाट खल्टुको रुख कमल पुलामीको होटलघरमा पुगेर आराम गर्ने, नुहाइधुवाइ गर्ने गर्यौँ । रामकुमार क्षेत्री र म दुवै जना त्यही बस्यौँ ।
भोलिपल्ट बिहान चिया खाएर रामकुमारको मोटरसाइकलको पछाडि बसेर दुवै जना गुल्मी जिल्लाकै दरबार गाउँपालिका वडा नं. १ बलिथुमस्थित छविलाल सर्तुङ्गीको घरमा पुगेर खाना खायाँै । त्यहाँ २५ जना स्थानीय राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने जनता सँगसँगै खाना खाएर प्रशिक्षण गर्यौँ ।
साउन १४ गतेको त्यो प्रशिक्षणमा मैले दुई पिरियड र रामकुमारले एक पिरियड प्रशिक्षक भई काम गरेका थियौँ । बेलुकी त्यहीँ बास बसेर सउन १५ गते साउनमा खाना खाएर मात्र त्यहाँबाट फर्केका थियौँ । दिउसो कमल पुलामीको होटलघरमा फर्केर आराम गर्ने र नुहाउने, धुने काम गर्यौँ । साँझ रामकुमारले र मैले ७–८ जना स्थानीय जनतालाई करिब डेड घन्टा प्रशिक्षणात्मक कुराकानी गरेर दिन पूरा गर्यौँ ।
साउन १६ गते बिहान खाना खान सत्यवती गाउँपालिका वडा नं. २ पिपलबोट ओमबहादुर कुँवरको बाख्राफार्मको स्टेघरमा गई खाना खाएर आराम गर्यौँ । त्यहाँ खानेबस्ने सुविधाको व्यवस्था ओमबहादुरजीले नै गर्नुभयो । बाख्राफार्म अवलोकन र रुखकटहर टिप्ने, खानेसमेत काम गरेर दिनभरको समय बितायौँ । त्यो प्रशिक्षण कार्यक्रमको छैटौँ दिन थियो ।
साउन १७ गते त्यहाँको प्रशिक्षण सञ्चालन गर्ने दिन थियो । ठुलोलुम्पेक पुग्न नसकेका तल्लो भागका साथीहरूका लागि त्यहाँ प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको थियो । २६ जना सहभागीबिच मैले दुई पिरियड र रामकुमार तथा ओमबहादुरजीले एक एक पिरियड बढायौँ । सहभागीले दिउसो रुखकटहर खाएर खुसी पनि भए । त्यहाँ अघिल्लो दिन नै धेरै रुखकटहर टिपेर ल्याइएको थियो । रुखमा नै पाकेका रुखकटहर सुरक्षित गरी टिपेर ल्याइएको थियो । बाख्राफार्मले चर्चेको छ्यालिस रोपनी जग्गा आप, भुइँकटहर, रुखकटहर, बाँस र अन्य रुख भएको खरबरी पनि धेरै थियो ।
बाख्राफार्मबारे जानकारी लिँदै शुभकामना पनि दिएँ कि अबको दस वर्षमा त्यो फार्म राष्ट्रिय स्तरको बाख्रापालन गर्ने फार्ममा विकास हुने छ र त्यो ओमबहादुर कुँवरले बनाउनु पनि हुने छ । उहाँले बाख्रा फार्मको सुरुवातदेखिको अहिलेसम्मको अवस्था पनि बताउनुभयो ।
२०६९ साल फागुन महिनादेखि आफै मिस्त्री बनेर बाख्राखोर बनाउन सुरु गर्नुभएको रहेछ । त्यतिखेरको अवस्थामा आफूले जम्मा गरेको आफ्नो लगानी रकम पचास हजार रुपियाँ र ऋणसापटी खोजेर पचास हजार रुपियाँ गरी जम्मा एक लाख रुपियाँको योजनाअन्तर्गत पचास हजार रकमको खोर निर्माण गर्दा खर्च लागेको रहेछ । पचास हजारमध्ये २०७० साल वैशाख ३ गते चारओटा ब्याउने बाख्रा खोरमा हुलेर उद्घाटन गर्नुभएको रहेछ । त्यसपछि एक वर्षमा पचासओटा बाख्रा पुराउने गरी जेठ महिनामा थप चारओटा बाख्रा पनि ब्याउने नै किनेर थप्ने भएको रहेछ । असारमा पनि थप चारओटा ब्याउने बाख्रा राखिसक्दा साउनमा वैशाखका ब्याएर चारओटा थपिएका रहेछन् । भदौमा चारओटा माउबाख्रा किनेर थप्ने तथा जेठमा किनेको चारओटा ब्याएर थपिने गरी आठओटा थपिएका रहेछन् । त्यसरी थपिँदै जाँदा र ब्याउदै जाँदा एक वर्षमा बाउन्नओटा बाख्रा र ती बाख्रा अटाउने खोर भएको रहेछ ।
दोस्रो वर्षमा थपघट हुँदै गएछन् । खासै नयाँ काम केही नभएको रहेछ । तेस्रो वर्षदेखि पाँचौँ वर्षसम्म पाँच जना सहभागी साथीहरू थपिएर सामूहिक बनाएर सञ्चालन गर्नुभएको रहेछ । सामूहिक बनाउँदा प्रतिव्यक्ति सन्ताउन्न हजार रुपियाँको सामूहिक सम्पत्ति हिसाब गरिएको रहेछ । त्यो रकम बाख्राफार्मको मात्र रहेछ । जग्गा आफ्नै पुख्र्यौली सम्पत्ति भएकाले भाडाको हिसाब गरेर फार्मले चर्चेको रहेछ । सामूहिक बनाएपछि बाख्रापालन र कृषिफार्मसम्बन्धी स्थानीयलाई र अरू टाढाका सहभागीसमेतलाई तीन दिनदेखि पाँच दिनसम्मको आवासीय तालिम दिने र प्रशिक्षण गर्ने काम सञ्चालन गरिएको रहेछ । त्यसरी चार सय जना सहभागी दुईतीन वर्षको बिचमा तालिमप्राप्त भएका रहेछन् ।
तीन वर्षपछि सामूहिकता तोडिएको रहेछ । फेरि आफ्नो एकलौटी बनाउँदा प्रत्येक सहभागी साथीको एक एक लाख रकम हिसाब गरी फिर्ता गर्नुभएको रहेछ । फार्मको समय बित्दै जाँदा २०७६ सालको माघमा आफ्नो एकलौटी हिस्सा भएको बाख्राफार्म बनेको रहेछ । त्यसपछि पनि बाख्राफार्मको विकास र विस्तार हुँदै गएछ । २०७७ सालमा किसानका लागि उन्नत बिउबिजन कार्यक्रम (के.यु.बि.के.) सँग सम्झौता गरेर संस्थाबाट दस लाख रकम र आफैले थप १५ लाख रकमको लागतमा एउटा खोर, भैँसीको गोठ दुईओटा स्टोर निर्माण गरिएको रहेछ ।
फेरि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एन.एल.एस.आइ.पी.) बाट ५० प्रतिशत वित्तीय संस्थाबाट ३० प्रतिशत र आफ्नो थप २० प्रतिशत गर्दा अठतिस लाख छयत्तर हजार तीन सय चौहत्तर अथवा आयोजनाबाट उन्नाइस लाख चालिस हजार चौबिस, साइन रेसुङ्गा डेभलभमेन्ट बैङ्कबाट एघार लाख चौहत्तर हजार र आफ्नो सात लाखसमेतको लागतम २०७९ साल मङ्सिर मसान्तसम्ममा खोर, स्टोर, कम्पोस्ट पिट, युरिन पिटसमेत असीओटा माउबाख्रा थपिएका रहेछन् । यसरी थप गर्दै जादा अहिलेसम्ममा १५० सम्म बाख्राको सङ्ख्या भएको रहेछ । त्यो निर्माण भएको संरचनामा अझै १०० ओटासम्म बाख्रा थप गर्न सकिने अवस्था निर्माण भएको रहेछ ।
फार्मका सामानहरूमा एउटा ट्रयाक्टर, एउटा हाते ट्रयाक्टर, दुईओटा च्यापकटर, पिसानी मिल एउटा र एउटा नास्तापसलसमेत छन् । त्यसरी निर्माण गरिएकामध्ये चारओटा बाख्राखोर, एउटा भैँसीगोठ, तीनओटा स्टोर, एउटा घाँसस्टोर, कम्पोस्ट पिट र युरिन पिटसमेत उपयोगको अवस्थामा छन् । अहिले फार्मको आफ्नो ४६ रोपनी जग्गा छ । दुई बिगाह भाडामा थप्ने योजना भएको रहेछ ।
फार्ममा काम गर्ने जनशक्ति दुई जना आफूहरूले पूरै व्यवस्थापनको काम गर्नुभएको छ । एक महिला कामदारले सफासुग्घरको काम गर्नुहुने रहेछ । एक जना ड्राइभरले सहयोगीको रूपमा काम गर्नुहुने रहेछ । एक जना घाँस काट्ने महिला कामदार हुनुहुँदो रहेछ । तीन जना ज्यालादारी मजदुरमध्ये ड्राइभरलाई बिस हजार, घाँस काट्नेलाई १५ हजार र सफा गर्नेलाई दस हजार गरी पैतालिस हजार रुपियाँ प्रतिमहिना ज्यालामा खर्च भइरहेको रहेछ । आफूहरू दुवै जनाको व्यस्त कामले गर्दा फार्म व्यवस्थित भई सञ्चालन भएको रहेछ ।
फार्मले उपयोग गरेको जग्गामा खरबारी, फलफूलका रुख, भुइँघाँस र डालेघाँस प्राकृतिक अवस्था त छँदै छन् । तिनीहरूको अतिरिक्त लगाइएका घाँस, किमु, रेड नेपियर, सुपर नेपियर, इपिलिपिल, भटमास, हिँउदमा जौ, बर्सिम आदि र केराउ जातका घाँस खेती गर्ने गरिएको रहेछ ।
कालीगण्डकीको तिरबाट माथि कालिगण्डकी करिडोरको सडकसम्म फैलिएको फार्मले उपयोग गरेको जमिन बाख्रापालनको लागि आधार भएको जमिन छ । सडक यातायातले कालीगण्डकीको तिरसम्म पुग्ने गरी फार्मको आन्तरिक सडक पनि बनाइएको रहेछ ।
आफू लगनशील र सिप, योग्यतासमेतमा पोख्त भएकाले फार्म दिनदिनै प्रगतिको बाटोमा अगाडि बढेको छ । अहिलेसम्मको दस वर्षमा एक लाखबाट सुरु गरेको फार्ममा अहिले एक करोड जति अथवा सय गुणा वृद्धि भएको छ भने अबको दस वर्षमा त्यही हिसाबले वृद्धि भए एक अरब पुँजीको फार्म नबन्ला भन्न सकिन्न । यो फार्म राष्ट्रिय स्तरको नमुना फार्म बनाउने बाटोमा अगाडि बढेको हुनाले खुसी लाग्यो ।
म त्यो फार्मको स्टेमा हाम्रा साथीहरूलाई प्रशिक्षण दिने सिलसिलामा फार्म सुरु भएपछि र सामूहिक बनाउने बेलामा समेत गरी तीन/चारपटक पहिले पनि गइसकेको थिएँ । यतिखेर त्यो फार्मको प्रगति विवरणसमेत लेखेर अरूलाई जानकारी गराउन पाउँदा धेरै खुसी लागेको छ ।
त्यहाँको प्रशिक्षण पूरा गरेर १८ गते साउनमा रामकुमारजीको मोटरसाइकलको पछाडि बसेर बिहानको खानापछि कालीगण्डकी करिडोरको बाटो पुर्तिघाटतिर लागेका थियौँ । वर्षाको समय भएको र करिडोरको बाटो मर्मत गर्ने र निर्माण गर्ने धेरै मजदुरले सडक बनाइरहेको अवस्थामा हामी पुर्तिघाट पुग्यौँ ।
गुल्मीको प्रशिक्षण कार्यक्रमका लागि हिँडेको नवौँ दिन साउन १८ गते पुर्तिघाटमा नुहाउने, लुगा धुने काम गरेर साउन १९ र २० गते दुई दिनको प्रशिक्षणको तयारी गरंँ । बेलुकीसम्म साथीहरूसँग भेटघाट गर्दैै पुर्तिघाटमा नै बास बसेँ ।
साउन २० गते बिहान खड्गकोट गाउँपालिकाको वडा नं. ६ मा बन्दै गरेको कालीगण्डकी करिडोरको बाटोमा नै पर्ने घरमा प्रशिक्षण राखिएको रहेछ । बिहान एक पिरियड पढाएर उहाँहरूको पहिलेको घर सडकबाट अलि माथि गएर खाना खाएपछि त्यहीँ आएर अर्को एक पिरियड पढाएँ । बास बस्न बिहान खाना खाएको घरमा नै गएर खाने र सुत्ने गरेँ । भोलिपल्ट बिहान बाटोमा नै झरेर पठाउने र खाना खाने गरेर अपराह्न पुर्तिघाटमा फर्केर भोलिपल्ट साउन २१ गते बुटवल फर्कने तयारीमा लाग्यौँ ।
साठी जना सहभागीहरू भएको प्रशिक्षण बडो रमाइलो भयो । दोस्रो दिन खसी काटेर मासु खानेसमेतको कार्यक्रम पूरा गरियो । मैले लेखेको किताबका केही प्रति बिक्रीसमेत भए । निर्माणाधीन त्यो घरका मुख्य मान्छे बैदेसिक रोजगारीमा जानुभएको रहेछ । उहाँका छोरा सचिनले इलेक्ट्रिकल ओभरसियरको पढाइ पूरा गरेर काम गर्दै हुनुहुँदो रहेछ । त्यो घरको निर्माण कार्य पूरा भएपछि त्यहीँ बिजुलीका सामान राखेर व्यापार गर्ने योजना बताउनुभएको थियो ।
भोलिपल्ट बिहान ८ बजे बुटवलका लागि जिपमा चढेर यात्रा सुरु गर्यौँ । तानसेनमा खाना खाएर ४ बजेतिर बुटवल आइपुग्यौँ ।
गुल्मीको प्रशिक्षणका एघार दिन रमाइलोसँग त बिताइयो तर हावापानी र खानपानमा फरक परेका कारण एक हप्तासम्म खुट्टा चिलाएर हैरान परियो । हावापानी र खानपानमा फरक परेको कारणले त्यस्तो हुने रहेछ । पछि आफै सन्चो भयो ।