काठमाडौँ । नेकपा (मसाल) ले कोशीमा हालै गठन भएको सरकारलाई गठबन्धनको समझदारी विपरीत भएको बताएको छ । कोशीमा एमालेसमेतको मन्त्रिपरिषद् गठन भएपछि पार्टीको सो धारणा सार्वजनिक भएको हो ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज ३० गते मङ्गलबार जारी प्रेसविज्ञप्तिमा पार्टीले कोशीको सरकारले देशलाई प्रतिगामी दिशातर्फ लैजाने भएकाले त्यसको विरोध गरिएको छ ।
भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादले नेपालको सीमित रूपमा उनीहरूको विरोध गर्ने विदेशनीति परित्याग गर्न वर्तमान सरकारलाई निर्देशन दिएको तर वर्तमान सरकारले पूरै रूपमा त्यसो गर्न नसकेको उल्लेख गर्दै विज्ञप्तिमा भारत र अमेरिकाले नेपाली काङ्ग्रेसभित्रको असन्तुष्ट पक्ष र एमालेलाई उपयोग गरेर गठबन्धन सरकारमाथि प्रहार गरेको उल्लेख छ ।
भारत र अमेरिकाले प्रारम्भिक रूपमा उठाएको यस्तो प्रतिगामी कदमबाट देशको लोकतन्त्र राष्ट्रियता र अखण्डतामाथि आँच पुग्ने विश्लेषण गरिएको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
“कोशीमा एमालेसहितको मन्त्रिपरिषद् गठनप्रति नेकपा (मसाल) को ध्यानाकर्षित भएको छ । त्यसरी मन्त्रिपरिषद्को गठन अहिले बनेको गठबन्धनको समझदारीको विपरीत छ । कोशीमा बनेको त्यस प्रकारको सरकारको गठनले देशलाई प्रतिगमनको दिशामा लैजानको लागि उन्मुख गर्ने छ । त्यसकारण हामीले कोशीमा बनेको एमालेसहितको सरकारको कडा शब्दमा विरोध गर्दछौँ ।
हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि नेकाभित्रको प्रतिपक्षले एकातिर, एमालेसित गठबन्धन गरेर सरकार बनाएर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्न गर्दै छ भने अर्कातिर, अमेरिकनपरस्त तत्त्वसित पनि गठबन्धन गरेर देशमा अमेरिकी साम्राज्यवादको इन्डोप्यासिफिक र तिब्बतसम्बन्धी रणनीतिको लागि नेपालको भूमि प्रयोग गर्नका लागि आधार तयार पार्ने प्रयत्न गर्दै छ । हामीले पहिले पनि बारम्बार यो स्पष्ट गरिसकेका छौँ कि नेकाभित्र चलिरहेको अन्तरसङ्घर्ष खालि त्यो दलसित मात्र सम्बन्धित नभएर त्यसमा कुन पक्षको जित हुन्छ ? त्यसले देशको राजनीतिलाई गम्भीर रूपले प्रभावित गर्ने छ ।
नेकाभित्रको सङ्घर्षमा कुन पक्षको जित हुन्छ ? त्यो हाम्रो सरोकारको विषय होइन तर त्यो अन्तरसङ्घर्ष जुन हदसम्म देशको समग्र राजनीतिसित सम्बन्धित हुन्छ, अर्को शब्दमा त्यसले जुन हदसम्म प्रतिगमन वा अमेरिकाको रणनीतिलाई सेवा गर्ने काम गर्दछ, त्यो हाम्रो सरोकारको विषय हुन जान्छ र देशलाई प्रतिगमन वा अमेरिकी साम्राज्यवादपरस्त दिशामा लैजाने कुनै पनि राजनीतिलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । कोशीको घटनाक्रमले त्यही प्रकारको राजनीतिक दिशाको सङ्केत गरेको छ र हामीले त्यसको विरोध गर्दछौँ ।
वर्तमान माओवादी र नेकासहितको गठबन्धन सरकारले नेपालको रािष्ट्रयता र अखण्डताको दिशामा अपनाएका अवसरवादी, ढुलमुल र राष्ट्रघाती नीतिको विरोध गर्दै आएका छौँ । हामीले उनीहरूका अमेरिकी र भारतीय साम्राज्यवादपरस्त क्रियाकलापको लगातार विरोध गर्दै आएका छौँ । त्यस सन्दर्भमा हामीले सरकारका एमसिसी तथा नागरिकता विधेयकको संसद् वा संसद्बाहिर पनि विरोध गरेका वा तिनीहरूका विरुद्ध सङ्घर्ष गरेका कारबाही उल्लेखनीय छन् तर सरकारको त्यस प्रकारको नीति वा क्रियाकलापका बाबजुद वर्तमान सरकारले पूरै नै अमेरिका वा भारतपरस्त नीति नअपनाएको कुराप्रति पनि हाम्रो ध्यान गएको छ ।
अमेरिका वा भारतले यो चाहन्छन् कि नेपालले आफ्नो परराष्ट्रनीतिलाई पूरै त्यागोस् र चीनप्रति कुनै पनि प्रकारको मैत्रिपूर्ण सम्बन्ध नराखेर त्यसप्रति पूरै शत्रुतापूर्ण नीति अपनाओस् तर वर्तमान सरकार त्यो हदसम्म जान तयार भएको छैन । त्यसैले अमेरिका वा भारतले नेपालमा वर्तमान सरकारको ठाउँमा यस्तो सरकार ल्याउन चाहन्छन्, जसले पूरै नै उनीहरूको निर्देशन अनुशरण गरोस् । त्यसका लागि उनीहरूले नेकाको प्रतिपक्ष, एमालेसहितको सरकारको गठन गर्न चाहन्छन् । कोशी प्रदेशको सरकारको गठन त्यही दिशामा उठाइएको प्रारम्भिक कदम हो । यदि उनीहरूको त्यस प्रकारको प्रयत्न सफल हुँदै जान्छ भने त्यसबाट नेपालको लोकतन्त्र, राष्ट्रियता, अखण्डतासमेतको लागि गम्भीर खतरा पुग्ने कुरा निश्चित छ ।”